YouVersion Logo
Search Icon

व्यवस्था 15

15
कर्जा-माफीको वर्ष
1प्रत्‍येक सात वर्षको अन्‍तमा कर्जा-माफीको समय राख्‍नुपर्छ। #लेवी २५:१-७ 2त्‍यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्‍नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्‌। त्‍यसले आफ्‍नो स्‍वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्‍य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ। 3परदेशीलाई चाहिँ कर गरेर माग्‍न सक्‍छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ। 4मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन, 5किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रशस्‍त आशिष्‌ दिनुहुनेछ। 6आफ्‍नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्‌।
7यदि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्‍यस गरीब भाइप्रति निष्‍ठुर भएर आफ्‍नो मुट्ठी नबाँध्‍नू। #लेवी २५:३५ 8बरु आफ्‍नो मुट्ठी खोलेर त्‍यसको खाँचोअनुसार जे-जति चाहिन्‍छ सापट दिनू। 9होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्‍यो भन्‍ने कुभावना मनमा राखेर आफ्‍नो गरीब दाजुभाइलाई गोहार गर्न इन्‍कार गर्‍यो, भने त्‍यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्‍नेछ। 10तिमीहरूले त्‍यसलाई निस्‍सङ्कोच दिनू, त्‍यसलाई दिँदा तिमीहरूको मनमा कष्‍ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै काममा र तिमीहरूले हात हाल्‍ने हरेक कुरामा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ। 11देशमा गरीब सधैँ हुनेछन्‌। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्‍ना भाइबन्‍धु र आफ्‍नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू। #मत्ती २६:११; मर्क १४:७; यूह १२:८
कमारा-कमारीलाई मुक्ति दिने विधि
12यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्‍छ, त्‍यसले छ वर्ष तिमीहरूको सेवा गर्‍यो भने, सातौँ वर्ष त्‍यसलाई मुक्त भएर जान दिनू। #प्रस २१:१-११; लेवी २५:३९-४६ 13त्‍यो मुक्त भएर जाँदा त्‍यसलाई रित्तै हात नपठाउनू, 14तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएअनुसार आफ्‍ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्‍तसँग दिएर त्‍यसलाई पठाउनू। 15मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्‍झना गर। त्‍यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु।
16तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्‍नँ” भन्‍यो भने, 17एउटा सुतारो लिएर त्‍यसको कानको लोती ढोकामा लगाएर छेड्‌नू, र त्‍यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्‍नी कमारीलाई पनि त्‍यसै गर्नू।
पहिले बियाएका पशुहरू
18त्‍यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्‍नू, किनकि ज्‍यालादारी नोकरले लिने ज्‍यालाको दोबर मूल्‍यको काम त्‍यसले छ वर्षमा गर्‍यो। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबै काममा आशिष्‌ दिनुहुनेछ।
19तिमीहरूका गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएको हरेक बाछो वा पाठो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति अलग गर्नू। आफ्‍ना गाईबस्‍तुको पहिले बियाएकाबाट केही काम नलिनू, र आफ्‍ना पहिले बियाएका भेड़ाको ऊन नकत्रनू। #प्रस १३:१२ 20जुन स्‍थान परमप्रभुले चुन्‍नुहुन्‍छ त्‍यहाँ तिमीहरूले आफ्‍ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने त्‍यो खानू। 21कुनै पशु लङ्गड़ा वा अन्‍धो भए, अथवा अरू कुनै प्रकारको खोट त्‍यसमा भए त्‍यसलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि बलि नगर्नू। 22आफ्‍नो सहरमै त्‍यो खानू। हरिण वा मृगको मासु खाएझैँ विधिपूर्वक शुद्ध वा अशुद्ध व्‍यक्तिले त्‍यो खान सक्‍छ। 23केवल त्‍यसको रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू। #उत ९:४; लेवी ७:२६-२७; १७:१०-१४; १९:२६; व्‍य १२:१६,२३

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in