व्यवस्था 13
13
मूर्तिपूजाको विरुद्धमा चेताउनी
1तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्वप्न-दर्शी चमत्कारी चिन्ह वा आश्चर्यकर्म देखाउन तत्पर हुन्छ, 2र त्यसले भनेको चिन्ह वा चमत्कार घटेपछि तिमीले नचिनेका “अन्य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्यसले भन्यो भने, 3तिमीहरूले त्यस अगमवक्ता वा स्वप्न-दर्शीका कुरा नसुन्नू। त्यो त तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो। 4तिमीहरूचाहिँ परमप्रभु आफ्ना परमेश्वरका मार्गमा हिँड्नू, उहाँको डर मान्नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्नू, उहाँको सेवा गर्नू र उहाँमै लीन भइरहनू। 5तर त्यो अगमवक्ता वा स्वप्न-दर्शी मारिनुपर्छ, किनकि दासत्वको देश मिश्रबाट मुक्त गरेर ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको मार्गबाट तिमीहरूलाई बहकाउनलाई त्यसले तिमीहरूलाई उहाँको विद्रोह गर्न सिकायो। यसरी तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ।
6तिमीहरूका आफ्नै दाजुभाइ, छोराछोरी, तिम्री प्यारी पत्नी वा घनिष्ठ साथीले पनि तिमीहरूले पुर्खैदेखि नचिनेका देवताहरूलाई पुजौं भनी तिमीहरूलाई सुटुक्क फकाए भने— 7चाहे तिमीहरूका वरिपरि बस्ने मानिसहरूका नजिकका देवता होऊन् वा टाढ़ाका होऊन्, देशको एक छेउका होऊन् वा अर्को छेउका— 8त्यो फुस्लाउनेको कुरा नसुन्नू, त्यसलाई नमान्नू। बरु माया नगरी, ढाकछोप नगरी वा नजोगाई 9तिमीहरूले त्यसलाई निश्चय नै मारिहाल्नुपर्छ। त्यो कुरा सुन्ने मानिसले नै त्यसलाई मार्न पहिले हात उठाओस्, त्यसपछि सबै मानिसहरूले हात उठाऊन्। 10तिमीहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हान्नू, किनकि दासत्वको देश मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु परमेश्वरदेखि तिमीहरूलाई त्यसले बहकाउन खोज्यो। 11यसरी सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्, र तिमीहरूका बीचमा यस्तो खराबी फेरि कसैले गर्नेछैन।
12परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बस्न दिनुहुने कुनै सहरमा 13कतिपय दुष्ट मानिसहरू खड़ा भएर त्यहाँका बासिन्दाहरूलाई कहिल्यै नचिनेका देवताहरूलाई पुजौं भनी बहकाएका तिमीहरूले सुन्यौ भने, 14सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू, र त्यस्तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्यो भने, 15तिमीहरूले त्यस सहरका बासिन्दाहरूलाई अवश्य तरवारले काटेर मार्नू र त्यस सहरलाई सम्पूर्ण तवरले नाश गर्नू, र त्यहाँ भएका गाईबस्तुसमेत सबैलाई तरवारले मार्नू। 16त्यहाँका सबै मालमत्तासमेत सहरको मध्ये भागमा बटुलेर त्यस सहर र मालमत्तालाई जलाइदिनू। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो होमबलिझैँ हुनेछ। त्यो सधैँभरि ध्वस्त रहोस्, र त्यसको पुनर्निर्माण नगर्नू। 17निषेध गरिएको कुनै पनि थोक तिमीहरूले नलानू, र परमप्रभुको भयानक क्रोध शान्त हुनेछ। तिमीहरूमाथि दया र करुणा देखाएर तिमीहरूका पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञाअनुसार उहाँले तिमीहरूको वृद्धि गर्नुहुनेछ, 18किनभने परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाकारी भएर आज दिएको मेरो आदेशअनुसार तिमीहरू उहाँका सबै आज्ञाहरू पालन गर्छौ र उहाँको दृष्टिमा उचित काम गर्छौ।
Currently Selected:
व्यवस्था 13: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012