YouVersion Logo
Search Icon

प्रेरित 15

15
यरूशलेमको परिषद्‌
1अब कोही मानिसहरूले यहूदियाबाट एन्‍टिओखियामा आएर भाइहरूलाई यस्‍तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्‍नेछैन।” #लेवी १२:३; प्रे १५:७—१०:१-४३ 2तब पावल र बारनाबासको तिनीहरूसँग धेरै मतभेद र वाद-विवाद भएपछि, त्‍यहाँका भाइहरूले पावल र बारनाबास र अरू कति जनालाई यस प्रश्‍नको फैसलाको निम्‍ति प्रेरितहरू र एल्‍डरहरूकहाँ यरूशलेम जानलाई नियुक्त गरे। 3मण्‍डलीका सदस्‍यहरूले तिनीहरूलाई त्‍यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्‍यजातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्‍तार सुनाए। यस खबरले त्‍यहाँका भाइहरू अत्‍यन्‍तै आनन्‍दित भए। 4जब तिनीहरू यरूशलेम आइपुगे, तब तिनीहरूलाई मण्‍डली, प्रेरित र एल्‍डरहरूले स्‍वागत गरे। परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्‍यहाँ दिए।
5तब फरिसी दलका कतिपय विश्‍वास गर्नेहरूले उभिएर भने, “अन्‍यजातिहरूको खतना हुनु र तिनीहरूलाई मोशाको व्‍यवस्‍था पालन गर्ने आज्ञा दिनु आवश्‍यक छ।”
6यस विषयमा सोच-विचार गर्नलाई प्रेरितहरू र एल्‍डरहरू भेला भए। 7निकै बहस चलेपछि पत्रुसले खड़ा भएर तिनीहरूलाई भने, “भाइ हो, तपाईंहरूलाई थाहै छ, सुरुका दिनहरूमा कसरी परमेश्‍वरले मेरो मुखबाट अन्‍यजातिहरूले सुसमाचारको वचन सुनून्‌ र विश्‍वास गरून्‌ भनी तिमीहरूका बीचबाट मलाई चुन्‍नुभयो। #प्रे १०:१-४३ 8हृदयका कुरा जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्‍तै पवित्र आत्‍मा दिनुभएर तिनीहरूलाई ग्रहण गर्नुभएको कुरा देखाउनुभयो। #प्रे २:४; १०:४४ 9उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्‍नुभएन, तर तिनीहरूका हृदय विश्‍वासद्वारा शुद्ध पार्नुभयो। 10यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्‍वरको परीक्षा गर्नुहुन्‍छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्‍न सक्‍यौं। 11तर हामी विश्‍वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्‌।”
12तब सभामा सबै चूप बसे, अनि अन्‍यजातिहरूका बीचमा परमेश्‍वरले तिनीहरूद्वारा कस्‍ता चिन्‍हहरू र आश्‍चर्यकर्महरू गर्नुभयो त्‍यसको बयान बारनाबास र पावलले गरे। उनीहरूले यो बयान सुने। 13तिनीहरू बोलिसकेपछि याकूबले यसो भने, “भाइ हो, मेरो कुरा सुन्‍नुहोस्, 14परमेश्‍वरले आफ्‍नै नाउँको निम्‍ति अन्‍यजातिहरूबाट एउटा जाति छान्‍ने कृपा गर्नुभयो भन्‍ने कुरो सिमोनले बताएका छन्‌। 15यसै कुरासँग अगमवक्ताका वचन पनि मिल्‍छन्, जस्‍तो लेखिएको छ,
16‘यी कुरापछि म फर्कनेछु,#आमो ९:११-१२
र दाऊदको भत्‍केको वासस्‍थान फेरि बनाउनेछु,
त्‍यसको भग्‍नावशेष म फेरि बनाइदिनेछु, र त्‍यसलाई खड़ा गर्नेछु,
17र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्‍न सकून्,
र सबै अन्‍यजातिहरूले पनि,
जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्,
18यो कुरा परमप्रभु भन्‍नुहुन्‍छ,
जसले प्राचीन कालदेखि यी कुराहरू जनाउनुभएको छ,
जो सृष्‍टिको आरम्‍भदेखि जानिएका छन्‌।’
19“यसकारण मेरो फैसला यो छ, कि परमेश्‍वरतर्फ फर्कने अन्‍यजातिहरूलाई हामी दुःख नदिऔं, 20तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्‍ग रहून्, व्‍यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्‍ग रहून्‌।#प्रस ३४:१५-१७; लेवी १७:१०-१६; १८:६-२३ 21किनभने अघिका पुस्‍तादेखि नै सहरैपिच्‍छे मोशाका व्‍यवस्‍थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक शबाथमा पढिँदैछ।”
परिषद्‌को निर्णय
22तब प्रेरितहरू, एल्‍डरहरू र सम्‍पूर्ण मण्‍डलीले मिलेर आफ्‍ना बीचबाट कतिपय मानिसहरूलाई चुनेर पावल र बारनाबाससँग एन्‍टिओखियामा पठाउन उचित ठाने, र भाइहरूमध्‍ये मुख्‍य मानिसहरू, यहूदा भनिने बारसाबास र सिलासलाई चुने 23र तिनका साथमा उनीहरूले यो पत्र पठाए:
“एन्‍टिओखिया, सिरिया र किलिकियामा रहने अन्‍यजाति विश्‍वासी भाइहरूलाई, प्रेरितहरू र एल्‍डरहरूको अभिवादन। 24हामीले सुनेका छौं, कि हाम्रा बीचका कुनै-कुनैले हाम्रो आदेशविना नै तपाईंहरूका मन अस्‍थिर तुल्‍याएर तपाईंहरूलाई कैयौँ कुराले दुःख दिएका छन्‌। 25यसकारण हामी सबैले सर्वसम्‍मतिद्वारा गरेको निर्णयअनुसार कतिपय मानिसहरूलाई चुनेर तिनीहरूलाई हाम्रा प्रिय बारनाबास र पावलका साथमा तपाईंहरूकहाँ पठाउन हामीलाई उचित लाग्‍यो। 26यी मानिसहरू यस्‍ता हुन्, जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको खातिर आफ्‍ना प्राण जोखिममा पारेका छन्‌। 27यसकारण हामीले यहूदा र सिलासलाई पठाएका छौं। तिनीहरूले पनि सोही कुराहरू मुखैले बताउनेछन्‌। 28किनभने पवित्र आत्‍मा र हामीहरूलाई यो उचित लाग्‍यो, कि यी आवश्‍यक कुराहरूबाहेक अरू बढ़ी बोझ तपाईंहरूलाई बोकाउनुहुँदैन। 29तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्‍यभिचारबाट अलग्‍ग रहनुहोस्‌। यी कुराहरूबाट अलग्‍ग रहनुभयो भने असल हुनेछ। बिदा।”
30बिदाबारी भएपछि तिनीहरू एन्‍टिओखियामा आए, र समुदायलाई एकसाथ जम्‍मा गरेर सो पत्र दिए। 31पत्रमा भएका अर्तीका कुरा पढ़ी तिनीहरू खुशी भए। 32यहूदा र सिलास आफैहरू पनि अगमवक्ता भएका हुनाले भाइहरूलाई धेरै वचनद्वारा अर्ती दिएर तिनीहरूलाई बलिया गराए। 33यिनीहरूले केही दिन त्‍यहाँ बिताएपछि, त्‍यहाँका भाइहरूले यिनीहरूलाई पठाउनेहरूकहाँ शुभेच्‍छासहित बिदा दिई पठाए। [ 34तर सिलासलाई त्‍यहीँ बस्‍न असल लाग्‍यो।] 35पावल र बारनाबासचाहिँ शिक्षा दिँदै र प्रभुको वचन प्रचार गर्दै अरू धेरै जनाका साथ एन्‍टिओखियामा बसे।
पावलको प्रचार-यात्रा
36केही दिनपछि पावलले बारनाबासलाई भने, “आऊ, जुन-जुन सहरमा प्रभुको वचन हामीले प्रचार गरेका थियौं ती सहरहरूमा फर्केर गई भाइहरूलाई भेट गरौं र तिनीहरू के-कस्‍ता छन्‌ हेरौं।” 37बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई तिनीहरूका साथमा लैजाने इच्‍छा गरे। 38तर पावलले मर्कूसलाई साथमा लैजान ठीक ठानेनन्, किनभने तिनी पामफिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, र तिनीहरूका साथ काममा गएका थिएनन्‌।#प्रे १३:१३ 39तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए, र बारनाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर गए। 40तर पावलले सिलासलाई चुने, अनि भाइहरूबाट परमेश्‍वरको अनुग्रहमा अर्पण भई बिदा भए। 41मण्‍डलीहरूलाई बलिया गराउँदै तिनले सिरिया र किलिकियाको भ्रमण गरे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in