२ राजाहरू 11
11
अतल्याह र योआश
1जब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तब सबै राजघरानालाई नष्ट पार्न तिनी कारबाही गर्न लागिन्। #२ इति २२:१०-१२ 2तर यहोराम राजाकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। तिनले त्यसलाई र त्यसकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा लुकाइराखिन्, र यसरी त्योचाहिँ मारिएन। 3अतल्याहले देशमा शासन गर्दा यसरी त्यो आफ्नो धाईसित परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बस्यो।
4सातौँ वर्षमा यहोयादाले एक सयको दलका कप्तानहरू, करीहरू र पहरादारहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याउन पठाए। तिनले तिनीहरूसँग एउटा करार बाँधे, र तिनीहरूलाई परमप्रभुको मन्दिरमा शपथ खान लाए। तब तिनले तिनीहरूलाई राजाका छोरा देखाइदिए। #२ इति २३:१-१५ 5तिनले तिनीहरूलाई यसो भनेर हुकुम दिए, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू जो तीन दलमा शबाथको काम गर्न जान्छौ— तिमीहरूमध्ये एक-तिहाइले चाहिँ राजमहलको रक्षा गर्ने, 6एक-तिहाइ सूर ढोकामा बस्ने, र मन्दिरको पालैपालो रक्षा गर्ने एक-तिहाइ गारदको पछि ढोकामा बस्ने— 7अनि तिमीहरू जो अरू दुई दलमा छौ जसले साधारणतया शबाथमा खटाइएका कामबाट फुर्सत पाउँछौ, तिमीहरू सबैले चाहिँ राजाका निम्ति मन्दिरको रक्षा गर्नू। 8तिमीहरू हरेक मानिस आ-आफ्नो हतियार हातमा लिएर राजाको वरिपरि तैनाथ गर्नू। तिमीहरूका नजिक आउने जोसुकैलाई पनि मारिहाल्नू। राजा जहाँ गए तापनि तिमीहरू तिनको नजिकै रहनुपर्छ।”
9यहोयादा पूजाहारीले हुकुम गरेबमोजिम नै एक-एक सयको दलका कप्तानहरूले गरे। हरेकले आ-आफ्ना मानिसहरू लिए— शबाथको काममा खटाइएकाहरू र काम सकेर फुर्सत पाएकाहरू दुवै— यहोयादा पूजाहारीकहाँ आए। 10तब तिनले कप्तानहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊदका भालाहरू र ढालहरू दिए। 11ती अङ्गरक्षकहरू हरेक आ-आफ्नो हतियार हातमा लिई वेदी र मन्दिर नजिकै मन्दिरको दक्षिणपट्टिबाट उत्तरपट्टिसम्मै राजालाई घेरेर बसे।
12तब यहोयादाले राजाका छोरालाई बाहिर ल्याए, र तिनको शिरमा शिरपेच राखिदिए। यहोयादाले तिनलाई करारको एउटा साक्षी-पत्र चढ़ाए, र तिनलाई राजा घोषणा गरे। तिनीहरूले तिनलाई अभिषेक गरे, र मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्।”
13जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरू कराएको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा भएका मानिसहरूकहाँ गइन्। 14तिनले हेरिन्, र दस्तूरअनुसार राजालाई स्तम्भको छेउमा उभिएका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए, र देशका जम्मै मानिसहरू तुरही फुक्दै आनन्द मनाइरहेका थिए। तब अतल्याहले आफ्ना लुगा च्यातिन्, र कराएर भनिन्, “राजविद्रोह! राजविद्रोह!” #२ राज २३:३
15यहोयादा पूजाहारीले एक-एक सयको दलका कप्तानहरूलाई यसो भनेर हुकुम दिए, “तिनलाई मन्दिरको बाहिर ल्याओ, र तिनको पछि लाग्नेहरू सबैलाई तरवारले मार।” किनकि “तिनी परमप्रभुको मन्दिरमा नमारिऊन्” भनी पूजाहारीले भनेका थिए। 16यसैले तिनी राजमहलका घोड़ाहरू पस्ने ठाउँमा पुग्दा तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनलाई मारे।
17त्यसपछि यहोयादाले तिनीहरू परमप्रभुको प्रजा होऊन् भनी परमप्रभु, राजा र प्रजाका बीचमा करार बाँधे। तिनले राजा र प्रजाका बीचमा पनि एउटा करार बाँधे। #२ इति २३:१६-२१ 18देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यो भत्काइदिए। तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे।
तब यहोयादा पूजाहारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे। 19तिनले आफूसित सय-सयका दलका कप्तानहरू, करीहरू, पहरादारहरू र देशका सबै मानिसहरूलाई लिएर राजालाई पहरा ढोका भएर परमप्रभुको मन्दिरबाट राजमहलभित्र ल्याए। तब राजा राजगद्दीमा बसे, 20र देशका सारा मानिसहरू आनन्दित भए। अनि सहरमा शान्ति भयो, किनभने अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्। 21जब योआश राजा भए तब तिनी सात वर्षका थिए।
Currently Selected:
२ राजाहरू 11: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012