२ कोरिन्थी 10
10
पावलको सेवा
1म पावल, तिमीहरूका सामने नम्र हुन्छु, तर टाढ़ा हुँदा तिमीहरूप्रति साहसी हुन्छु! ख्रीष्टको नम्रता र कोमलताद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु। 2म तिमीहरूलाई बिन्ती गर्छु, कि तिमीहरूकहाँ आउँदा मैले देखाउन सोचेको त्यो साहस निर्भयतासाथ तिनीहरूलाई देखाउन नपरोस्, जुनहरूले हामी सांसारिक तरीकाले काम गर्छौं भन्ने शङ्का गर्छन्। 3किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं। 4किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। 5परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं। 6तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हरेक अनाज्ञाकारितालाई दण्ड दिन हामी तयार बस्नेछौं।
7तिमीहरू आँखाकै सामुन्ने भएका थोकलाई हेर। कुनै मानिसलाई यो भरोसा छ कि त्यो ख्रीष्टको हो भने, आफैलाई याद दिलाओस्, कि जस्तो त्यो ख्रीष्टको हो, हामी पनि ख्रीष्टका नै हौं। 8किनकि हाम्रो अधिकारको विषयमा मैले केही ज्यादै नै घमण्ड गरेँ भने पनि म शर्ममा पर्नेछैनँ, किनकि यो अधिकार तिमीहरूका बिगारको निम्ति होइन, तर तिमीहरूका सुधारको निम्ति प्रभुले दिनुभएको छ। 9मैले तिमीहरूलाई लेखेका पत्रहरू तिमीहरूलाई डर देखाउनलाई हो भन्ने नठान। 10किनकि तिनीहरू भन्छन्, “त्यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्छन्, तर त्यो आफै उपस्थित हुँदाचाहिँ त्यो कमजोर हुन्छ र त्यसको वचनको केही महत्त्व नै हुँदैन।” 11त्यस्ता मानिसहरूले यो याद राखून्, कि हामी आफ्नो अनुपस्थितिमा पत्रहरूद्वारा जे भन्छौं, उपस्थित हुँदा पनि सोही काम गर्छौं।
12आफ्नो तारीफ आफैले गर्ने कुनै-कुनै व्यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्न, अथवा आफैलाई तिनीहरूसँग दाँज्न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्। 13हामी सीमा नाघेर गर्व गर्दैनौं, तर तिमीहरूसम्मै पुग्नका निम्ति परमेश्वरले हामीलाई तोकिदिनुभएको सीमाभित्र नै रहनेछौं। 14तिमीहरूकहाँ आउँदै नआएजस्तो हामी बढ़ाइचढ़ाइ घमण्ड गर्दैनौं, किनभने ख्रीष्टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिला पुग्ने हामी नै थियौं। 15हामी सीमा नाघेर अरूहरूको परिश्रममा गर्व गर्दैनौं, तर हाम्रो आशा यो छ, कि तिमीहरूको विश्वास बढ्दैजाँदा तिमीहरूका बीचमा हाम्रो क्षेत्र झन् बढ्दैजानेछ, 16ताकि हामी अरूको क्षेत्रमा अघि नै भइसकेको काममा घमण्ड नगरी तिमीहरूदेखि बाहिरका ठाउँहरूमा सुसमाचार प्रचार गर्न सकौं। 17“घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस्।”#यर ९:२४ 18किनकि आफ्नो तारीफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारीफ गर्नुहुने मानिसचाहिँ स्वीकार गरिनेछ।
Currently Selected:
२ कोरिन्थी 10: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012