२ कोरिन्थी 1:3-10
२ कोरिन्थी 1:3-10 NNRV
हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्। उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं। किनकि जसरी हामी ख्रीष्टका कष्टमा प्रशस्त गरी सहभागी हुन्छौ, त्यसरी नै ख्रीष्टद्वारा सान्त्वनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं। हामीले दुःख पायौं भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो। हामीले सान्त्वना पायौं भने पनि त्यो तिमीहरूका सान्त्वनाको निम्ति हो। हामीले भोगेका त्यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्यही सान्त्वना अनुभव गर्छौ। तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्यसरी नै हाम्रो सान्त्वनामा पनि तिमीहरू सहभागी हुनेछौ। भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो। उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ।