२ इतिहास 30
30
हिजकियाले निस्तार-चाड मनाएका
1हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड़ परमप्रभुको मन्दिरमा मान्न आऊन् भनी निम्तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्शेलाई पनि चिट्ठीहरू पठाए। 2राजा, तिनका अधिकारीहरू र यरूशलेममा भेला भएका सबै समुदाय दोस्रो महिनामा निस्तार-चाड़ मनाउन सहमत भएका थिए। #गन्ती ९:९-११ 3तिनीहरूले विधिअनुसार ठीक समयमा मनाउन सकेका थिएनन्, किनभने पर्याप्त पूजाहारीहरूले आफू-आफूलाई शुद्ध गरेका थिएनन्, र मानिसहरू पनि यरूशलेममा भेला भएका थिएनन्। 4यो प्रस्ताव राजा र सारा समुदायलाई असल लाग्यो। 5तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड़ मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ। यसको अघि तोकिएको विधिबमोजिम यति धेरैले यो चाड़ मानेका थिएनन्।
6हिजकियाको हुकुमअनुसार राजा र तिनका अधिकारीहरूबाट यस्तो घोषणा-पत्र लिएर समाचारवाहकहरू सारा इस्राएल र यहूदाभरि गए:
“हे इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वरतिर तिमीहरू फर्क, र अश्शूरका राजाहरूका हातबाट उम्कनेहरूतिर उहाँ पनि फर्कून्। 7तिमीहरू आफ्ना पुर्खाहरू र तिमीहरूका कुटुम्बहरूजस्तै नहोओ। तिनीहरू त परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा विश्वासघाती भए, र परमप्रभुले तिनीहरूलाई त्रासका पात्र तुल्याउनुभयो। त्यो तिमीहरू आफैले देख्यौ। 8तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू पनि हठी नहोओ। तिमीहरू आफू-आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर। परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र उहाँको भयानक क्रोध तिमीहरूबाट पर हटोस्। 9तिमीहरू परमप्रभुतिर फर्क्यौ भने तिमीहरूका कुटुम्बहरू र तिमीहरूका छोराछोरीहरूलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउनेछन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वर दयालु र करुणामय हुनुहुन्छ। तिमीहरू उहाँतर्फ फर्क्यौ भने उहाँ तिमीहरूबाट फर्कनुहुनेछैन।”
10तब ती समाचारवाहकहरू एफ्राइम र मनश्शेका देशभरि नै सहर-सहरमा भएर जबूलूनसम्मै गए। तर मानिसहरूले तिनीहरूको गिल्ला र हाँसो गरे। 11तापनि आशेर, मनश्शे र जबूलूनका कुनै-कुनै मानिसहरू आफैलाई नम्र तुल्याएर यरूशलेममा गए। 12यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न परमेश्वरको हातले यहूदाका मानिसहरूलाई उक्साए।
13धेरै मानिसहरू, अर्थात् एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड़ मान्न यरूशलेममा भेला भए। 14तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाए, अनि धूप बाल्ने वेदीहरू पनि हटाइदिए, र तिनलाई किद्रोनको खोल्सामा फ्याँकिदिए।
15तिनीहरूले दोस्रो महिनाको चौथो दिनमा निस्तार-चाड़को थुमा मारे। पूजाहारीहरू र लेवीहरू साह्रै लज्जित भए। तिनीहरूले आफू-आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्दिरमा होमबलि ल्याए। 16तब परमेश्वरका जन मोशाले दिएको व्यवस्थाअनुसार तिनीहरू आ-आफ्नो नियत स्थानमा बसे। लेवीहरूबाट लिएको रगत पूजाहारीहरूले वेदीमा छर्के। 17तर समुदायका धेरै जनाले आफू-आफूलाई शुद्ध गरेका थिएनन्। यसैकारण परमप्रभुको सामुन्ने आ-आफ्नो थुमा पवित्र गर्न नसक्ने यी अशुद्ध भएका सबैका निम्ति लेवीहरूले निस्तार-चाड़का थुमाहरू मार्नुपर्यो। 18एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएकाहरूमध्ये धेरै जना विधिपूर्वक शुद्ध भएका थिएनन्। तापनि तिनीहरूले अनियमित रीतिले निस्तार-चाड़ माने। तर हिजकियाले यसो भनेर तिनीहरूका निम्ति प्रार्थना गरे, 19“पवित्रस्थानका शुद्धीकरणको नियम त्यसले पालन गरेको छैन भने पनि परमप्रभु त्यसका पुर्खाहरूका परमेश्वरलाई खोज्न सङ्कल्प गर्ने हरेकलाई परमप्रभुले क्षमा गरून्।” 20अनि परमप्रभुले हिजकियाको प्रार्थना सुन्नुभयो, र मानिसहरूलाई निको पार्नुभयो।
21यरूशलेममा उपस्थित भएका इस्राएलीहरूले सात दिनसम्म ठूलो रमाहटको साथ अखमिरी रोटीको चाड़ मनाए। अनि लेवीहरू र पूजाहारीहरूले नथामीकनै परमप्रभुका बाजाहरूका साथ दिनहुँ खूब जोशसँग परमप्रभुको प्रशंसा गरे।
22परमप्रभुका सेवाको विषयमा साँचो ज्ञान भएका लेवीहरूलाई हिजकियाले उत्साहको वचनले बोले। यसरी तिनीहरूले चाड़का सात दिन मेलबलिहरू चढ़ाउँदै, परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको प्रशंसा गर्दै र आ-आफ्नो तोकिएको भाग खाँदै बिताए।
23सारा समुदाय अरू सात दिनसम्म चाड़ मान्न सहमत भए। यसकारण तिनीहरूले रमाहटसित अरू सात दिन चाड़ मनाए। 24यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार साँढ़े र सात हजार भेड़ाबाख्रा, अनि अधिकारीहरूले समुदायको निम्ति एक हजार साँढ़े र दश हजार भेड़ाबाख्रा अलग राखिदिएका थिए। पूजाहारीहरूले धेरै संख्यामा आफू-आफूलाई शुद्ध पारे। 25यहूदाका सारा समुदाय, पूजाहारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे। 26यरूशलेममा ठूलो रमाहट भयो, किनभने त्यस्तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यसो त्यहाँ भएको थिएन। 27पूजाहारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिन खड़ा भए, अनि परमेश्वरले पुकारा सुन्नुभयो, किनकि तिनीहरूको प्रार्थना स्वर्गमा परमेश्वरको पवित्र वासस्थानसम्मै पुग्यो।
Currently Selected:
२ इतिहास 30: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012