१ थेसलोनिकी 4
4
परमेश्वरलाई प्रसन्न तुल्याउनु
1अन्त्यमा भाइहरू, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छौं र अर्ती दिन्छौं, कि तिमीहरूले कसरी जिउनु र परमेश्वरलाई प्रसन्न तुल्याउनुपर्छ भन्ने तिमीहरूले हामीबाट सिक्यौ र त्यसो गर्दै पनि छौ, त्यसैमा तिमीहरू झन् बढ्दैजाओ। 2किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन-कुन आदेशहरू तिमीहरूलाई दियौं। 3किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस। 4पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान, 5तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस। 6यस विषयमा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्, किनकि यस्ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्भीर चेताउनी दिएका छौं। 7किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ। 8यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्यसले मानिसको होइन, तर परमेश्वरको अवहेलना गर्छ, जुन परमेश्वरले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ।
9तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ। 10माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन् बढ़ी त्यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्छौं। 11हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्त रहने, आफ्नै धन्धाको फिक्री गर्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर, 12ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक, र कसैको भरमा नपर।
प्रभुको पुनरागमन
13तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्। 14किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ। 15प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं।#१ कोर १५:५१-५२ 16किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्। 17तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं। 18यसैकारण एकले-अर्कोलाई यी वचनहरूले सान्त्वना देओ।
Currently Selected:
१ थेसलोनिकी 4: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012