YouVersion Logo
Search Icon

१ शमूएल 11

11
शाऊलले अमोनीहरूका हातबाट याबेश-गिलाद मुक्त गरेका
1अम्‍मोनी नाहाशले याबेश-गिलादलाई आक्रमण गरेर त्‍यसलाई घेरे। याबेशका मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्‍धि गर्नुहोस्, र हामी तपाईंका प्रजा हुनेछौं।”
2तर नाहाशले तिनीहरूलाई जवाफ दिए, “एउटै शर्तमा मात्र म तिमीहरूसँग सन्‍धि गर्नेछु। म तिमीहरूमध्‍ये हरेक मानिसको दाहिने आँखा निकालिदिनेछु, र त्‍यसले इस्राएलको बेइज्‍जत हुनेछ।”
3तब याबेश-गिलादका धर्म-गुरुहरूले भने, “इस्राएलभरि समाचार पठाउनलाई हामीलाई सात दिनको म्‍याद दिनुहोस्, अनि त्‍यसपछि हामीलाई कसैले पनि मुक्त गरेनन्‌ भने हामी तपाईंकहाँ आत्‍मसमर्पण गर्नेछौं।”
4जब समाचार ल्‍याउनेहरू शाऊलको गिबामा आएर आफ्‍नो समाचार दिए, तब सबै मानिसहरू विलाप गर्न लागे। 5त्‍यसै बेला शाऊल खेतबाट गोरु धपाउँदै आइरहेका थिए, र “मानिसहरूलाई के भयो? किन विलाप गरिरहेका छन्‌?” भनी उनले सोधे। अनि याबेश-गिलादका मानिसहरूले भनेका कुरा तिनीहरूले दोहोर्‍याएर उनलाई भनिदिए।
6शाऊलले यो कुरा सुन्‍दा, परमप्रभुका आत्‍मा शक्तिसित उनीमाथि आउनुभयो, र उनी रीसले जले। 7तब उनले एक जोड़ा गोरु लिएर ती टुक्रा-टुक्रा गरी काटे, र समाचार दिने मानिसहरूलाई ती टुक्रा दिएर इस्राएलका सबैतिर यसो भनी पठाए, “जो मानिस युद्धको निम्‍ति शाऊल र शमूएलको पछि आउँदैन त्‍यसका गोरुहरूको पनि यही दशा हुनेछ।” तब मानिसहरूमा परमप्रभुको भय छायो, र तिनीहरू एउटै मानिसजस्‍ता भई निस्‍केर आए। 8शाऊलले तिनीहरूलाई लड़ाइँको निम्‍ति बेजेकमा भेला गरे। त्‍यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका तीस हजार थिए।
9तिनीहरूले समाचार ल्‍याउने मानिसहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई यसो भन, ‘भोलि मध्‍याह्नभित्रै तिमीहरूको उद्धार हुनेछ’।” याबेश-गिलादका मानिसहरूले जब समाचार ल्‍याउनेहरूको खबर सुने तब साहस गरे। 10तिनीहरूले अम्‍मोनीलाई भने, “भोलि हामी तपाईंकहाँ आत्‍मसमर्पण गर्नेछौं, र तपाईंलाई जे ठीक लाग्‍छ हामीसँग गर्नुहोस्‌।”
11भोलिपल्‍ट शाऊलले आफ्‍ना मानिसहरूका तीन दल बनाए। बिहानीपख तिनीहरू अम्‍मोनीहरूको छाउनीभित्र पसे र मध्‍याह्नसम्‍म उनीहरूको संहार गरे। त्‍यसपछि बाँचेकाहरू दुई जना एकसाथ नहुने गरी तितरबितर भए।
12तब मानिसहरूले शमूएललाई भने, “शाऊलले हामीमाथि राज्‍य नगरोस्‌ भन्‍ने को हो? उनीहरूलाई मार्नलाई हाम्रा हातमा सुम्‍पिदिनुहोस्‌।”
13तर शाऊलले भने, “होइन, परमप्रभुले इस्राएलमा यस्‍तो विजय गराउनुभएको दिनमा कोही पनि मारिनेछैन।”
14तब शमूएलले मानिसहरूलाई भने, “हामी गिलगालमा गएर त्‍यहाँ यस राजसत्ताप्रति हाम्रो भक्ति फेरि पनि स्‍वीकार गरौं।” 15यसैले तिनीहरू सबै गिलगालमा गएर परमप्रभुको सामु मेलबलि चढ़ाएर परमप्रभुकै उपस्‍थितिमा शाऊललाई राजा घोषणा गरे। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा त्‍यो उत्‍सव मनाए।

Currently Selected:

१ शमूएल 11: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in