YouVersion Logo
Search Icon

१ यूहन्‍ना 2:15-29

१ यूहन्‍ना 2:15-29 NNRV

संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌। संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ। ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्‍ट विरोधी आइरहेछ भन्‍ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्‍ट विरोधी आएका छन्‌। यसकारण हामी जान्‍दछौं, कि यो आखिरी घड़ी हो। तिनीहरू हामीबाट निस्‍केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्‌। यदि ती हाम्रा हुँदा हुन्‌ त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन्‌ भन्‍ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्‍केर गएका हुन्‌। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ। तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो। पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ। जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन। तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो। साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌। उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।