YouVersion Logo
Search Icon

१ इतिहास 20

20
रब्बा सहरको कब्जा
1बसन्‍त ऋतु लाग्‍दा जब राजाहरू लड़ाइँ गर्न जान्‍थे, तब योआबले सेना लिएर अम्‍मोनीहरूको देशलाई उजाड़ पारे, र रब्‍बा सहरमा गएर त्‍यसलाई घेरा हाले। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। योआबले त्‍यस सहरलाई ध्‍वंस गरेर धूलोपीठो पारे। #२ शमू ११:१ #२ शमू १२:२६-३१ 2दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे। त्‍यसको तौल सुनको एक तोड़ा#20:2 अर्थात्‌ करीब ३४ किलोग्राम थियो, र त्‍यसमा बहुमूल्‍य रत्‍नहरू पनि जड़ेका थिए। त्‍यो शिरपेच दाऊदको आफ्‍नो शिरमा लाइयो। तिनले त्‍यस सहरबाट धेरै परिणाममा लूटका मालहरू ल्‍याए। 3तिनले त्‍यहाँका बासिन्‍दाहरूलाई आरा र फलामका अरू हतियारहरू र बन्‍चराहरूले काम गर्न लाए। दाऊदले अम्‍मोनीहरूका सबै सहरमा यसरी नै गरे। त्‍यसपछि तिनी र तिनका सबै मानिसहरू यरूशलेममा फर्के।
पलिश्‍तीहरूसँगको युद्ध
4यसको केही समयपछि गेजेरमा पलिश्‍तीहरूसँग लड़ाइँ भयो। त्‍यसै बेला हूशाती सिब्‍बकैले रपाईहरूका एक सन्‍तान सिप्‍पैलाई मारे, र पलिश्‍तीहरू परास्‍त भए। #२ शमू २१:१५-२२
5पलिश्‍तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्‍हानानले गित्तीको गोल्‍यतको भाइ लहमीलाई मारे, जसको भालाको बीँड़ कपड़ा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो। #१ शमू १७:४-७
6गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा छ-छ औँला, जम्‍मा चौबीस औँला भएको एउटा राक्षस देखा पर्‍यो। त्‍यो पनि रफाको सन्‍तान थियो। 7जब त्‍यसले इस्राएललाई निन्‍दा गर्‍यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्‍यसलाई मारे।
8यी राक्षसहरू गातमा रफाका सन्‍तानहरू थिए। तिनीहरू सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in