प्रेरित 1
1
येशूको स्वर्गारोहण
1प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। #लूक १:१-४ 2आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएका छन्। 3आफ्नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। 4तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।” #लूक २४:४९ 5किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।” #मत्ती ३:११; मर्क १:८; लूक ३:१६; यूह १:३३
6यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्यको पुनर्स्थापन गरिदिनुहुनेछ?”
7उहाँले तिनीहरूलाई भन्नुभयो, “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको बेला वा समय जान्ने तिमीहरूको काम होइन। 8तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, #मत्ती २८:१९; मर्क १६:१५; लूक २४:४७-४८ र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।”
9उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो।#मर्क १६:१९; लूक २४:५०-५१ 10जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए। 11तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
मतियासको नियुक्ति
12तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ। 13सहर भित्र पसेपछि तिनीहरू माथिल्लो तलाको आफू बस्ने कोठामा उक्ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरो याकूब र उग्रपन्थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए।#मत्ती १०:२-४; मर्क ३:१६-१९; लूक ६:१४-१६ 14कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे।
15ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्या प्राय: एक सय बीस थियो), र भने, 16“भाइ हो, धर्मशास्त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्माले बोल्नुभएको थियो। 17किनकि त्यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्यसले हिस्सा पाएको थियो।”
18त्यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुन्टो भई खस्यो र त्यसको भुँड़ी फुट्यो, र त्यसका सबै आन्द्रा-भुँड़ी निस्के।#मत्ती २७:३-८ 19यो कुरा यरूशलेमका बासिन्दाहरू सबैलाई थाहा भयो। त्यो जग्गाको नाउँ तिनीहरूको आफ्नो भाषामा आखेल्दामा राखियो, अर्थात् रगतको खेत।
20पत्रुसले भने, “किनकि भजनको पुस्तकमा यसो लेखिएको छ,#भज ६९:२५; १०९:८
‘त्यसको वासस्थान उजाड होस्,
र त्यहाँ वास गर्ने कोही नहोस्,
र त्यसको कार्य पदाधिकार अर्कोले लिओस्।’
21यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्ये यस्तो एक जना छान्नु आवश्यक छ, जुन व्यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो, 22अर्थात् यस्तो व्यक्ति जो यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्म हामीसँग थियो। त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ।”#मत्ती ३:१६; मर्क १:९; १६:१९; लूक ३:२१; २४:५१
23तिनीहरूले दुई जना, अर्थात् बारसाबास भन्ने योसेफ, जसको कुलनाउँ युस्तस थियो, र मतियासको नाउँ प्रस्ताव गरे। 24तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्नुहुने प्रभु, यी दुईमध्ये तपाईंले कसलाई चुन्नुभएको छ सो हामीलाई देखाउनुहोस्, 25र त्यो यस सेवा र प्रेरितको काममा प्रवेश गर्न सकोस्, जुन सेवाबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा मर्यो।” 26अनि तिनीहरूले ती दुईका बीचमा गोला हाले, र मतियासको नाउँमा पर्यो, र एघार प्रेरितहरूसँग तिनको गणना भयो।
Избрани в момента:
प्रेरित 1: NNRV
Маркирай стих
Споделяне
Копиране

Искате ли вашите акценти да бъдат запазени на всички ваши устройства? Регистрирайте се или влезте
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012