हितोपदेश 16:8-17

धार्मिकतासित थोरै हुनु अन्यायसँग धेरै लाभ भएको भन्दा उत्तम हो। मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ। राजाका ओठले दिव्यवाणी बोल्दछ, र तिनको मुखले न्यायलाई आघात पुर्याउनुहुँदैन। ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो। राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ। राजाहरू ईमानदार ओठसँग प्रसन्न हुन्छन्, सत्य बोल्ने मानिसलाई तिनीहरू कदर गर्छन्। राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यो शान्त गराउँछ। जब राजाको मुहार उज्यालो हुन्छ, यसको अर्थ जीवन हुन्छ। तिनको निगाह वसन्त ऋतुका झरीको बादलजस्तै हो। सुनभन्दा बुद्धि प्राप्त गर्नु, र चाँदीभन्दा त बरु समझदारी चुन्नु कत्ति उत्तम हुन्छ। ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्छ। जसले आफ्नो बाटोको रखवाली गर्छ, त्यसले आफ्नो जीवनको रखवाली गर्छ।
हितोपदेश 16:8-17