रोमी 4:16-25
रोमी 4:16-25 पवित्र बाइबल (NERV)
यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ” यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ। अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेश्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धेरै जातिका पिता भए। परमेश्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धेरै सन्तानहरू हुनेछन्।” अब्राहाम प्रायः एकसय वर्ष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन। परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे। आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए। यसैले, “परमेश्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।” ती शब्दहरू “परमेश्वरले उनको विश्वासलाई मानिलिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन। ती शब्दहरू हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो। येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।
रोमी 4:16-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब प्रतिज्ञा विश्वासद्वारा पाइने भएकोले यो परमेश्वरको अनुग्रहमा भर पर्दछ। यसले अब्राहामका सबै सन्तानको लागि प्रतिज्ञा पक्का गराउँछ। यो ठूलो अनुग्रह व्यवस्था हुनेहरूको लागि मात्र होइन तर अब्राहामको जस्तो विश्वास गर्नेहरूको लागि पनि हो, कारण अब्राहाम हामी सबैका पुर्खा हुन्। धर्मशास्त्रमा परमेश्वरले अब्राहामलाई भन्नुभएको छ, “मैले तिमीलाई धेरै जातिको पुर्खा बनाएको छु,।” अब्राहामले उही मरेकालाई जीवन दिने र बोलेकै भरमा नभएकालाई हुने बनाउने परमेश्वरमा विश्वास गरे। सन्तानको आशै नभएको बेला अब्राहामले धेरै जातिका पुर्खा हुन्छु भनी विश्वास गरेर आशा राखे। परमेश्वरले यसो भन्नुभएको थियो, “तिम्रा सन्तानहरू ताराझैँ धेरै हुनेछन्,।” उनी सय वर्ष पुग्न लागेका थिए तर तिनलाई आफ्नो बुढो भएको शरीरले र साराको बाँझी कोखले विश्वासबाट कमजोर गराउन सकेन। तिनले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरामा पटक्कै शङ्का गरेनन् तर विश्वासमा अझ बलियो भएर परमेश्वरको प्रशंसा गरे किनभने आफूले गर्नुभएको प्रतिज्ञा परमेश्वरले अवश्य पूरा गर्नुहुन्छ भन्ने उनलाई पक्का थाहा थियो। यही विश्वासले गर्दा नै अब्राहाम परमेश्वरको सामु ठीक ठहरिएका थिए। यो परमेश्वरको सामु ठीक ठहराउने कुरा उनका लागि मात्र नलेखिएर हाम्रा लागि पनि लेखिएको हो, जसले हाम्रा प्रभु येशूलाई मरेपछि पनि जीवन दिनुहुने परमेश्वरमा विश्वास गरेका छन्। यही विश्वासले गर्दा हामीहरू पनि परमेश्वरको सामु ठीक ठहरिएका छौं। येशू हाम्रो पापको लागि मारिनुभयो अनि हामीलाई ठीक ठहराउन फेरि जिउँदो गराइनुभयो।
रोमी 4:16-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसैले यो प्रतिज्ञा विश्वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्ति पक्का होस्। यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरूका निम्ति मात्र नभएर अब्राहामको जस्तो विश्वासमा हुनेहरूका निम्ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्। जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्वरमाथि अब्राहामले विश्वास गरे, उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ, र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ। “तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन्” भनेर परमेश्वरले भन्नुभएअनुसार, आशा पटक्कै नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने। प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्। परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए। प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो। यसैकारण पनि उनको विश्वास “उनको निम्ति धार्मिकता गनियो।” धार्मिकता “गनिएको हो” भन्ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन, तर हाम्रा निम्ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्छौं, यो हाम्रा निम्ति पनि गनिनेछ। उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।
रोमी 4:16-25 नेपाली समकालीन संस्करण (NCV)
यसकारण प्रतिज्ञा विश्वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्चित होस्, व्यवस्था मान्नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्वास गर्नेहरूलाई पनि हो, किनकि उनी हामी सबैका पिता हुन्। यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्वरका सामु हाम्रा पिता हुन्, तिनले उनै परमेश्वरमाथि विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्वास गरे, र उनलाई भनिएको जस्तै, “तेरो सन्तान पनि यस्तै असंख्य हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए। प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि, विश्वासमा कमजोर भएनन्। परमेश्वरको प्रतिज्ञामा अविश्वास गरी विचलित भएनन्, तर परमेश्वरलाई महिमा दिँदै तिनी आफ्ना विश्वासमा झन् बलिया भए। अब्राहामलाई यो पूरा निश्चयता थियो कि, परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ। अब्राहामको यस्तै विश्वासले गर्दा, “यो उनको निम्ति धार्मिकता गनियो।” “यो उनको निम्ति धार्मिकता गनियो” भन्ने वचन उनका निम्ति मात्र लेखिएको थिएन, तर हाम्रा निम्ति पनि हो; जसले उहाँमाथि विश्वास गर्छौं, जसलाई हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुहुने परमेश्वरले धर्मी ठहराउनुहुन्छ। उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो।