मत्ती 20:1-28
मत्ती 20:1-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“स्वर्गको राज्य जमिनको एक जना मालिकजस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो। खेतालाहरूसँग एक दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दाखबारीमा पठायो। “जब ऊ नौ बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो, र उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’ अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्केर त्यसै गर्यो। उसले पाँच बजेतिर बाहिर निस्केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’ “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’ “जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्मलाई तिनीहरूका ज्याला देऊ।’ “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्याला पाए। जब पहिला ज्यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्ता नै पाउँला भन्ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्याला पाए। ज्याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे। तिनीहरू भन्न लागे, ‘यी पछिल्लाहरूले एक घण्टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्याउनुभएको छ।’ “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्यालामा काम गर्ने कबूल गरेका होइनौ? तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्छु। मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? “यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्।” यरूशलेमतिर जाँदैहुनुहुँदा येशूले बाह्र चेलाहरूलाई अलग्ग लगेर बाटोमा तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेमतिर जाँदैछौं। अब मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्डको दोषी ठहराउनेछन्। उसलाई गिल्ला गर्न, कोर्रा लाउन, र क्रूसमा टाँग्न भनी तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।” तब जब्दियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँड़ा टेकी उहाँसँग बिन्ती गरिन्। उहाँले तिनलाई सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” तिनले उहाँलाई भनिन्, “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा, मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिने हातपट्टि, र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन्।” तर येशूले जवाफ दिनुभयो, “तिमीहरू के मागिरहेछौ सो जान्दैनौ। जुन कचौरा मैले पिउन लागेको छु, के त्यो तिमीहरू पिउन सक्छौ?” तिनीहरूले भने, “सक्छौं।” उहाँले भन्नुभयो, “मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्न दिने कुरो मेरो हातमा छैन। यी स्थान तिनीहरूका हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।” यो सुनेर दशै जना ती दुई भाइसँग रुष्ट भए। तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्। तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो।”
मत्ती 20:1-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“स्वर्गको राज्य एक जना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीका लागि खेतालाहरू खोज्न बिहानै निस्क्यो। तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भयो, र तिनीहरूलाई दाखबारीमा काम गर्न पठायो। “करिब बिहान नौ बजेतिर तिनी बाहिर गयो, र बजारमा कतिलाई केही नगरी उभिरहेका देख्यो। उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर; अनि जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’ अनि तिनीहरू गए। “ऊ फेरि दिउँसो बाह्र बजेतिर र करिब दिउँसोको तीन बजेतिर बाहिर गयो; अनि त्यसै गर्यो। अनि बेलुकाको पाँच बजेतिर ऊ बाहिर गयो, र अझ अरूलाई त्यसै उभिरहेका देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरू यहाँ केही नगरी किन दिनभरि उभिरहेका छौ?’ “तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’ “जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाऊ, र काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिले आएकाहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’ “बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू पनि आए, र हरेकले एक-एक दिनार पाए। तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए, तब तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक-एक दिनार नै ज्याला पाए। जब तिनीहरूले आ-आफ्ना ज्याला पाए, तब तिनीहरू जमिनको मालिकसित गुनासो गर्न थाले। तिनीहरू गएर यसो भने, ‘यी पछि आएका काममा लगाइएका मानिसहरूले त एक घण्टाजति मात्र काम गरेका छन्, तर हामीले दिनभरि काम गरेका छौँ, र दिनको चर्को घाम सहेका छौँ। तर तपाईंले हामीसित तिनीहरूलाई बराबर तुल्याउनुभएको छ।’ “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ र? तिम्रो ज्याला लिएर जाऊ। म यस ढिलो काममा आउने मानिसलाई पनि तिमीलाई दिएको जति नै दिन चाहन्छु। मेरो आफ्नै रकमलाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन र? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’ “यसकारण पछिल्ला हुनेहरू पहिला हुनेछन्, र पहिला हुनेहरू पछिल्ला हुनेछन्।” जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, तब उहाँले साथमा बाह्र जनालाई एकातिर लगेर तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्; अनि उसलाई गैरयहूदीहरूका हातमा गिल्ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि ऊ तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछ!” तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, र घुँडा टेकेर उहाँसँग बिन्ती गर्न लागिन्। उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” उनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिनेतिर, र अर्कोचाहिँ देब्रेतिर बस्न पाउने मन्जुरी दिनुहोस्।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्टको कचौरा तिमीहरू पिउन सक्छौ?” अनि तिनीहरूले, “हामी सक्छौँ” भनी जवाफ दिए। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले अवश्य मेरो कचौराबाट पिउनेछौ, तर मेरो दाहिने अथवा देब्रेतिर बस्नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू तिनीहरूका लागि हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।” जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए। येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, र तिनीहरूका उच्च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ। तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ। यसरी नै मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”
मत्ती 20:1-28 पवित्र बाइबल (NERV)
“स्वर्गको राज्य एउटा जमीनको मालिक जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो। उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो। “प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो ‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’ त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए। “फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो। फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’ “मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’ “उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’ “जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाँड्न थाले।’ “पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए। त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढ़ता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए। जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे। खेतालाहरूले विरोध गरे, ‘पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’ “तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन? यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु। के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईर्ष्यँ लग्यो?’ “त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।” येशू यरूशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्। तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोर्रा लाउनेछन् क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर मरेको तेस्रो दिनमा उ बौरी उठ्नेछ।” तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्। येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?” उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दाहिनेहातपट्टि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउने प्रतिज्ञा गर्नुहोस्।” अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?” तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!” येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।” अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुइ भाइसँग औधी रिसाए। येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्। तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ। यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ। मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
मत्ती 20:1-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले भन्दैजानुभयो, “परमेश्वरको राज्य दाख-बारीको धनीको दृष्टान्तको कथाजस्तै छ। एकाबिहानै ती धनी आफ्नो दाख-बारीमा काम गर्ने खेतालाहरूलाई खोज्न निस्के अनि ‘दिनको ज्याला चाँदीको एक सिक्का दिन्छु’ भनेर केही खेतालाहरूलाई काममा लगाए। नौ बजेतिर फेरि बजारमा जाँदा उनले केही मानिसहरूलाई काम नभएर त्यसै उभिरहेका देखे। उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ, म तिमीहरूलाई पाउनुपर्ने ज्याला दिउँला।’ तिनीहरू काममा गए। त्यसपछि उनले बाह्र बजेतिर र फेरि तीन बजेतिर पनि त्यसै गरेर अरू मानिसहरूलाई पनि काममा लगाए। फेरि पाँच बजेतिर जाँदा पनि उनले केही मानिसलाई काम नभई त्यसै बजारमा उभिरहेका देखे। उनले तिनीहरूलाई सोधे, ‘तिमीहरू यहाँ किन दिनभरि बेकाममा उभिरहेका छौ?’ तिनीहरूले जवाफ दिए, ‘खै हामीलाई कसैले पनि काममा लगाएन।’ तब तिनले भने, ‘त्यसो भए तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ न त।’ “साँझ परेपछि दाख-बारीका धनीले आफ्ना काम गर्नेहरूको नाइकेलाई भने, ‘खेतालाहरूलाई बोलाएर तिनीहरूले काम गरेको ज्याला देऊ। ज्याला सबैभन्दा पछि आउनेहरूबाट सुरु गरेर आखिरमा सबैभन्दा पहिले आउनेहरूलाई दिनू।’ अनि नाइकेले पाँच बजे काम सुरु गर्नेहरूलाई पहिले बोलाएर प्रत्येकलाई चाँदीको एकएक सिक्का दियो। त्यस बेला सबभन्दा पहिले काममा लाग्नेहरूले चाहिँ धेरै पाइन्छ होला भनेर विचार गरे। तर तिनीहरूले पनि चाँदीको एकएक सिक्का मात्रै पाए। त्यसो हुँदा तिनीहरूले आ-आफ्ना ज्याला लिए र बारीको धनीकहाँ गएर गनगनाउन थाले। तिनीहरूले भने, ‘हेर्नुहोस्, यी पछि आउने मानिसहरूले त एक घण्टा मात्र काम गरे, हामीले त दिनभरि चर्को घाममा काम गर्यौं। तर तपाईंले त तिनीहरूलाई पनि हामीलाई जति नै ज्याला दिनुभयो!’ तर धनीले तिनीहरूमध्ये एक जनालाई जवाफ दिँदै भने, ‘हेर बुबा, मैले तिमीलाई अन्याय गरेको छैन। तिमी त चाँदीको एक सिक्कामा दिनभरि काम गर्न मन्जुर भएका होइनौ र? तिमी आफ्नो पाउनुपर्ने पैसा लिएर घर जाऊ। म यो ढीलो काममा आउनेलाई पनि तिमीलाई जति नै दिन चाहन्छु। के मलाई आफ्नो पैसा आफूले दिन मन लागेकाहरूलाई दिने अधिकार छैन र? म दानी भएकोमा तिमीलाई रिस उठ्यो कि क्या हो’?” कुरा टुङ्ग्याउँदै येशूले भन्नुभयो, “यही रीतले नै पछिल्लाहरू पहिला हुनेछन् अनि पहिलाहरूचाहिँ पछिल्ला हुनेछन्।” यरूशलेमतिर जानुहुँदा येशूले आफ्ना बाह्र चेलालाई एकातिर बोलाएर भन्नुभयो, “हेर, हामी यरूशलेम जाँदै छौं। त्यहाँ मानव पुत्रलाई मुख्य पूजाहारी र धर्म-गुरुहरूको हातमा दिइनेछ। तिनीहरूले उसलाई ज्यान सजाय दिनेछन् अनि अरू जातिका मानिसहरूको जिम्मा लगाउनेछन्। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, कोर्रा लाउनेछन् अनि क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” त्यसपछि जब्दियाका दुई छोरा आफ्नी आमासँग येशूकहाँ आए। तिनीहरूकी आमाले येशूको पाउमा परेर बिन्ती गरिन्, “मलाई दया गर्नुहोस्।” येशूले तिनलाई सोध्नुभयो, “भन त, के चाहन्छौ?” तिनले भनिन्, “बिन्ती छ, हजुर राजा हुनुहुँदा मेरा यी दुई छोरा हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऊन्।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुट्को तिमीहरू पनि पिउन सक्छौ?” तिनीहरूले सक्छौं भनेर जवाफ दिए। तब येशूले भन्नुभयो, “हो, मैले पिउने घुट्को तिमीहरू पनि पिउनेछौ। तर मेरो दाहिने र देब्रेपट्टि बस्नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त मेरा पिताले जसको लागि तयार पार्नुभएको छ, उसलाई नै दिनुहुनेछ।” यो कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ ती दुईसँग रिसाए अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहै छ, संसारका राजाहरूले आफ्ना प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्। तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमा त ठूलो हुन खोज्नेले सबैको सेवा गर्नुपर्छ। सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैको नोकर हुनुपर्छ। त्यसरी नै म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरैलाई छुटकारा दिन आफ्नै प्राण त्यागिदिन आएको हुँ।”