YouVersion लोगो
खोज आइकन

लेवीहरू 9:7-24

लेवीहरू 9:7-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मोशाले हारूनलाई भने, “वेदीको नजिक आएर आफ्‍नो पापबलि र होमबलि चढ़ाऊ, अनि आफ्‍नो निम्‍ति र मानिसहरूका निम्‍ति प्रायश्‍चित गर। परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मानिसहरूले ल्‍याएका बलि चढ़ाएर तिनीहरूका निम्‍ति प्रायश्‍चित गर।” तब वेदीको नजिक आएर हारूनले आफ्‍नै निम्‍ति पापबलिको बाछा मारे। हारूनका छोराहरूले रगत उनीकहाँ ल्‍याइदिए। उनले आफ्‍नो औँला रगतमा चोपेर वेदीका सीङहरूमा लगाए, र बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याइदिए। पापबलिको बोसो, मिर्गौला, र कलेजो ढाक्‍ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। तर मासु र छालाचाहिँ उनले छाउनीबाहिर आगोमा जलाइदिए। तब हारूनले होमबलि मारे, र उनका छोराहरूले रगत उनीकहाँ ल्‍याइदिए, र उनले वेदीको वरिपरि त्‍यो छर्के। तिनीहरूले होमबलि टुक्रा-टुक्रा पारेर टाउकैसमेत उनीकहाँ ल्‍याइदिए, र उनले त्‍यो वेदीमा जलाइदिए। उनले आन्‍द्रा-भुँड़ी र खुट्टा पखालेर वेदीको होमबलिमा जलाइदिए। त्‍यसपछि मानिसहरूका निम्‍ति बलि ल्‍याएर तिनीहरूका पापबलिको बोका हारूनले मारे, र पहिलेको जस्‍तै पापबलिको लागि त्‍यो चढ़ाए। त्‍यसपछि उनले होमबलि लिएर विधिपूर्वक त्‍यो चढ़ाए। अनि अन्‍नबलि लिएर त्‍यसबाट मुट्ठीभरि वेदीमा बिहानको होमबलिबाहेक त्‍यो पनि चढ़ाए। मानिसहरूका निम्‍ति मेलबलिको साँढ़े र भेड़ा पनि हारूनले मारे। उनका छोराहरूले रगत लिएर उनलाई दिए, अनि उनले त्‍यो वेदीको वरिपरि छर्के। तर साँढ़े र भेड़ाको बोसो— बोसे-पुच्‍छर, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो, मिर्गौलाहरू र कलेजो ढाक्‍ने मासु— तिनीहरूले ह्याकुलाहरूमाथि राखे, अनि उनले बोसोचाहिँ वेदीमा जलाए। ह्याकुलाहरूसमेत दाहिने साँप्रोचाहिँ मोशाले अह्राएबमोजिम हारूनले डोलाइने बलिको लागि परमप्रभुको सामु डोलाए। तब हारूनले आफ्‍ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढ़ाएर उनी तल ओर्ले। तब मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे, अनि निस्‍केर मानिसहरूलाई आशीर्वाद दिए। अनि परमप्रभुको महिमा सबै मानिसहरूमा देखा पर्‍यो। परमप्रभुको सामुन्‍नेबाट आगो निस्‍केर वेदीमा रहेको होमबलि र बोसोलाई भस्‍म पार्‍यो। जब मानिसहरूले यो देखे, तब तिनीहरू खुशीले कराएर घोप्‍टो परेर लोटे।

शेयर गर्नुहोस्
लेवीहरू 9 पढ्नुहोस्

लेवीहरू 9:7-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मोशाले हारूनलाई भने, “वेदीमा आउनुहोस्, र आफ्नो पाप शुद्धीकरण बलि र होमबलि चढाउनुहोस्। अनि आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्; जुन भेटी मानिसहरूका निम्ति हो, त्यसलाई चढाउनुहोस्। अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्।” यसकारण हारून वेदीको छेउमा आए, र आफ्नै निम्ति पाप शुद्धीकरण बलिस्वरूप बाछालाई मारे। हारूनका छोराहरूले उनीकहाँ रगत ल्याए। तिनले आफ्नो औँला रगतमा चोपेर त्यसलाई वेदीका सिङहरूमा लगाए। उब्रेको रगत तिनले वेदीको फेदमा खन्याइदिए। वेदीमाथि तिनले पाप शुद्धीकरण बलिबाट बोसो, मिर्गौलाहरू र कलेजोको आवरण, याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ जलाए। मासु र छाला तिनले छाउनीबाहिर आगोमा जलाए। तब हारूनले होमबलिको लागि पशु मारे। अनि उनका छोराहरूले तिनीकहाँ रगत ल्याइदिए। तिनले त्यसलाई वेदीका चारैतिर छर्के। हारूनका छोराहरूले तिनलाई होमबलिको टुक्राहरूका साथमा टाउकोसमेत दिए। तिनले ती वेदीमाथि जलाइदिए। तिनले भित्री भागहरू र खुट्टाहरू धोएर वेदीमाथि भएको होमबलिको टुप्पोमा राखेर जलाइदिए। त्यसपछि हारूनले मानिसहरूका निम्ति बलि ल्याएर तिनीहरूका पाप शुद्धीकरण बलिको बोका मारे; अनि पहिलेको जस्तै पाप शुद्धीकरण बलिका लागि त्यो चढाए। तिनले होमबलि ल्याएर विधिपूर्वक त्यो चढाए। त्यसपछि तिनले अन्‍नबलि पनि ल्याए। त्यसबाट एक मुठी लिएर बिहानको होमबलिसँगै त्यसलाई पनि वेदीमाथि चढाए। तिनले मानिसहरूका निम्ति मेलबलिस्वरूप गोरु र भेडालाई मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए। अनि तिनले त्यसलाई वेदीका चारैतिर भित्ताहरूमा छर्के। तर गोरु र भेडाका बोसोका भागहरू, बोसे पुच्छर, बोसोको पत्र, मिर्गौलाहरू र कलेजोको आवरण; तिनीहरूले ह्‍याकुलाहरूमाथि राखे। अनि त्यसपछि हारूनले बोसोलाई वेदीमाथि जलाइदिए। हारूनले ह्‍याकुलाहरू र दाहिने फिला मोशाले आज्ञा दिएझैँ विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे। तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशिष् दिए। यसरी पाप शुद्धीकरण बलि, होमबलि र मेलबलि चढाएर तिनी तल ओर्ले। त्यसपछि मोशा र हारून समागम पालभित्र गए। जब तिनीहरू बाहिर निस्के, तब तिनीहरूले मानिसहरूलाई आशिष् दिए। तब याहवेहको महिमा सबै मानिसहरूकहाँ देखा पर्‍यो। याहवेहको उपस्थितिबाट आगो निस्केर आयो। अनि वेदीमाथि भएको होमबलि र बोसोको भागलाई भस्म पारिदियो। जब सबै मानिसहरूले त्यो देखे, तब तिनीहरू हर्षले चिच्याए, र घोप्टो परेर लोटे।

शेयर गर्नुहोस्
लेवीहरू 9 पढ्नुहोस्

लेवीहरू 9:7-24 पवित्र बाइबल (NERV)

त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्रो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रयाश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।” त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे। पछि हारूनका छोराहरूले तिनको नजिक त्यसको रगत ल्याए, अनि तिनले आफ्नो औंलोमा रगत लिएर वेदीको कुना कुनामा लगाए अनि बाँकी रगत वेदीको आधारमा खन्याए। तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए। पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए। त्यसपछि तिनले होमबलि स्वरूप भेंडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के। अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए। फेरि तिनले आन्द्रा-भुँडी र खुट्टा पखालेर होमबलिसँगै वेदीमाथि जलाए। त्यसपछि तिनले मानिसहरूको निम्ति बलिदान ल्याएर तिनीहरूको पापबलिको बोका मारे अनि पहिला गरे जस्तै पापबलिको निम्ति जलाए। त्यसपछि हारूनले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए। तब तिनले अन्नबलि ल्याए अनि त्यसबाट एक मुठ्ठी लिएर बिहानको होमबलिसित वेदीमा चढाए। अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेंडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के। अनि साँढे र भेंडाको बोसो, आन्द्रा-भुँडी छोप्ने बोसो, मृगौला र कलेजा छोप्ने मासु तिनका छोराहरूले तिनलाई दिए। तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए। अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रा डोलाउने बलिको रूपमा चढाए। तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए। त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो। परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।

शेयर गर्नुहोस्
लेवीहरू 9 पढ्नुहोस्

लेवीहरू 9:7-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब तिनले हारूनलाई भने, “वेदीको छेउमा जाऊ र पापबलि र होमबलि चढाऊ र तिम्रा र मानिसहरूका पाप काटिऊन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार मानिसहरूका पाप काट्‍नको लागि यो बलि चढाऊ।” हारून वेदीछेउ गए र एउटा साँढे आफ्‍नो लागि पापबलि चढाए। तिनका छोराहरूले रगत ल्‍याए र तिनले आफ्‍ना औँला चोपेर केही रगत वेदीका कुनाका चोसाहरूमा लगाइदिए र बाँकी रगत वेदीको फेदहरूमा खन्‍याईदिए। तब वेदीमाथि बोसो, मृगौला र कलेजोको उत्तम भाग परमप्रभुले आज्ञा गर्नुभएअनुसार जलाए। तर उनले मासु र छाला छाउनीबाहिर जलाए। आफ्‍नो होमबलिको पशु पनि तिनले मारे। तिनका छोराहरूले रगत ल्‍याए र तिनले रगत वेदीको चारैपट्टि छर्के। तिनीहरूले तिनलाई पशुको टाउको र अरू टुक्राहरू दिए र तिनले ती वेदीमाथि जलाए। त्‍यसपछि तिनले भित्री अङ्गहरू र पछिल्‍ला खुट्टाहरू धोएर वेदीमा होमबलिमाथि राखेर जलाए। त्‍यसपछि तिनले मानिसहरूका भेटीहरू चढाए। तिनले मानिसहरूका पापको लागि चढाइनुपर्ने बाख्रा लिएर काटे र आफ्‍नै पापबलि चढाएझैँ त्‍यो चढाए। तिनले होमबलिको पशु लिए र त्‍यसलाई पनि विधिअनुसार चढाए। तिनले अन्‍नबलि चढाए र एक मुट्ठी पिठो लिएर वेदीमा जलाए। (यो दैनिक होमबलिबाहेक अरू थपिएको बलि थियो।) तिनले मानिसहरूका लागि मेलबलि चढाए, साँढे र साँढ-भेडालाई मारे। तिनका छोराहरूले बलिको रगत ल्‍याए र तिनले त्‍यो वेदीको चारैपट्टि छर्के। हारूनले साँढे र साँढ-भेडाको बोसेपुच्‍छर, आन्‍द्रा र मृगौला ढाक्‍ने बोसो र कलेजोको उत्तम भाग पशुका ह्याकुलामाथि राखे र वेदीमा लगे। तिनले बोसो वेदीमा जलाए र ह्याकुला र पछिल्‍ला दाहिने साँप्राहरू पूजाहारीहरूको लागि परमप्रभुलाई विशेष भेटीको रूपमा मोशाको आज्ञाअनुसार चढाए। हारूनले सबै बलिहरू चढाइसकेपछि आफ्‍ना हात उचालेर मानिसहरूलाई आशिष् दिए। त्‍यसपछि तिनी ओर्ले। मोशा र हारून परमप्रभुको पवित्र पालभित्र पसे र बाहिर निस्‍केर तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए अनि परमप्रभुको महिमापूर्ण ज्‍योति सबै मानिसहरूले देखे। अचानक परमप्रभुले आगोको मुस्‍लो पठाउनुभयो र त्‍यसले होमबलि र वेदीमा भएका सबै बोसो भस्‍म पार्‍यो। त्‍यो देखेर मानिसहरूले सोर उचाले र भूइँसम्‍म शिर झुकाएर ढोगे।

शेयर गर्नुहोस्
लेवीहरू 9 पढ्नुहोस्