YouVersion लोगो
खोज आइकन

मर्कूस 12:35-44

मर्कूस 12:35-44 NCV

मन्दिरका चोकहरूमा सिकाइरहनुहुँदा येशूले सोध्नुभयो, “व्यवस्थाका शिक्षकहरूले ख्रीष्‍ट दाविदका पुत्र हुन् भनी कसरी भनेका हुन्? दाविद आफैले पवित्र आत्माद्वारा यसरी घोषणा गरे: “ ‘प्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हाततिर बस।” ’ दाविद आफैले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” ठूलो भीडले उहाँको कुरा आनन्दसाथ सुने। येशूले सिकाउँदै गर्नुहुँदा भन्‍नुभयो, “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्, बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, अनि सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्। तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।” भेटी चढाउने ठाउँको सामुन्‍ने गएर येशू बस्‍नुभयो, अनि भीडले मन्दिरको दानपेटीमा तिनीहरूका पैसा हालिरहेको हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाए। तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुईओटा साना सिक्‍का चढाई। तब आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर येशूले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले दानपेटीमा अरू सबैले भन्दा बढी चढाएकी छ। तिनीहरू सबैले आफ्ना प्रशस्त धनबाट चढाएका छन्, तर यस स्त्रीले त आफ्नो दरिद्रताबाट सबै थोक आफ्नो जीविका चलाउने खर्चसमेत नै चढाएकी छे।”

मर्कूस 12 पढ्नुहोस्