YouVersion लोगो
खोज आइकन

मर्कूस 1:29-45

मर्कूस 1:29-45 NCV

उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्‍नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो। त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने। येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्‍ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए। सहरका सारा मानिसहरू ढोकामा नै भेला भए; अनि येशूले विभिन्‍न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे। एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए। जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!” येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।” यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो। एक जना कुष्‍ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्‍यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो। येशूले त्यसलाई कडा चेतावनी दिँदै पठाउनुभयो: “यो कुरा कसैलाई नभन्‍नू; तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।” तर त्यो बाहिर गयो, र खुल्‍लमखुल्‍ला त्यो खबर फैलाउन थाल्यो। त्यसकारण उहाँ सहरमा पस्‍न सक्नुभएन, र बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए।

मर्कूस 1 पढ्नुहोस्