YouVersion लोगो
खोज आइकन

मत्ती 9:1-17

मत्ती 9:1-17 NCV

येशू डुङ्गामा चढ्नुभयो, र वारिपट्टि तरेर आफ्नै सहरमा आउनुभयो। केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एक जना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, तब उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, साहस गर, तिम्रा पापहरू क्षमा भएका छन्।” यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्‍न लागे, “यस मानिसले ईश्‍वरनिन्दा गरिरहेको छ।” तिनीहरूका विचार थाहा पाएर येशूले भन्‍नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्‍ट विचारहरूलाई ठाउँ दिन्छौ? के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” अनि त्यो मानिस उठ्यो र घर गयो। जब भीडले त्यो देखे, तिनीहरू भयभीत भए: अनि परमेश्‍वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा उहाँको प्रशंसा गरे। येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे। येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू र पापीहरू आए, र उहाँ र उहाँका चेलाहरूसित खाए। जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, “तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?” यो सुनेर येशूले भन्‍नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।” तब यूहन्‍नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौँ, तर तपाईंका चेलाहरूचाहिँ किन बस्दैनन्?” येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी विलाप गर्न सक्छन्? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्‍नेछन्। “कसैले पनि पुरानो कपडामा नयाँ कपडाको टालोले टाल्दैन; किनकि नयाँ टालो खुम्चिन्छ र पुरानोबाट च्यात्तिएर जान्छ; अनि त्यो वस्त्र फाटेर झन् नराम्रो हुन्छ। न त मानिसहरूले पुरानो मशकमा नयाँ दाखमद्य हाल्छन्। यदि तिनीहरूले त्यसो गरे भने छालाहरू फुट्छन्। अनि दाखमद्य पोखिन्छ र मशक नष्‍ट हुनेछ। त्यसो हुन नदिन तिनीहरूले नयाँ दाखमद्य नयाँ मशकमै हाल्नुपर्दछ र दुवै जोगिन्छन्।”

मत्ती 9 पढ्नुहोस्