येशूले मन्दिर छोडेर जान लाग्दा उहाँका चेलाहरू उहाँको ध्यान मन्दिरको बनावटतिर आकर्षित गराउन उहाँकहाँ आए। उहाँले सोध्नुभयो, “के तिमीहरू यी सबै थोक देख्दैछौ? म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को रहनेछैन, तर प्रत्येक ढुङ्गा भत्काएर फ्याँकिनेछ।” येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्को अन्त्यको चिन्ह के हुनेछ?” येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। किनकि धेरै जना ‘म ख्रीष्ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ। जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्। यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्। “तब तिनीहरूले तिमीहरूलाई सताइनका लागि र मारिनका लागि सुम्पिइनेछन्; अनि मेरा निम्ति सबै राष्ट्रहरूद्वारा तिमीहरू घृणित हुनेछौ। त्यस बेला धेरै जना विश्वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्वासघात र घृणा गर्नेछन्। अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। दुष्टता बढेकोले धेरैको प्रेम सेलाउनेछ, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ। अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्वभरि प्रचार गरिनेछ; त्यसपछि अन्त्य आउनेछ। “यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्, तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नओर्लोस्। खेतमा हुने कोही पनि आफ्ना लुगा लिन फर्केर नजाओस्। ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्! शब्बाथ अथवा हिउँदमा तिमीहरू भाग्नु नपरोस् भनी प्रार्थना गर। किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ। “यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्न सक्ने थिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्। त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ’ अथवा, ‘उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसमा विश्वास नगर। किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई ठूला-ठूला अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नेछन्। हेर, मैले तिमीहरूलाई पहिलेबाट नै भनिदिएको छु। “यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो कुरा विश्वास नगर। किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ। जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्।
मत्ती 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 24:1-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू