उहाँले तिनीहरूलाई अझ अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य खमीरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करीब सत्ताईस किलो जति पीठोमा मिसाई, अनि सम्पूर्ण पीठो खमीरी नहुन्जेल राखी।”
येशूले भीडलाई यी सबै कुराहरू दृष्टान्तहरूमा भन्नुभयो: उहाँले तिनीहरूलाई दृष्टान्तहरू प्रयोग नगरी केही भन्नुभएन। यसरी अगमवक्ताद्वारा भनिएको यो कुरा पूरा भयो:
“म दृष्टान्तहरूमा आफ्नो मुख खोल्नेछु,
म संसारको उत्पत्तिदेखि गुप्त रहेका कुराहरू प्रकाश गर्नेछु।”
तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।”
उहाँले जवाफ दिनुभयो, “जसले असल बीउ छरे, त्योचाहिँ मानिसका पुत्र हुन्। खेत संसार हो, अनि असल बीउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्टका सन्तान हुन्, अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो, अनि खेतालाहरू स्वर्गदूतहरू हुन्।
“सामा उखेलिएर आगोमा हालिएझैं यस युगको अन्त्य पनि हुनेछ। मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछ, अनि तिनीहरूले पाप गर्न लाउने र दुष्ट काम गर्ने हरेकलाई राज्यदेखि बटुल्नेछन्। अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। तब धर्मात्माहरू तिनीहरूका पिताको राज्यमा सूर्यझैं चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्।
“स्वर्गको राज्य खेतमा लुकाइ राखिएको गाडधनजस्तो हो। जब एकजना मानिसले त्यसलाई भेट्टायो, त्यसले फेरि लुकाइ राख्यो, अनि आनन्दसाथ गएर आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।
“फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एकजना व्यापारीजस्तो हो। जब उसले एउटा बहुमूल्य मोती भेट्टायो, ऊ गइहाल्यो अनि आफूसित भएका सबै थोक बेचेर त्यो किन्यो।
“फेरि पनि स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। जब त्यो भरियो, मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबलाई बाहिर फ्याँकिदिए। युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”
येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो।
तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौं।”
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एकजना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।”
जब येशूले यी दृष्टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अघि बढ्नुभयो। आफ्नो घर भएको शहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो, अनि तिनीहरू छक्क परे। तिनीहरूले सोधे, “यस मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट पायो? के यो सिकर्मीको छोरो होइन? के यसकी आमाको नाउँ मरियम होइन, अनि यसका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन्? के यसका बहिनीहरू हामीसित छैनन्? त्यसो भए यस मानिसले यी सबै कुराहरू कहाँबाट पायो?” अनि तिनीहरू उहाँसित चिढिए।
तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ता आफ्नै ठाउँमा अनि उसको आफ्नै घरमा मात्र आदररहित हुन्छ।”
अनि उहाँले तिनीहरूका विश्वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन।