YouVersion लोगो
खोज आइकन

मत्ती 10:24-42

मत्ती 10:24-42 NCV

“चेला आफ्ना गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्‍ठ हुन सक्छ। चेलालाई गुरुसमान हुनु र सेवकलाई मालिकसमान हुनु नै पर्याप्‍त हुन्छ। यदि घरका मुखियालाई बालजिबुल भनेका छन् भने घरका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्! “यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्‍तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन। जे मैले तिमीहरूलाई अन्धकारमा भन्छु, त्यो दिनको उज्यालोमा भनिदेओ: तिमीहरूले कानमा जे सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गरिदेओ। शरीरलाई मार्ने तर प्राणलाई नष्‍ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्‍ट गर्न सक्नुहुने परमेश्‍वरसित डराओ। के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन। तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ। “जसले मलाई मानिसहरूको सामु स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामु स्वीकार गर्नेछु। तर जसले मलाई मानिसहरूको सामु अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामु अस्वीकार गर्नेछु। “म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ। किनकि म, “ ‘मानिसलाई उसको बुबाको विरुद्धमा, छोरीलाई उसकी आमाको विरुद्धमा, बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएको हुँ। मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’ “जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई धेरै प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ; जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ। “जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ। यदि कसैले यी सानाहरूमध्ये एक जनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने म तिमीहरूलाई साँच्‍चै भन्दछु, निश्‍चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।”

मत्ती 10 पढ्नुहोस्