येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो, अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, अनि हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो।
ती बाह्र प्रेरितहरूका नाउँ यिनै हुन्:
पहिलो पत्रुस भनिने सिमोन, अनि तिनका भाइ अन्द्रियास;
जब्दीका छोरा याकोब र तिनको भाइ यूहन्ना;
फिलिप अनि बारथोलोमाइ;
थोमा अनि कर उठाउने मत्ती;
अल्फयसको छोरो याकोब अनि थेदियस;
सिमोन कनानी अनि यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।
यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, अनि सामरीहरूका शहरहरूमा नपस। बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ। तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’ रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ, भूत आत्माहरू धपाओ। तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।
“आफूसित पटुकामा सुन, चाँदी अथवा तामा नलैजाओ। यात्राको लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लौरो नबोक; किनकि खेताला ज्यालाको योग्य हुन्छ। तिमीहरू जुन शहर अथवा गाउँमा पस्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज र तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस। तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई आफ्नो अभिवादन भन। यदि त्यो घर त्यस योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमा रहोस्; यदि छैन भने, तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्। यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा शहरलाई छोडेर जाँदा तिमीहरूका खुट्टाको धूलो टक्टक्याइदेओ। म यो साँचो कुरा तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस शहरको भन्दा त सदोम र गमोराको अवस्था सहनसक्ने हुनेछ।
“म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैं पठाउँदैछु। यसकारण सर्पझैं चतुर र ढुकुरझैं सोझो होओ। मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, अनि तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्। मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, अनि तिमीहरू गैरयहूदीहरूको अघि मेरा साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो, सो दिइनेछ। किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
“भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युको निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, अनि तिनीहरूलाई मार्न लाउनेछन्। तिमीहरूलाई सबै मानिसहरूले मेरो निम्ति घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ। जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसका पुत्र आउनु अघि तिमीहरूले इस्राएलका शहरहरू पनि घुमिसकेका हुनेछैनौ।