YouVersion लोगो
खोज आइकन

लूका 15:11-31

लूका 15:11-31 NCV

येशूले भन्‍ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए। कान्छोले आफ्ना बुबालाई भन्यो, ‘पिता, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए। “अनि धेरै दिन नबित्दै कान्छो छोरो आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो, र त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो। त्यसले सबै खर्च गरिसकेपछि त्यो सारा देशभरि ठूलो अनिकाल पर्‍यो, र त्यसलाई अभाव हुनथाल्यो। यसकारण त्यो गएर त्यस देशका एकजना नागरिककहाँ काम माग्यो, जसले त्यसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो। अनि त्यसले सुँगुरहरूले खाने ती चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो। “त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादार सेवकहरूसँग अघाएर उबार्नेसमेत भोजन हुन्छ, तर म यहाँ भोकले मर्दैछु! म उठेर मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्‍नेछु: पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरो भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादार सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्।’ अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर त्यो अझै पनि धेरै टाढामै छँदा त्यसका बुबाले त्यसलाई देखेर तिनी त्यसप्रति दयाले भरिए; तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हाली त्यसलाई चुम्बन गरे। “छोराले बुबालाई भन्यो, ‘पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादार सेवकसरह एउटा बनाउनुहोस्।’ “तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ। पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौं र आनन्द मनाऔं। किनकि यो मेरो छोरो मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन लागे। “त्यस बेला जेठो छोरो खेतबारीमा थियो। त्यो घरको नजिकै आइपुग्दा त्यसले बाजा र नाचगानको आवाज सुन्यो। त्यसकारण त्यसले एउटा सेवकलाई बोलाएर के हुँदैछ भनी सोध्यो। त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ, अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ, किनकि उहाँले तिनलाई सुरक्षित र स्वस्थ नै पाउनुभएको छ।’ “तब जेठो दाजु रिसायो र भित्र जान मानेन। त्यसकारण त्यसका बुबा बाहिर गएर त्यसलाई फकाउन थाले। तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु, र तपाईंका आज्ञा कहिल्यै उलङ्घन गरिनँ; तापनि मैले मेरा मित्रहरूसँग आनन्द मनाउन सकूँ भनेर तपाईंले मलाई एउटा पाठो पनि कहिल्यै दिनुभएन। तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरो घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशुसमेत मार्नुभयो।’ “बुबाले भने, ‘मेरो छोरा, तिमी ता सधैं मैसँग छौ, र मसँग भएका सबै थोक तिम्रा हुन्।

लूका 15 पढ्नुहोस्