YouVersion लोगो
खोज आइकन

यशैया 52:7-15

यशैया 52:7-15 NCV

सुसमाचार ल्याउनेहरू, शान्ति घोषणा गर्नेहरू, उद्धार घोषणा गर्नेहरू, सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!” सुसमाचार ल्याउनेहरूका पाउ पहाडहरूहुँदो कति सुन्दर! सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्; तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्। जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्। हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दका गीतहरू जोडसित एकसाथ गाओ; किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ; उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ। सबै जातिहरूले देख्ने गरी याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ; पृथ्वीको पल्‍लो छेउका मानिसहरूले हाम्रा परमेश्‍वरको उद्धार देख्नेछन्। गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल! कुनै अशुद्ध थोक नछोओ! तिमीहरू जो याहवेहका पात्र बोक्छौ, त्यसबाट निस्केर आओ र शुद्ध होओ! तर तिमीहरू हतार-हतार गरी जानेछैनौ; अनि न त भागेर जानेछौ; किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ, र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ। हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ; ऊ उठाइनेछ र उच्‍च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ। जसरी उसदेखि धेरै जना चकित थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो— त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।

यशैया 52 पढ्नुहोस्