तर अब, हे याकोब, तँलाई रच्नुहुने,
हे इस्राएल, तँलाई सृष्टि गर्नुहुने,
याहवेह यसो भन्नुहुन्छः
“नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु;
मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्।
तँ पानीबाट भएर जाँदा
म तँसित हुनेछु;
अनि तँ नदीहरूबाट भएर जाँदा
तिनले तँलाई बगाउनेछैनन्।
तँ आगोबाट हिँडेर जाँदा
तँ जल्नेछैनस्;
त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ;
इस्राएलका पवित्र परमेश्वर, तेरा उद्धारकर्ता हुनुहुन्छ।
तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु;
तेरो सट्टामा कूश र सेबा दिएँ।
मेरो दृष्टिमा तँ बहुमूल्य र आदरणीय छस्;
अनि मैले तँलाई प्रेम गरेको कारणले
म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई
तेरो जीवनको सट्टामा दिनेछु।
नडरा, किनकि म तँसित छु;
म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु,
र तँलाई पश्चिमबाट भेला गराउनेछु।
म उत्तरलाई भन्नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’
र दक्षिणलाई भन्नेछु, ‘तिनीहरूलाई नरोक्।’
मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ;
अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ;
मेरो नामले बोलाइएको हरेकलाई,
जसलाई मैले आफ्नो महिमाको निम्ति सृष्टि गरेँ,
जसलाई मैले नै रचेँ।”
आँखा भएर अन्धा र कान भएर पनि
बहिरा हुनेहरूलाई डोर्याएर निकाल।
सबै जातिहरू एकसाथ जम्मा होऊन्;
अनि मानिसहरू भेला होऊन्।
तिनीहरूमध्ये कसले यो अगिबाटै बतायो;
अनि अगिका कुराहरूको हामीलाई घोषणा गर्यो?
तिनीहरू ठिक हुन् भनेर प्रमाणित गर्न तिनीहरूले साक्षीहरू ल्याऊन्,
ताकि अरूले सुनून् र “यो साँचो हो” भनून्।
“तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ,
मैले चुनेको मेरा सेवक,
ताकि म उही हुँ भनी तिमीहरूले जान्न सक;
अनि मलाई विश्वास गर्न र बुझ्न सक।
मभन्दा पहिले कुनै ईश्वर रचिएको थिएन,
न त मपछि कोही हुनेछ।
म हुँ, म नै याहवेह हुँ।
मबाहेक अरू कुनै उद्धारकर्ता छैन।
मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु—
तिमीहरूबीच भएको कुनै परदेशी देवताले होइन।
मेरा साक्षी तिमीहरू नै हौ,” भनी याहवेह घोषणा गर्नुहुन्छ, कि, “म नै परमेश्वर हुँ,
हो, प्राचीनकालदेखि म उही हुँ।
मेरो हातबाट कसैले छुटाउन सक्दैन।
जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?”
याहवेह, तिमीहरूका उद्धारक,
इस्राएलका पवित्र परमेश्वर भन्नुहुन्छ—
“तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु;
अनि सबै बेबिलोनीहरूलाई तिनीहरूले गर्व गरेका जहाजहरूमा
शरणार्थीहरूलाई झैँ ल्याउनेछु।
म नै याहवेह, तिमीहरूका पवित्र परमेश्वर,
इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।”
याहवेह यसो भन्नुहुन्छ,
जो समुद्रबाट बाटो बनाउनुहुने,
शक्तिशाली सागरमा मार्ग बनाउनुहुने,
रथ र घोडाहरू,
सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने,
तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए;
सलेदो निभाइएझैँ निभाइएका थिए:
“पहिलेका कुराहरू नसम्झ,
बितेका कुराहरूमा नअल्झ।
हेर, म एउटा नयाँ काम गर्दैछु!
अहिले नै यो प्रष्ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ?
म मरुभूमिमा एउटा बाटो
र उजाडभूमिमा खोलाहरू बनाउँदैछु।