याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ; फेरि एक पल्ट उहाँले इस्राएललाई चुन्नुहुनेछ; अनि तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा बसाल्नुहुनेछ। परदेशीहरू तिनीहरूसित मिल्नेछन् र याकोबका घरानासित तिनीहरू मिलेर बस्नेछन्। राष्ट्रहरूले तिनीहरूलाई लगेर तिनीहरूको आफ्नै ठाउँमा ल्याइदिनेछन्। अनि इस्राएलले जातिहरूलाई याहवेहको देशमा आफ्ना दास-दासीहरू बनाउनेछ। तिनीहरूलाई पक्रनेहरूलाई तिनीहरूले आफ्ना कैदी बनाउनेछन्; अनि तिनीहरूमाथि थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्। याहवेहले तिमीहरूलाई कष्ट, चिन्ता र कठिन परिश्रमबाट मुक्त गर्नुभएको दिन, तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: अत्याचारी कसरी नाश भयो! त्यसको अत्याचार कसरी समाप्त भयो! याहवेहले दुष्टको लहुरो, शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ। जसले रिसमा मानिसहरूलाई लगातार मुक्का लगाइरहन्थ्यो; अनि रिसमा राष्ट्रहरूलाई लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो। सारा देश विश्राम र शान्तिमा छ; तिनीहरू गीत गाइउठ्छन्। सल्लाका रूखहरू र लेबनानका देवदारुसमेत तिमीहरूको अवस्था देखेर रमाउँछन् र भन्छन्, “अब तँ ढलिगएको कारणले काठको काम गर्ने कोही पनि आएर हामीलाई ढाल्दैनन्।” तेरो आगमनको प्रतीक्षामा पाताल पनि उत्प्रेरित भएको छ; त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— संसारका अगुवा भएर रहेका थिए; यसले एक पल्ट जातिहरूमाथि राजा भएकाहरूलाई तिनीहरूका सिंहासनबाट उठाउँछ। तिनीहरू सबैले जवाफ दिएर तँलाई यसो भन्नेछन्, “तँ अब हामीजस्तै कमजोर भएको छस्; तँ हामीजस्तै भइस्।” तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्। हे बिहानको तारा, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसेको छस्! जातिहरूलाई होच्याउने, तँ पृथ्वीमा फ्याँकिएको छस्! तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्च स्थानमा विराजमान हुनेछु। म बादलहरूभन्दा माथि उक्लनेछु; म आफैँलाई सर्वोच्च परमेश्वर बराबर बनाउनेछु।” तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो।
यशैया 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 14:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू