YouVersion लोगो
खोज आइकन

उत्पत्ति 24

24
इसहाक र रिबेका
1अब्राहाम अब धेरै वृद्ध भइसकेका थिए; अनि याहवेहले तिनलाई सबै कुरामा आशिष् दिनुभएको थियो। 2तिनले आफ्नो घरानाको आफ्नो सबैभन्दा पुरानो सेवकलाई भने, जसले अब्राहामका सबै कुराको हेरचाह गर्थ्यो, “मेरो तिघ्रामुनि आफ्नो हात राख्। 3अनि म तँलाई स्वर्ग र पृथ्वीका याहवेह परमेश्‍वरको नाममा शपथ खान लगाउँछु; अहिले म बसोबास गर्दैआएको कनानीहरूका छोरीहरूमध्येबाट मेरा छोराको निम्ति पत्नी नल्याउनू, 4तर तैँले मेरै देश र मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकका निम्ति एउटी पत्नी ल्याउनू।”
5त्यस सेवकले तिनलाई सोध्यो, “यदि ती स्त्री मसँग यस देशमा आउन राजी भइनन् भने म के गरूँ? के मैले तपाईंको छोरालाई तपाईं जुन देशबाट आउनुभयो, त्यहीँ देशमा फर्काएर लैजानुपर्छ?”
6अब्राहामले भने, “अहँ, हुँदैन। यो पक्‍का गर्, कि तैँले मेरो छोरालाई त्यहाँ फेरि फर्काएर नलैजानू! 7मलाई मेरा पिताको घरानाबाट र मेरो जन्मस्थलबाट बाहिर निकालेर ल्याउनुहुने, र मसित बोलेर ‘तेरो सन्तानलाई म यो देश दिनेछु’ भन्दै मसँग शपथमा प्रतिज्ञा गर्नुहुने स्वर्गका परमेश्‍वर, याहवेहले नै तेरो अगि-अगि दूत पठाउनुहुनेछ; अनि तैँले मेरो छोराका निम्ति त्यहीँबाट एउटी पत्नी ल्याउनेछस्। 8यदि ती स्त्री तँसित आउन चाहिनन् भने तँ मसित खाएको शपथबाट स्वतन्त्र हुनेछस्। तर याद राख्, मेरो छोरालाई चाहिँ फेरि त्यहाँ फर्काएर नलैजानू।” 9यसकारण त्यस सेवकले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राख्यो, र यस विषयमा तिनीसित शपथ खायो।
10तब त्यस सेवकले आफ्ना मालिकका दश वटा ऊँटहरूमा सबै किसिमका असल थोकहरूका सौगात लादेर हिँड्यो। अनि त्यो सेवक अराम-नहरैमतिर#24:10 त्यो उत्तर-पश्‍चिमी मेसोपोटामिया हो। गयो, र नाहोर भन्‍ने नगरतिर बाटो लाग्यो। 11उसले नगरको बाहिर एउटा इनारको छेउमा आफ्ना ऊँटहरूलाई घुँडा टेकाएर बसायो; साँझ पर्ने बेला भएकोले स्त्रीहरू पानी भर्नका लागि इनारमा आउने बेला भएको थियो।
12तब त्यसले प्रार्थना गर्‍यो, “हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्‍वर, मलाई आज सफलता दिनुहोस्, र मेरा मालिक अब्राहाममाथि दया देखाउनुहोस्। 13हेर्नुहोस्, म यस पानीको इनारनेर उभिरहेको छु; अनि यस नगरबासीका छोरीहरू पानी भर्न आउँदैछन्। 14यसकारण यस्तो होस्: जुन केटीलाई ‘तिम्रो गाग्रो मतिर ढल्काइदेऊ, र म पानी पिउन पाऊँ,’ भनेर भनुँला र जसले ‘पिउनुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु’ भनी भन्ली, त्यहीचाहिँ तपाईंले आफ्ना सेवक इसहाकका निम्ति चुन्‍नुभएको होस्। यसैबाट तपाईंले मेरा मालिकप्रति दया देखाउनुभएको छ भनी म जान्‍नेछु।”
15उसले प्रार्थना गरिसक्नुभन्दा पहिल्यै रिबेका आफ्नो काँधमा गाग्रो बोकेर आइपुगिन्, जोचाहिँ अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काका छोरा बतूएलकी छोरी थिइन्। 16तिनी असाध्यै राम्री थिइन्, र कुनै मानिससँग कहिल्यै पनि सहवास नभएकी कन्या थिइन्। तिनी ओर्लेर इनारमा गइन्, र आफ्नो गाग्रो भरेर फेरि माथि आइन्।
17त्यो सेवक दगुर्दै तिनलाई भेट्न गयो र भन्यो, “कृपया मलाई तिम्रो गाग्रोबाट अलिकति पानी पिउन देऊ।”
18अनि तिनले भनिन्, “हुन्छ, पिउनुहोस्, मेरा प्रभु!” अनि तिनले गाग्रोलाई आफ्नो हातमा ओरालिन्, र उसलाई पिउन दिइन्।
19उसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “म तपाईंका ऊँटहरूलाई पनि तिनीहरूले अघाउन्जेल पानी उघाएर दिनेछु।” 20यसरी तिनले चाँडो गरी आफ्नो गाग्रोको पानी डुँडमा खन्याइन्, र अझ धेरै पानी उघाउन इनारतिर दगुरिन्; अनि उसका सबै ऊँटहरूको लागि प्रशस्त पानी उघाइन्। 21ती सेवकचाहिँ केही नबोली रिबेकालाई हेरिरहे। अनि कतै याहवेहले आफ्नो यात्रा सफल बनाउनुभएको त होइन भन्‍ने कुरा मनन गर्न थाले।
22जब ऊँटहरूले पानी पिइसके, तब त्यस मानिसले आधा बेका#24:22 लगभग 5.7 ग्राम तौलको सुनको एउटा नत्थ र दश शेकेल#24:22 लगभग 115 ग्राम तौलको दुई वटा बाला झिक्यो। 23तब उसले सोध्यो, “कृपया मलाई भन, तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई बास बस्‍नका निम्ति ठाउँ छ?”
24उनले त्यसलाई जवाफ दिइन्, “म मिल्काका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले नाहोरका लागि जन्माएकी थिइन्।” 25अनि उनले अझै भनिन्, “हामीसित पर्याप्‍त पराल र दाना छन्, साथै तपाईंलाई बास बस्‍नको लागि ठाउँ पनि छ।”
26तब त्यस मानिसले घोप्टो परेर याहवेहको आराधना गर्‍यो, 27र भन्यो, “मेरा मालिक अब्राहामका परमेश्‍वर, याहवेहको प्रशंसा होस्, जसले मेरा मालिकप्रति आफ्नो दया र विश्‍वासयोग्यता त्याग्नुभएको छैन। म बाटोमा छँदै याहवेहले मेरा मालिकका कुटुम्बको घरानातिरको यात्रामा मलाई अगुवाइ गरेर ल्याउनुभयो।”
28तब रिबेका दगुरेर गइन् र आफ्नी आमाको घरानालाई यी सबै कुराहरू बताइदिइन्। 29-30तिनका लाबान नाम भएका एक जना दाजु थिए; उनले नाकमा नत्थ र आफ्नी बहिनीका हातमा बाला देख्नासाथै, र रिबेकाले त्यस मानिसले उनलाई भनेका कुरा सुन्‍नसाथ लाबान त्यस मानिसलाई भेट्न बाहिर निस्किहाले, र त्यसलाई इनारको छेउमा ऊँटहरूसित उभिरहेका देखे। 31अनि उनले भने, “हे याहवेहका धन्य जन, भित्र आउनुहोस्! तपाईं किन बाहिर उभिरहनुहुन्छ? मैले तपाईंका निम्ति घर र ऊँटहरूका निम्ति ठाउँ तयार पारेको छु।”
32यसकारण त्यो मानिस लाबानसित घरभित्र गयो; अनि ऊँटहरूबाट भारी उतारियो। अनि ऊँटहरूका निम्ति पराल र दाना दिइयो; अनि लाबानले त्यो मानिस र त्योसँग आएका मानिसहरूका निम्ति गोडा धुन पानी दिए। 33तब त्यसको सामु भोजन राखियो; तर त्यसले भन्यो, “जबसम्म मैले तपाईंहरूलाई भन्‍नुपर्ने कुरा भन्दिनँ, तबसम्म म केही खानेछैनँ।”
तब लाबानले भने, “हुन्छ, के कुरा हो, भन्‍नुहोस्।”
34यसकारण त्यसले भन्यो, “म अब्राहामको सेवक हुँ। 35याहवेहले मेरा मालिकलाई प्रशस्त आशिष् दिनुभएको छ। याहवेहले उहाँलाई भेडाबाख्रा, गाईबस्तु, सुन, चाँदी, सेवक-सेविका, ऊँट र गधाहरू दिनुभएको छ, र उहाँलाई धेरै धनी बनाउनुभएको छ। 36मेरा मालिककी पत्नी साराले आफ्नो वृद्धावस्थामा अब्राहामका निम्ति एउटा छोरा जन्माउनुभयो; अनि अब्राहामले उनलाई आफूसित भएका सबै थोक दिनुभएको छ। 37अनि मेरा मालिकले मलाई शपथ खान लगाएर यसो भन्‍नुभयो, ‘तैँले म बसेको कनानीहरूका छोरीहरूबाट मेरो छोराका निम्ति पत्नी नल्याउनू, 38तर मेरा पिताका घरानामा, मेरो आफ्नै वंशमा जानू, र मेरो छोराका लागि एउटी पत्नी ल्याउनू।’
39“तब मैले मेरा मालिकलाई सोधेँ, ‘यदि त्यो स्त्री मसँग आउन मानिन भने?’
40“तिनले जवाफ दिए, ‘म जुन याहवेहको सामु विश्‍वासयोग्य भएर हिँड्छु, उहाँले नै आफ्ना दूतलाई तँसित पठाउनुहुनेछ र तेरो यात्रा सफल तुल्याउनुहुनेछ; अनि तैँले मेरा आफ्नै वंश र मेरा पिताको घरानाबाट मेरा छोराका निम्ति एउटी पत्नी ल्याउनेछस्। 41यदि तँ मेरो वंशकहाँ गइस्, तर तिनलाई माग्दा तिनीहरूले तँलाई दिन मानेनन् भने तँ मेरो शपथबाट स्वतन्त्र हुनेछस्।’
42“जब म आज यस इनारमा आइपुगेँ, र मैले भनेँ, ‘हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्‍वर, तपाईंको इच्छा भएमा दया गरी मेरो यात्रा सफल गराइदिनुहोस्। 43हेर्नुहोस्, म यस इनारको छेउमा उभिरहेको छु। अनि यस्तो होस्: यदि कुनै कन्या पानी भर्न आउँदा मैले तिनलाई भनेँ, “कृपया मलाई तिम्रो गाग्रोबाट केही पानी पिउन देऊ,” 44अनि यदि उसले मलाई “पिउनुहोस्, र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी उघाएर दिनेछु,” भन्ली, तब त्यही स्त्री याहवेहले मेरा मालिकका छोराका निम्ति चुन्‍नुभएको होस्।’
45“मैले आफ्नो हृदयमा प्रार्थना गरी नसक्दै रिबेका आफ्नो गाग्रो काँधमा बोकेर आइन्। अनि तिनले इनारमा ओर्लेर पानी उघाइन्; तब मैले तिनलाई भनेँ, ‘मलाई अलिकति पानी पिउन देऊ।’
46“उनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो तल झारिन् र भनिन्, ‘पिउनुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु।’ यसकारण मैले पिएँ, र तिनले ऊँटहरूलाई पनि पानी पिउन दिइन्।
47“मैले उनलाई सोधेँ, ‘तिमी कसकी छोरी हौ?’
“उनले भनिन्, ‘म नाहोरका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले जन्म दिनुभयो।’
“तब मैले उनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ; 48अनि मैले घोप्टो परेर याहवेहलाई आराधना गरेँ। मैले याहवेह, मेरा मालिक अब्राहामका परमेश्‍वरको प्रशंसा गरेँ; जसले मेरा मालिकका छोराका निम्ति आफ्ना भाइकी नातिनी ल्याउनलाई ठिक बाटोमा डोर्‍याउनुभयो। 49अब यदि तपाईंले मेरा मालिकप्रति दया र विश्‍वासयोग्यता देखाउनुहुन्छ भने मलाई भन्‍नुहोस्; अथवा हुन्‍न भने पनि मलाई भन्‍नुहोस्, र म कतातिर लाग्नुपर्ने हो भनी जान्‍न सकूँ।”
50तब लाबान र बतूएलले जवाफ दिए, “यो याहवेहबाट नै भएको हो; हामी तपाईंहरूलाई हो अथवा होइन केही भन्‍न सक्दैनौँ। 51रिबेका तपाईंकै सामु छिन्; तिनलाई लिएर जानुहोस्! अनि याहवेहले निर्देशन गर्नुभएझैँ तिनलाई तपाईंका मालिकका छोराकी पत्नी हुन दिनुहोस्।”
52तिनीहरूले भनेका कुरा अब्राहामका सेवकले सुनेपछि त्यसले भुइँमा निहुरिएर याहवेहलाई डण्दवत् गर्‍यो। 53तब त्यस सेवकले सुन, चाँदीका गरगहना र लुगाफाटाहरू निकाल्यो, र रिबेकालाई दियो; त्यसले तिनका दाजु र आमालाई पनि बहुमूल्य उपहारहरू दियो। 54तब त्यो र त्योसँग आएका मानिसहरूले खानपिन गरे, र त्यो रात त्यहीँ बास बसे।
जब तिनीहरू भोलिपल्ट बिहानै उठे, तब त्यसले भन्यो, “अब मेरा मालिककहाँ जानलाई बिदा दिनुहोस्।”
55तर रिबेकाका दाजु र आमाले भने, “हाम्री छोरीलाई हामीसित दश दिन जति बस्‍न दिनुहोस्; अनि त्यसपछि तिनलाई लैजानुहोस्।”
56तर त्यसले तिनीहरूलाई भन्यो, “अब मलाई रोकेर नराख्नुहोस्; किनकि याहवेहले मेरो यात्रा सफल पार्नुभएको छ। मलाई बिदा दिनुहोस्, र म मेरा मालिककहाँ जान पाऊँ।”
57तब तिनीहरूले भने, “हामी रिबेकालाई बोलाऔँ र यसबारे तिनैलाई सोधौँ।” 58तब तिनीहरूले रिबेकालाई बोलाएर सोधे, “के तिमी यस मानिससँग जान्छ्यौ?”
उनले भनिन्, “अँ, म जान्छु।”
59यसकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी धाईआमासँगै अब्राहामका सेवक र त्यसका मानिसहरूलाई बिदा दिए। 60अनि तिनीहरूले रिबेकालाई आशिष् दिएर भने,
“हाम्री बहिनी,
तिमी हजारौँ हजारमा बढ्दै जाऊ;
तिम्रा सन्तानले
आफ्ना शत्रुहरूका सहरहरूमा अधिकार जमाऊन्।”
61तब रिबेका र तिनका सुसारेहरू तयार भए, र ऊँटमाथि चढे; अनि त्यस मानिसको पछि लागे। यसरी त्यस सेवकले रिबेकालाई लिएर गयो।
62अब इसहाक बेअर-लहै-रोइबाट आएका थिए; किनकि त्यस बेला तिनी दक्षिणमा बस्दैथिए। 63एक साँझ इसहाक ध्यान#24:63 मूल भाषामा यसको अर्थ अनिश्‍चित छ। गर्न बाहिर खेतमा गए; अनि तिनले जब आँखा उठाएर हेरे, तब तिनले ऊँटको लस्कर आइरहेका देखे। 64रिबेकाले पनि आँखा उठाएर हेरिन्, र इसहाकलाई देखिन्। तिनी आफ्नो ऊँटबाट ओर्लिन्, 65अनि त्यस सेवकलाई सोधिन्, “हामीलाई भेट्न खेतबाट आउँदैगरेका ती मानिस को हुन्?”
त्यस सेवकले जवाफ दियो, “उहाँ मेरा मालिक हुनुहुन्छ।” तब उनले घुम्टो हालेर आफ्नो मुहार छोपिन्।
66तब त्यस सेवकले आफूले गरेका सबै कुराहरू इसहाकलाई भनिदियो। 67इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालभित्र लिएर आए; अनि तिनलाई विवाह गरे। यसरी तिनी उनकी पत्नी भइन्; अनि तिनले उनलाई प्रेम गरे। यसरी इसहाकले आफ्नी आमाको मृत्युपछि सान्त्वना पाए।

अहिले सेलेक्ट गरिएको:

उत्पत्ति 24: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्