जब फारोले ती मानिसहरूलाई जान दिए, याहवेहले तिनीहरूलाई पलिश्तीहरूको देश भएर डोर्याउनुभएन; यद्यपि त्यो छोटो थियो। किनकि परमेश्वरले भन्नुभयो, “तिनीहरूले युद्धको सामना गर्नुपर्यो भने तिनीहरूले आफ्ना मन परिवर्तन गरेर इजिप्टतिरै फर्कन सक्छन्।” यसकारण परमेश्वरले मानिसहरूलाई घुमाएर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोमा डोर्याउनुभयो। इस्राएलीहरू इजिप्टबाट लडाइँको लागि तयारी भएर निस्के। मोशाले आफूसित योसेफको अस्थि लगे; किनकि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लाएका थिए। तिनले भनेका थिए, “परमेश्वर निश्चय नै तिमीहरूको सहायताका निम्ति आउनुहुनेछ, र तिमीहरूले मेरो अस्थि यस ठाउँबाट आफूसित लैजानुपर्छ।” सुक्कोत छोडेपछि तिनीहरू उजाडस्थानको नजिकै एथाममा पाल टाँगेर बसे। तिनीहरू दिन र रात यात्रा गर्न सकून् भनेर दिउँसो याहवेह तिनीहरूलाई बाटोमा डोर्याउनलाई बादलको खामोमा र राति तिनीहरूलाई प्रकाश दिनलाई आगोको खामोमा तिनीहरूका अगि-अगि जानुभयो। न त दिउँसो बादलको खामोले, न त राति आगोको खामोले मानिसहरूका अगि-अगि जान कहिल्यै छोड्यो।
प्रस्थान 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 13:17-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू