YouVersion लोगो
खोज आइकन

2 इतिहास 32:7-26

2 इतिहास 32:7-26 NCV

अश्शूरका राजा र तिनको विशाल फौजदेखि नडराओ; किनकि हामीसित हुनुहुने तिनीसित भएकाहरूभन्दा महान् हुनुहुन्छ। तिनीसित शारीरिक हतियारहरू मात्र छन्, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा युद्धहरू लडिदिनुहुने याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।” यसरी यहूदाका राजा हिजकियाले भनेका कुराबाट मानिसहरूले आत्मबल पाए। त्यसपछि जब अश्शूरका राजा सनहेरीब र तिनका सबै दलहरूले लाकीशलाई घेरा हलिरहेका थिए, तब तिनले आफ्ना अधिकृतहरूलाई यहूदाका राजा हिजकिया र त्यहाँ भएका सम्पूर्ण यहूदावासीहरूका निम्ति यो सन्देशको साथ यरूशलेममा पठाए: “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: तिमीहरूले कुन कुरामाथि भरोसा राखेर आफू यरूशलेमभित्र घेरा हालेर बसेका छौ? जब हिजकियाले भन्छन्, ‘याहवेह हाम्रा परमेश्‍वरले हामीलाई अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ।’ तर तिनले तिमीहरूलाई भोक र तिर्खाले मर्नको लागि धोका दिँदैछन्। के हिजकिया आफैँले ‘एउटै मात्र वेदीमा आराधना गर्नुपर्छ र यसैमाथि बलिदानहरू चढाउनुपर्छ’ भन्दै आफैँले यहूदा र यरूशलेमका मानिसहरूलाई देवस्थान र वेदीहरू हटाउन लगाएका थिएनन् र? “मैले र मेरा पुर्खाहरूले अरू देशका मानिसहरूलाई जे गरेका छौँ, के तिमीहरू जान्दैनौ? के ती जातिहरूका देवताहरूले मेरो हातबाट तिनीहरूको देशलाई कहिल्यै बचाउन सकेका थिए? मेरा पुर्खाहरूले नाश गरेका जातिहरूका सबै देवताहरूमध्ये कसले आफ्ना मनिसहरूलाई मबाट बचाउन सक्यो र? त्यसो भए कसरी तिमीहरूका ईश्‍वरले तिमीहरूलाई मेरो हातबाट छुटाउन सक्लान्? अब हिजकियालाई तिमीहरूलाई धोका दिएर छल्न नदेऊ। तिनीमाथि विश्‍वास नगर; किनकि कुनै पनि जाति र राज्यका देवताले आफ्नो जातिलाई मेरो हातबाट अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन। तिमीहरूलाई झन् के बचाउन सक्लान् र!” सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्‍वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले। राजाले याहवेह इस्राएलका परमेश्‍वरलाई अपमान गर्दै यसो भन्दै उहाँको विरोध गरेर पत्र लेखे: “अरू देशहरूका मानिसहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउन नसकेझैँ हिजकियाका ईश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउनेछैन।” तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे। यरूशलेमका परमेश्‍वरको विषयमा तिनीहरूले संसारका अरू जातिहरूका देवताहरूको विषयमाझैँ मानिसहरूका हातका काम मात्र हो भनी भने। राजा हिजकिया र आमोजका छोरा अगमवक्ता यशैयाले यस विषयमा स्वर्गतिर पुकार गरेर प्रार्थना गरे। तब याहवेहले एउटा स्वर्गदूत पठाउनुभयो र तिनले अश्शूरका राजाका छाउनीमा भएका लडाकु मानिसहरू, अगुवाहरू र अधिकृतहरूको नामनिशानै मेटिदिए। यसरी तिनी अपमानित भएर आफ्नै देशमा फर्के। तिनी आफ्नै देवताको मन्दिरमा गएपछि तिनका आफ्नै छोराहरूमध्ये केहीले तिनलाई तरवारले छिनाइदिए। यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो। धेरैले याहवेहको निम्ति यरूशलेममा भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए। त्यस समयदेखि उसो राजा हिजकियालाई सबै जातिहरूले अति सम्मान गर्न थाले। ती दिनहरूमा हिजकिया बिरामी भएर मर्न लागे। तिनले याहवेहसित प्रार्थना गरे, र उहाँले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो। तर हिजकियाहको हृदय अहङ्कारी थियो; तिनले आफूमाथि देखाइएको दयाप्रति कुनै प्रतिक्रिया देखाएनन्। यसकारण याहवेहको क्रोध तिनी, यहूदा र यरूशलेममाथि रह्‍यो। तब हिजकियाले आफ्नो हृदयको अहङ्कारको निम्ति पश्‍चात्ताप गरे, जसरी यरूशलेमका मानिसहरूले गरेका थिए। यसकारण याहवेहको क्रोध हिजकियाको शासनकालमा तिनीहरूमाथि आएन।

2 इतिहास 32 पढ्नुहोस्