YouVersion लोगो
खोज आइकन

2 इतिहास 29:1-21

2 इतिहास 29:1-21 NCV

राजा हुँदा हिजकिया पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्। आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। आफ्नो शासनको पहिलो वर्षको पहिलो महिनामा तिनले याहवेहको मन्दिरका ढोकाहरू खोले र तिनलाई मर्मत गरे। तिनले पुजारी र लेवीहरूलाई भित्र ल्याए। तिनीहरूलाई पूर्वतिरको चोकमा भेला गराए, र भने: “हे लेवी हो, मेरो कुरा सुन! अहिले आफूलाई पवित्र बनाओ। याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई पवित्र बनाओ। पवित्रस्थानबाट सबै अशुद्धताहरू हटाओ। हाम्रा पुर्खाहरू विश्‍वासयोग्य थिएनन्; तिनीहरूले याहवेह हाम्रा परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे र उहाँलाई त्यागे। तिनीहरूले आफ्ना अनुहार याहवेहको वासस्थानदेखि अर्कैतिर फर्काए, र तिनीहरूले आफ्ना पिठिउँ उहाँतिर फर्काए। तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए, र बत्तीहरू निभाइदिए। तिनीहरूले इस्राएलका परमेश्‍वरकहाँ धूप बालेनन्, र पवित्रस्थानमा होमबलि चढाएनन्। यसकारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आएको छ; उहाँले तिमीहरूलाई डर, आतङ्क र ठट्टाको पात्र बनाउनुभएको छ, जुन तिमीहरूले आफ्नै आँखाले देख्दैछौ। यसैकारण हाम्रा पुर्खाहरू तरवारले मारिए। हाम्रा छोराहरू, छोरीहरू र पत्नीहरू कैदमा छन्। उहाँको डरलाग्दो क्रोध हामीबाट हटोस् भनेर अब म याहवेह इस्राएलका परमेश्‍वरसित एउटा करार बाँध्ने इच्छा गर्छु। मेरा छोराहरू, बेवास्ता नगर! किनकि याहवेहले तिमीहरूलाई उहाँको सामु खडा भएर उहाँको सेवा गर्नलाई, उहाँको अगाडि सेवक भएर धूप बाल्नलाई चुन्‍नुभएको छ।” तब यी लेवीहरू काम गर्न निस्के: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल; मरारीहरूबाट: अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह; गेर्शोनीहरूबाट: जिम्माहका छोरा योआ र योआका छोरा अदन; एलीशापानका सन्तानहरूबाट: शिम्री र यीएल; आसापका सन्तानहरूबाट: जकरिया र मत्तन्याह; हेमानका सन्तानहरूबाट: यहीएल र शिमी; यदूतूनका सन्तानहरूबाट: शमायाह र उज्जीएल। तिनीहरूले आफ्ना लेवी दाजुभाइहरूलाई भेला गरेर आफूलाई पवित्र गरे; अनि याहवेहको आज्ञाअनुसार राजाले हुकुम गरेझैँ तिनीहरू याहवेहको मन्दिर शुद्ध गर्न भित्र पसे। पुजारीहरू पवित्रस्थानलाई शुद्ध गर्न त्यसभित्र पसे। तिनीहरूले याहवेहको भवनभित्र भेट्टाएका हरेक अशुद्ध कुरा याहवेहको मन्दिरबाट बाहिर आँगनमा ल्याए। लेवीहरूले त्यसलाई बोकेर किद्रोनको खोल्सामा लगे। पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगे। अनि अझै आठ दिनसम्म तिनीहरूले याहवेहको मन्दिर पवित्र गरे; अनि पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए। तब तिनीहरू राजा हिजकियाकहाँ गएर खबर दिए: “हामीले याहवेहको सम्पूर्ण मन्दिर होमबलिको वेदी र त्यसका सबै भाँडाकुँडाहरू, पवित्र रोटी राख्ने टेबुल र त्यसका सामग्रीहरू शुद्ध गरेका छौँ। राजा हुँदा आहाजले आफ्नो अविश्‍वासमा हटाएका सबै सामग्रीहरू हामीले तयार गरेर शुद्ध पारेका छौँ। ती अब याहवेहको वेदीको सामु छन्।” भोलिपल्ट बिहानै राजा हिजकियाले सहरका अधिकृतहरूलाई एकसाथ भेला गरे, र याहवेहको मन्दिरमा उक्लेर गए। तिनीहरूले राज्यको निम्ति, पवित्रस्थानको निम्ति र यहूदाको निम्ति पाप शुद्धीकरण बलिस्वरूप सात वटा साँढे, सात वटा भेडा, सात वटा भेडाका थुमा र सात वटा बोका ल्याए। राजाले हारूनका सन्तान पुजारीहरूलाई ती याहवेहको वेदीमा चढाउने हुकुम गरे।

2 इतिहास 29 पढ्नुहोस्