YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 15:1-28

1 कोरिन्थी 15:1-28 NCV

अब दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गरेका छौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ। यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुनेछ; नत्रता तिमीहरूले व्यर्थैमा विश्‍वास गरेका हुनेछौ। किनकि मैले जे वचन पाएँ, त्यसैलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका निम्ति मर्नुभयो। अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो। उहाँ केफासकहाँ र त्यसपछि बाह्र जना चेलाहरूकहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ पाँच सयभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूकहाँ एकै समयमा देखा पर्नुभयो, जसमध्ये धेरै जना अझै पनि जीवित छँदैछन् र कतिचाहिँ सुतिसकेका छन्। तब उहाँ याकोबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। अनि सबैभन्दा अन्तिममा समय पूरा नभइकन जन्मेको व्यक्तिकहाँ जस्तो मकहाँ पनि देखा पर्नुभयो। किनकि म सबै प्रेरितहरू भन्दा तुच्छ हुँ, म त प्रेरित भनिने लायकको पनि छैनँ; किनभने मैले परमेश्‍वरको मण्डलीलाई सताएको थिएँ। तर म आज जे छु, परमेश्‍वरको अनुग्रहको कारण नै छु; अनि उहाँको अनुग्रह ममा व्यर्थै भएन। मैले अरू प्रेरितहरू भन्दा बढी कडा परिश्रम गरेको छु। तैपनि मैले होइनँ, तर मसँग भएको परमेश्‍वरको अनुग्रहको कारणले नै हो। यसैकारण मैले होस् वा अरू प्रेरितहरूले, जसले भए तापनि हामीले प्रचार गरेको सन्देश यही हो, र तिमीहरूले विश्‍वास गरेको पनि यही नै हो। तर यदि मरेकाहरूबाट ख्रीष्‍ट पुनरुत्थान हुनुभयो भन्‍ने प्रचार भएको छ भने तिमीहरू कतिले कसरी मरेकाहरूको पुनरुत्थान हुँदैन भनी भन्छौ त? यदि मरेकाहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि पुनरुत्थान हुनुभएको होइन। यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको होइन भने हाम्रो प्रचार र तिमीहरूको विश्‍वास पनि व्यर्थ हो। त्योभन्दा बढी हामी परमेश्‍वरका झूटा साक्षीहरू ठहरिनेछौँ; किनकि हामीले परमेश्‍वरले ख्रीष्‍टलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभएको छ भन्‍ने गवाही दिएका छौँ। तर यदि उहाँले ख्रीष्‍टलाई पुनर्जीवित पार्नुभएको होइन भने वास्तवमा मरेकाहरू पुनर्जीवित हुँदैनन्। किनकि यदि मरेकाहरू पुनर्जीवित नहुने भए त ख्रीष्‍ट पनि पुनर्जीवित हुनुभएको छैन। यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको छैन भने तिमीहरूको विश्‍वास व्यर्थ भयो; अनि तिमीहरू अझै पनि आफ्ना पापमै छौ। त्यसो हो भने ख्रीष्‍टमा विश्‍वास गरेर सुतिगएकाहरू पनि नष्‍ट भएका छन्। यदि यस जीवनको लागि मात्र ख्रीष्‍टमा हाम्रो आशा राखेका छौँ भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ। तर वास्तवमै ख्रीष्‍ट मरेकाहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो। किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो। जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित पारिनेछन्। तर हरेक आ-आफ्नो क्रमअनुसार ख्रीष्‍ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू सबै जीवित पारिनेछन्। तब अन्त्य आउनेछ; जब उहाँले दुष्‍टका सबै शासन, अधिकार र शक्तिलाई नाश गरेर आफ्ना पिता परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ। किनकि ख्रीष्‍टले आफ्ना सबै शत्रुहरूलाई आफ्नो पाउमुनि नराखुन्जेल उहाँले राज्य गर्नैपर्छ। अन्तिममा नाश गरिने शत्रुचाहिँ मृत्यु हो। किनकि परमेश्‍वरले “सबै कुरा उहाँको पाउमुनि राख्नुभएको छ।” यो स्पष्‍ट छ, कि “सबै कुरा” भन्‍नाले सबै कुरा ख्रीष्‍टको अधीनमा गराउनुहुने परमेश्‍वर आफैँचाहिँ त्यस अधीनमा हुनुहुन्‍न। जब परमेश्‍वरले सबै कुरा ख्रीष्‍टको अधीनमा गराउनुहुन्छ, तब पुत्र आफैँ पनि पिताको अधीनमा हुनुहुनेछ, जसले सबै कुरा ख्रीष्‍टको अधीनमा राखिदिनुभएको छ, ताकि परमेश्‍वर सबै कुरामा सर्वेसर्वा होऊन्।

1 कोरिन्थी 15 पढ्नुहोस्