YouVersion लोगो
खोज आइकन

इतिहासको दोस्रो पुस्तक 20:2-17

इतिहासको दोस्रो पुस्तक 20:2-17 NERV

केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” (हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।) यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे। यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए। यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए। तिनले भने, “हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन। तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए। अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे। तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’ “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्। तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो। हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।” यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए। तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। (बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए।) यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माझमा। यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत नहोऊ, चिन्ता नलेउ किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो। भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरुभूमिको अर्को छेऊमा भएको बेंसीको छेउमा भेट्नेछौ। यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।’”