येशू फेरि नाउमा चढेर तालको पारिपट्टि आफू बसेको सहरमा फर्केर जानुभयो अनि मानिसहरूले पक्षघात भएको मानिसलाई ओछ्यानमै बोकेर उहाँकहाँ ल्याए। ती मानिसहरूको विश्वास देखेर येशूले त्यस रोगीलाई भन्नुभयो, “ए छोरा, साहस गर, तिम्रो पाप क्षमा भएको छ।” येशूले भन्नुभएको यो कुरा सुनेर केही धर्म-गुरुहरूले मनमनै सोच्न लागे, “यसले त परमेश्वरको निन्दा पो गर्दोरहेछ।” तिनीहरूको मनको कुरा बुझेर येशूले भन्नुभयो, “तिमीहरू मनमा किन यस्तो नराम्रो विचार लिन्छौ? अब भन त, यस मानिसलाई ‘तिम्रो पाप क्षमा भयो’ भन्नु र ‘उठेर हिँड’ भन्नुमा कुनचाहिँ सजिलो होला? तर हेर, यस पृथ्वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ।” अनि उहाँले त्यस बिरामीलाई भन्नुभयो, “अब उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” तब त्यो मानिस जुरुक्कै उठेर घरतिर लाग्यो। यो अचम्मको काम देखेर ती मानिसहरू डराए। परमेश्वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा तिनीहरूले उहाँकै प्रशंसा गरे। त्यहाँबाट गइरहँदा येशूले एक जना मत्ती भन्ने कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तब मत्ती उठेर उहाँको पछि लागे। येशू चेलाहरूसँगै मत्तीको घरमा पाहुना भएर खान बस्नुभयो। उहाँका पछि लाग्नेहरू धेरै जना कर उठाउने र अरू पापीहरू पनि उहाँहरूसँगै खान बसे। यो देखेर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले उहाँका चेलाहरूलाई भने, “यो के हो? तिमीहरूका गुरु त कर उठाउने र अरू पापीहरूसँगै बसेर खाँदा रहेछन्!” तिनीहरूले गरेको कुरा सुनेर येशूले यसरी जवाफ दिनुभयो, “वैद्य त निरोगीहरूलाई होइन, तर बिरामीहरूलाई पो चाहिन्छ। तिमीहरू धर्मशास्त्रमा लेखिएको यो कुराको अर्थ बुझ्न खोज– ‘पशुबलि होइन, तिमीहरूले दया गरेको पो म चाहन्छु।’ म त धर्मीलाई होइन, तर पापीहरूलाई पो बचाउन भनी आएको हुँ।” त्यसपछि बप्तिस्मा दिने यूहन्नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामी र फरिसीहरू घरीघरी उपवास बस्छौं, खै तपाईंका चेलाहरू भने उपवास बस्दैनन्, किन?” येशूले जवाफ दिनुभयो, “के विवाहको भोजमा दुलहा तिनीहरूसित छउञ्जेल जन्तीहरूले विलाप गरेर उपवास बस्छन् र? तर त्यस्ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्याइनेछ, तब पो तिनीहरू उपवास बस्नेछन्। “फेरि पुरानो लुगालाई कसैले पनि नयाँ टालोले टाल्दैन। नत्र नयाँ टालो खुम्चिएर लुगा च्यातिन्छ र झन् ठूलो प्वाल पो पारिदिन्छ। “यसै गरी ताजा दाखमद्य ल्याएर पुरानो छालाको थैलोमा राखिंदैन! यदि राखियो भने छालाको थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलोमा नै राखिन्छ अनि दुवै जोगिन्छन्।”
मत्ती 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 9:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू