“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू त कपटी छौ। तिमीहरूले अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ र परमेश्वरको आज्ञामा लागिरहेका पवित्र जनहरूका चिहानहरू पनि सिङ्गार्छौ अनि तिमीहरू भन्छौ, ‘उहिले हाम्रा पिता-पुर्खाहरूले त अगमवक्ताहरूलाई मारे। तर हामीहरू पनि उनीहरूको साथमा भएको भए हामीहरूले चाहिँ त्यस्तो काम गर्न उनीहरूलाई सहायता गर्ने थिएनौं।’ यसो भनेर तिमीहरू आफैंलाई ती अगमवक्ताहरूलाई मार्नेकै सन्तान हौं भनी स्वीकार गर्छौ! अब तिमीहरूका पुर्खाहरूले सुरु गरेको काम पूरा गर! “ए सर्पहरू र विषालु सर्पका सन्तानहरू हो! तिमीहरू कसरी नरकको आगोबाट उम्कने आशा राख्छौ? अब राम्ररी सुन, म तिमीहरूकहाँ अगमवक्ता, बुद्धिमान् मानिस र सत्य धर्म-गुरुहरूलाई पठाउनेछु। तिनीहरूमध्ये तिमीहरूले कतिलाई मार्नेछौ, कतिलाई क्रूसमा टाँग्नेछौ अनि कतिलाई चाहिँ सभाघरहरूमा कोर्रा लाउनेछौ र कतिलाई एउटा सहरबाट अर्को सहरसम्म खेद्नेछौ। यसले गर्दा निर्दोष हाबिलदेखि मन्दिर र चोकमा भएको वेदीको बीचमा मारिएका बेरेक्याहका छोरा जकरियासम्मको दोष तिमीहरूमाथि पर्नेछ। साँच्चै म तिमीहरूलाई भन्छु, यी सबैको दोष यस पुस्ताको थाप्लोमा नै पर्नेछ। “यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्वरले पठाएकाहरूलाई ढुङ्गाले हान्छस्। कुखुराको पोथीले चल्लाहरूलाई छोपेजस्तै मैले कतिपल्ट तेरा छोरा-छोरीहरूलाई जोगाउन खोजें, तर तैँले मानिनस्। हेर्, तेरो घर त्यागिनेछ र उजाड हुनेछ। अब म भन्छु, जबसम्म तैँले ‘परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ’ भन्दैनस्, तबसम्म तैँले मलाई देख्नेछैनस्।”
मत्ती 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 23:29-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू