परमप्रभु भन्नुहुन्छ, “निगाहको समयमा म तँलाई जवाफ दिनेछु र उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु। देश पुनर्स्थापित गर्न र त्यसको उजाड पारेको पैतृक धन-सम्पत्ति फेरि अधिकारमा ल्याउन म तँलाई जोगाइराख्नेछु र तँद्वारा मानिसहरूसित एउटा करार बाँध्नेछु। कैदीहरूलाई म यसो भन्नेछु, “तिमीहरू फुक्का भयौ र अब जाओ!” अन्धकारमा भएकाहरूलाई म भन्नेछु, “उज्यालोमा आओ!” तिनीहरू डाँडाहरूमा चर्ने भेडाहरूझैँ हुनेछन्। तिनीहरू कहिल्यै भोका र प्यासा हुनेछैनन्। घाम र मरुभूमिको चौपट्टै गर्मीले तिनीहरूको केही हानि गर्नेछैन किनभने तिनीहरूलाई माया गर्नुहुनेले तिनीहरूलाई डोर्याउनुहुनेछ। उहाँले तिनीहरूलाई पानीका फोहोरामा डोर्याई लैजानुहुनेछ। “पर्वतहरू वारपार गरी म एउटा राजमार्ग बनाउनेछु र मेरा मानिसहरू हिँड्न एउटा मूलबाटो तयार पार्नेछु। टाढा-टाढाबाट, उत्तर र पश्चिम दिशाबाट र दक्षिणमा आश्वानबाट मेरा मानिसहरू आउनेछन्।” हे आकाश गीत गाऊ! हे पृथ्वी आनन्दले सोर उठाऊ! पर्वतहरूले गला खोलेर गीत गाऊन्! परमप्रभुले आफ्ना कष्ट पाएका प्रजामाथि कृपा गर्नुहुनेछ र तिनीहरूलाई सान्त्वना दिनुहुनेछ। तर यरूशलेमका मानिसहरूले भने: “परमप्रभुले हामीलाई त्याग्नुभएको छ! उहाँले हामीलाई बिर्सनुभएको छ। यसकारण परमप्रभुले यस्तो उत्तर दिनुहुन्छ: “के आमाले आफ्नो दूधेबालकलाई भुल्न सक्छे? र आफूले जन्माएका बालकलाई माया गर्न छोड्छे? तर आमाले आफ्नो बालकलाई भुले पनि म तिमीहरूलाई कहिल्यै भुल्नेछैनँ। हे यरूशलेम, म तँलाई कहिल्यै भुल्न सक्दिनँ! मैले तेरो नाम आफ्नो हत्केलामा लेखेको छु। “तेरा छोराहरू चाँडै आउँदै छन् र तँलाई नाश गर्नेहरू बिदा हुँदै छन्। चारैतिर आँखा उचाल् र के भइरहेको छ, हेर्! तेरा मानिसहरू जम्मा हुँदै छन्, तिनीहरू घर आउँदै छन्! म जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी म भन्दछु र तैँले आफ्ना मानिसहरूमा गर्व गर्नेछस्, दुलहीले आफ्ना गहनामा गर्व गरेझैँ तैँले तिनीहरूमा गर्व गर्नेछस्। “तेरो देश नष्ट भएर उजाड भएको थियो, तर अब त्यो त्यहाँ बसोबास गर्न आउनेहरूको निम्ति सानो नै हुनेछ तर जसले तँलाई नष्ट पारेर छोडे, तिनीहरू तँबाट धेरै टाढा हटिजानेछन्।” विदेशका कैदमा जन्मेका तेरा सन्तानहरूले एक दिन तँलाई यसो भन्नेछन्: “यो ठाउँ साह्रै सानो छ, हामी बसोबास गर्न अरू जग्गा चाहिन्छ!” तब तैँले आफ्ना मनमा भन्नेछस्, “कसले मेरो लागि यी सबै सन्तान जन्मायो? मैले मेरा छोरा-छोरीहरू गुमाएँ र अरू जन्माउन सकिनँ। म विदेशमा कैदी बनाइएर धपाइएँ, कसले यी छोरा-छोरीहरूलाई हुर्कायो? म त एक्लै थिएँ, यी छोरा-छोरीहरू कताबाट आए’?” सार्वभौम परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ: “म जाति-जातिलाई इशारा गर्नेछु र तिनीहरूले तेरा छोरा-छोरीहरूलाई बोकेर ल्याउनेछन्। तेरा निम्ति राजाहरू बुबाझैँ र रानीहरू आमाझैँ हुनेछन्। तिनीहरूले तेरो अघि भूइँसम्म निहुरेर तँलाई आदर दिनेछन्। नम्र भएर तिनीहरूले तँप्रति आफ्नो आदर देखाउनेछन्। तब तैँले जान्नेछस् कि म परमप्रभु हुँ र मेरा आशाको बाटो हेर्नेहरू निराश हुनेछैनन्।” के तैँले एउटा सिपाहीबाट त्यसले लुटेको धन खोस्न सक्छस्? अत्याचारीका हातबाट त्यसका कैदीहरूलाई छुटकारा दिन सक्छस्? परमप्रभु जवाफ दिनुहुन्छ, “ठीक त्यस्तै हुनेछ; सिपाहीका कैदीहरू छुटाइनेछन्, अत्याचारीका लुटको धन खोसिनेछ। जो तँसित लड्छ, त्योसित म लड्नेछु र तेरा छोरा-छोरीहरूको उद्धार गर्नेछु।
यशैया 49 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 49:8-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू