YouVersion लोगो
खोज आइकन

यशैया 43:1-19

यशैया 43:1-19 सरल नेपाली

हे इस्राएल, तेरो सृजना गर्ने परमप्रभु यसो भन्‍नुहुन्‍छ, “नडरा, मैले तँलाई उद्धार गरेको छु। मैले तँलाई नाम लिएर बोलाएको छु, तँ मेरो होस्। तँ गहिरो पानीबाट भएर जाँदा म तँसित हुनेछु। तेरा कष्‍टले तँलाई अत्‍याउनेछैन। तँ आगोको बीचबाट भएर जाँदा जल्‍नेछैनस्। तँमाथि आइपर्ने कठोर कठिनाइले तेरो हानि गर्नेछैन किनभने म परमप्रभु तेरा परमेश्‍वर हुँ, इस्राएलका पवित्र परमेश्‍वर, जसले तँलाई बचाउँछ। म तँलाई छुटकारा दिन मिश्रदेश, तेरो सट्टामा कूश र सेबा देशहरू दिनेछु। तेरो प्राण बचाउन तेरो सट्टामा म सबै जातिहरू दिनेछु किनभने तँ मेरो निम्‍ति अति बहुमूल्‍य छस्। अनि मैले तँलाई आदर दिएको छु र प्रेम गर्दछु। नडरा, म तँसित छु! “पूर्व र पश्‍चिमका देशबाट म तेरा सन्‍तानहरूलाई बटुलेर घर ल्‍याउनेछु। तिनीहरूलाई छोडिदिन म उत्तर दिशालाई भन्‍नेछु र तिनीहरूलाई नरोक्‍न दक्षिण दिशालाई भन्‍नेछु। मेरा सन्‍तानहरू टाढा देशबाट, संसारका हरेक कुनाबाट फर्किआऊन्। तिनीहरू मेरा आफ्‍नै सन्‍तानहरू हुन्। मेरै महिमा ल्‍याउन मैले तिनीहरूको सृजना गरें।” परमेश्‍वर भन्‍नुहुन्‍छ, “मेरा प्रजालाई अदालतमा हाजिर गर, आँखा छँदाछँदै पनि तिनीहरू अन्‍धा छन्। कान छन् तर पनि तिनीहरू बहिरा छन्! मुद्दामा सबै जातिहरूलाई हाजिर गराओ। तीमध्‍ये कसले भविष्‍यका कुरा बताउन सक्‍छ? वा अहिले के भइरहेको छ, सो अघिबाट बताएको थियो? आफू ठीक छौ भनी प्रमाण दिनलाई र आफ्‍ना शब्‍द सत्‍य छन् भनी साक्षी दिन लाउनलाई तिनीहरूले आ-आफ्‍ना साक्षीहरू ल्‍याऊन्। “हे इस्राएलका मानिसहरू हो, तिमीहरू मेरा साक्षी हौ। तिमीहरूले मलाई चिन र विश्‍वास गर र म एक मात्र परमेश्‍वर हुँ भनी बुझ भनेर मैले तिमीहरूलाई मेरा सेवक हुनलाई छानें। मबाहेक अरू कोही परमेश्‍वर छैन, त्‍यस्‍तो कहिल्‍यै थिएन र कहिल्‍यै हुने पनि छैन। “म एक मात्र परमप्रभु हुँ, मबाहेक बचाउन सक्‍ने अरू कोही पनि छैन। के-के हुनेछ, त्‍यो मैले अघिबाटै भनें र तिमीहरूलाई मद्दत गर्न आएँ। कुनै विदेशी देवताले त्‍यसो कहिल्‍यै गरेको छैन– तिमीहरू मेरा साक्षी हौ। म परमेश्‍वर हुँ र सदा रहिरहनेछु। कोही मेरो शक्तिबाट भाग्‍न सक्‍दैन, कसैले मेरो काम बदल्‍न सक्‍दैन।” इस्राएलका पवित्र परमेश्‍वर, तिमीहरूलाई बचाउनुहुने परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूलाई बचाउन म बेबिलोनको विरुद्धमा एउटा सेना पठाउनेछु, म सहरका मूल-ढोकाहरू फोडिदिनेछु र त्‍यहाँका मानिसहरूको सोर रुवाइमा फेरिनेछ। म परमप्रभु, तिमीहरूका पवित्र परमेश्‍वर हुँ। हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूको सृष्‍टि गरें, म तिमीहरूको राजा हुँ।” उहिल्‍यै परमप्रभुले सागर बीचबाट भएर जाने एउटा बाटो बनाउनुभयो, उर्लंदो पानीको बीच भएर जाने एउटा मार्ग। एउटा शक्तिशाली सेनालाई रथ र घोडाहरूका सेनालाई उहाँले नाश पार्नुभयो। तिनीहरू कहिल्‍यै नउठ्‍ने गरी लोटे, दियोको ज्‍वाला निभाएझैँ तिनीहरू निभाइए! तर परमप्रभु भन्‍नुहुन्‍छ, “बितेका कुराहरू याद नगर, उहिलेका घटनाहरू सम्‍झिनबस्। मैले के नयाँ कुरा गर्दै छु, त्‍यो हेर। त्‍यो कुरा भइरहेको छ, त्‍यो अहिले तिमीहरू देख्‍न सक्‍छौ! म उजाड-भूमिका बीचबाट एउटा बाटो निकाल्‍नेछु, त्‍यहाँ खोला बहाउनेछु।

यशैया 43 पढ्नुहोस्