YouVersion लोगो
खोज आइकन

यशैया 36:4-21

यशैया 36:4-21 सरल नेपाली

के कुराले हिजकिया राजालाई ढुक्‍कै पार्‍यो, त्‍यो राजाले जान्‍न चाहनुहुन्‍छ भनी अश्‍शूरी सेनापतिले तिनीहरूलाई भने। तिनले सोधे, “के शब्‍दले सैनिक निपुणता र शक्तिको ठाउँ लिन सक्‍छ भनी तिमीहरू ठान्‍छौ? कसले तिमीलाई अश्‍शूरका विरुद्धमा विद्रोह गर्न मद्दत गर्छ भनी तिमीहरू भन्‍ठान्‍छौ? मिश्रले तिमीहरूलाई मद्दत गर्छ भनी तिमीहरू आशा गर्दछौ, त्‍यो त फुटेको निगालाको लट्ठी टेकेजस्‍तो मात्र हुन्‍छ– त्‍यो भाँचिएर तिमीहरूकै हातमा रोपिनेछ। कोही मिश्रका राजामाथि भर पर्छ भने, त्‍यस्‍तै हुन्‍छ।” अश्‍शूरी सेनापतिले कुरा अघि बढाए, “तिमीहरू परमप्रभु तिम्रा परमेश्‍वरमा भर परेका छौ भनी तिमीहरू मलाई भन्‍छौ? हिजकियाले यरूशलेमको वेदीमा मात्र आराधना गर्न यहूदा र यरूशलेमका मानिसहरूलाई भनेको बेलामा तिनले परमप्रभुकै आराधना र वेदीहरू नाश पारेका थिए। महाराजाको नाममा म तिमीहरूसित एउटा बाजी राख्‍छु। तिमीहरूले घोडा चढ्‍न सक्‍ने दुई हजार पुरुष निकाल्‍यौ भने म तिमीहरूलाई दुई हजार घोडाहरू दिनेछु। तिमीहरू सबैभन्दा तल्‍लो दर्जाका अश्‍शूरी अधिकृतको पनि दाँजोमा छैनौ अनि कसरी मिश्रीहरूले तिमीहरूलाई रथ र घोडचढी सेना पठाइदिन्‍छन् भनी आशा गर्छौ। के मैले परमप्रभुको सहायताबिना गरेको हो भनी तिमीहरू सोच्‍दछौ? परमप्रभु आफैंले तिम्रो देशलाई हमला गरी नाश गर्न मलाई भन्‍नुभएको हो।” तब एल्‍याकीम, शेब्‍ना र योआले ती सेनापतिलाई भने, “हामीसित अरामी भाषामा बोल्‍नुहोस्। हामी अरामी बुझ्‍छौं। हिब्रू भाषामा नबोल्‍नुहोस्। पर्खालमा भएका सबै मानिसहरूले हाम्रा कुरा सुन्‍दैछन्।” तिनले जवाफ दिए, “तिमीहरू के यो सोच्‍दछौ कि राजाले मलाई यी कुरा राजा र तिमीहरूलाई मात्र भन्‍न पठाएका हुन्? होइन, पर्खालमा बसेका मानिसहरूसँग पनि म बोल्‍दै छु। तिनीहरूले पनि तिमीहरूजस्‍तै आफ्‍नो मल खानु र आफ्‍नो मूत्र पिउनुपर्नेछ।” तब ती सेनापतिले उभिएर हिब्रू भाषामा जोडले भने, “अश्‍शूरका महाराजाले तिमीहरूलाई के भन्‍दै छन्, त्‍यो तिमीहरू सुन। तिमीहरूलाई हिजकियाका छलमा नपर्न राजाले चेतावनी दिँदै छन्। हिजकियाले तिमीहरूलाई बचाउन सक्‍दैन। परमप्रभुमा भर पर्नुपर्छ भन्‍ने तिनको कुरा नपत्‍याओ। परमप्रभुले तिमीहरूलाई बचाउनुहुनेछ र हाम्रा अश्‍शूरी सेनालाई तिम्रा सहर कब्‍जा गर्न दिनुहुन्‍न भनी नसोच। हिजकियाका कुरा नसुन! सहरबाट निस्‍किआएर समर्पण गर्न अश्‍शूरका राजाले तिमीहरूलाई आज्ञा गरेका छन्। त्‍यस बेलासम्‍म तिमीहरू आफ्‍नो बारीका दाख र नेभारा खान अनि आफ्‍नै कुवाका पानी पिउन पाउनेछौ, जबसम्‍म राजाले तिमीहरूलाई तिमीहरूका जस्‍तै अर्को एउटा देशमा बसाल्‍नेछैनन्। त्‍यहाँ दाखमद्य दिने दाखबारी र रोटी बनाउन अन्‍न हुनेछन्। परमप्रभुले हाम्रो रक्षा गर्नुहुन्‍छ भनी सोच्‍ने मूर्खहरू तिमीहरूलाई हिजकियाले बचाउन नसकोस्। के अरू कुनै देशमा देवी-देवताहरूले ती देशलाई अश्‍शूरका राजाका हातबाट बचाए? अहिले ती देवी-देवताहरू कहाँ छन्? हमात र अर्पादका देवी-देवताहरू कहाँ छन्? सपर्बेमका देवी-देवताहरू कता गए? के कसैले सामरियालाई बचायो? यी सबै देशका कुन देवताले कहिल्‍यै ती देशहरूलाई हाम्रा राजाका हातबाट बचाए? तब परमप्रभुले यरूशलेमलाई बचाउनुहुन्‍छ भनी तिमीहरू कसरी सोच्‍न सक्‍छौ?” मानिसहरू चुप भए। हिजकिया राजाले तिनीहरूलाई त्‍यसरी नै चुप रहन भनेका थिए। तिनीहरूले एउटै शब्‍द बोलेनन्।

यशैया 36 पढ्नुहोस्