YouVersion लोगो
खोज आइकन

यशैया 14:1-15

यशैया 14:1-15 सरल नेपाली

परमप्रभुले फेरि एक पल्‍ट इस्राएलका मानिसहरूलाई कृपा गर्नुहुनेछ र आफ्‍ना प्रजा छान्‍नुहुनेछ। तिनीहरूलाई तिनीहरूको आफ्‍नो देशमा बास गर्न दिनुहुनेछ। त्‍यहाँ विदेशीहरू आई तिनीहरूसित मिल्‍नेछन् र याकूबका सन्‍तानसँग एक हुनेछन्। धेरै जातिहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा फर्कन सहायता गर्नेछन् र त्‍यस देशमा राष्‍ट्र-राष्‍ट्रका मानिस चाकर भई तिनीहरूको सेवा गर्नेछन्। ज-जसले एक चोटी इस्राएललाई कब्‍जा गरेथे, अब इस्राएलले तिनीहरूलाई कब्‍जा गर्नेछन्। इस्राएलीहरूले अघि एक चोटी आफूलाई अत्‍याचार गर्ने मानिसहरूमाथि राज्‍य गर्नेछन्। परमप्रभुले इस्राएलका प्रजालाई दु:ख-कष्‍ट र तिनीहरूले गर्नुपरेको कठिन परिश्रमबाट छुटकारा दिनुहुनेछ। त्‍यसो भएको दिन तिनीहरूले बेबिलोनका राजालाई यसो भन्‍दै गिल्‍ला गर्नेछन्, “निष्ठुर राजा लड्यो! त्‍यसले फेरि कसैलाई अत्‍याचार गर्नेछैन! परमप्रभुले ती दुष्‍ट राजाहरूको बलको अन्‍त गरिदिनुभयो। जसले रिसमा प्रजाहरूमाथि अत्‍याचार गर्दथे र आफूले जितेका राष्‍ट्रहरूलाई कहिल्‍यै सताउन छोडेका थिएनन्। अन्‍तमा सारा संसार अब विश्राम र शान्‍तिमा रमाउनेछ। हरेक व्यक्तिले खुसीले गाउनेछ। सल्‍लाका रूखहरू र लेबनानका देवदारुका रूखहरू राजा पतन भएकोमा रमाउनेछन् किनभने उनी मरेकाले अब उसो ती रूखहरू काटी ढालिनेछैनन्। “मरेकाहरूका देशले बेबिलोनका राजालाई स्‍वागत गर्न तयारी गर्दै छ। पृथ्‍वीका शक्तिशाली अगुवाहरूका आत्‍माहरू यताउता घुमिरहेका छन्। राजाहरूका आत्‍माहरू सिंहासनबाट उठ्दै छन्। तिनीहरूले उसलाई यसो भन्‍दछन्, ‘तिमी अब हामीजस्‍तै दुर्बल भएका छौ! तिमी हामीजस्‍तै भयौ! वीणा बजाएर तिम्रो सम्‍मान गरिन्‍थ्‍यो तर अब यहाँ मृत्‍यु-लोकमा आइपुगेका छौ। औँसा तिम्रो ओछ्यान र किरा तिम्रो ओढ्‍ने भएको छ’।” हे बेबिलोनका राजा, बिहानको चम्‍किलो तारा, प्रभातको पुत्र तँ आकाशबाट खसिस्‌! अघि तैँले जाति-जातिलाई जितिस्‌ तर अहिले आफैं भूइँमा ढलेको छस्‌। तैँले स्‍वर्गमा पुग्‍ने र सबैभन्दा अग्‍लो ताराभन्दा पनि अरू उच्‍चमा आफ्‍नो सिंहासन राख्‍ने पक्‍का विचार गरेको थिइस्‌। उत्तरमा देव-देवता भेला हुने पर्वतमा राजाजस्‍तै विराजमान् गर्छु भन्‍ने विचार गरेको थिइस्‌। बादलको माथि चढी सर्वशक्तिमान् बराबर हुन्‍छु भनी तैँले ठानेका थिइस्‌। तर त्‍यसको सट्टामा तँ मृत्‍यु-लोकको सबैभन्दा गहिरो ठाउँमा झारिएको छस्‌।

यशैया 14 पढ्नुहोस्