इजकिएल 39
39
गोगको हार
1सार्वभौम परमप्रभुले भन्नुभयो, “ए मरणशील मानिस, मेशेक र तूबल जातिहरूको मुख्य शासक गोगको विरुद्धमा बोल् र त्यसलाई भन् कि म त्यसको विरुद्धमा छु। 2म त्यसलाई उत्तरको टाढा ठाउँबाट निकालेर फनक्क फर्काई इस्राएलका पहाडहरूमा ल्याउनेछु। 3त्यसपछि त्यसको बायाँ हातबाट धनु र दायाँ हातबाट काँडहरू खसालिदिनेछु। 4गोग र त्यसको सेना र आफ्नो साथमा भएका मानिसहरू इस्राएलका डाँडाहरूमा मर्नेछन् र तिनीहरूका लाशहरू हरेक थरिका पक्षीहरू र जङ्गली पशुहरूका आहार बनाउनेछु। 5तिनीहरू खुल्ला मैदानमा मर्नेछन्। म सार्वभौम परमप्रभु बोलेको छु। 6मागोग देश र समुद्र किनारमा ढुक्क भई बसेका मानिसहरूमाथि म आगो लाइदिनेछु र सबैले परमप्रभु म नै हुँ भनी जान्नेछन्। 7मेरो प्रजा इस्राएललाई मेरो पवित्र नाम जनाउनेछु र म मेरो नामको बेइज्जत फेरि हुन दिनेछैनँ। तब ‘म परमप्रभु नै इस्राएलका पवित्र परमेश्वर हुँ’ भनी जातिहरूले जान्नेछन्।”
8सार्वभौम परमप्रभुले भन्नुभयो, “मैले भनेको दिन निश्चय नै आउनेछ। 9इस्राएलका सहरहरूमा बसोबास गर्ने मानिसहरू बाहिर निस्केर फ्याँकिरहेका हात-हतियारहरू दाउराको रूपमा बाल्न बटुल्नेछन्। तिनीहरूले ढाल, धनु-काँड, भाला र मुङ्ग्राहरूको आगो बाल्नेछन् र त्यसरी बटुलेको हात-हतियार सात वर्षसम्म आगो बाल्न पुग्नेछ। 10तिनीहरूले जङ्गल वा मैदान-बाट दाउरा बटुल्न वा रूख काट्न पर्नेछैन किनभने दाउरा बाल्न तिनीहरूसित प्रशस्तै हतियारहरू हुनेछन्। त्यसरी नै तिनीहरूले आफूलाई लुटपिट गर्नेहरूलाई लुटपिट गर्नेछन्।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
गोगलाई गाड्ने काम
11परमप्रभुले भन्नुभयो, “जब यी सबै कुरा भइसक्नेछन् तब इस्राएलमा मृत सागरको पूर्वपट्टि यात्रीहरूको बेसीमा गोगको मुर्दा गाड्ने एउटा जग्गा दिनेछु। त्यो र त्यसका सारा सेना त्यहीँ गाडिनेछन् र त्यस बेसीको नाम ‘गोगका सेनाको बेसी’ कहलिनेछ। 12ती लाशहरू गाडिसक्न र देश सफा पार्न इस्राएलीहरूलाई सात महिना लाग्नेछ। 13देशमा भएका हरेक मानिसले मुर्दाहरू गाड्न सघाउनेछन् र मैले विजय पाएको दिन तिनीहरूलाई आदर गरिनेछ। म सार्वभौम परमप्रभु बोलेको छु। 14ती सात महिना बितेपछि अझै पनि बाँकी रहेका लाशहरू खोजेर गाड्नलाई मानिसहरू चुनेर देशभरि पठाइनेछन् र तिनीहरूले देश सफा पार्नेछन्। 15तिनीहरू देशको चारैतिर जानेछन् र कतै मानिसको हाड भेटाए भने त्यसको छेउमा एउटा चिनो लाउनेछन् र चिहान खन्नेहरू आएर त्यो हाड गोगका सेनाको बेसीमा गाड्नेछन्। 16(त्यहाँ सेनाको नाममा राखिएको एउटा सहर हुनेछ) यसरी त्यो देश फेरि सफा पारिनेछ।”
17 #
प्रकाश 19:17,18 सार्वभौम परमप्रभुले मलाई भन्नुभयो, “ए मरणशील मानिस, मैले तयार पारेको बलिदान खान चारैतिरबाट सबै प्रकारका पशु-पक्षीहरूलाई बोला। इस्राएलका डाँडाहरूमाथि एउटा ठूलो भोज लाग्नेछ। त्यहाँ तिनीहरूले मासु खानेछन् र रगत पिउनेछन्। 18तिनीहरूले सेनाहरूका लाश खानेछन् र पृथ्वीका शासकहरूका रगत पिउनेछन्। ती सेना र शासकहरू सबै भेडा वा थुमा अथवा बोका वा मोटा साँढेझैँ मारिनेछन्। 19यी मानिसहरूलाई मैले बलिदान गर्दा मारेजस्तै पशु-पक्षीहरूले अघाउञ्जेल बोसो खानेछन् र मातिञ्जेल रगत पिउनेछन्। 20मेरो भोजमा तिनीहरू आफूले सकेसम्म घोडा र तीमाथि सवार गर्ने मानिसहरू र लडाइँ गर्ने विभिन्न सैनिकहरूका मासु खानेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।”
इस्राएलको पुनर्स्थापना
21परमप्रभुले भन्नुभयो, “जाति-जातिलाई म आफ्नो महिमा देखाउनेछु र मेरा न्यायका फैसलाहरू कसरी आफ्नो शक्तिले पूरा गर्दछु, त्यो म देखाउनेछु। 22त्यसपछि म नै तिनीहरूका परमप्रभु हुँ भनी इस्राएलीहरूले जान्नेछन्। 23इस्राएलीहरूले मेरो विरुद्धमा गरेका पापका कारणले कैदी भई विदेशमा लगिएका थिए भनी जाति-जातिहरूले जान्नेछन्। मैले तिनीहरूबाट आफ्नो मुख लुकाएँ, तिनीहरूलाई शत्रुबाट हराएँ र लडाइँमा मारिनदिएँ। 24मैले तिनीहरूलाई तिनीहरूका अपवित्रता र दुष्ट्याइँअनुसारको दण्ड दिएँ। मेरो मुख मैले तिनीहरूबाट लुकाएँ।”
25सार्वभौम परमप्रभुले भन्नुभयो, “तर, अब म याकूबका सन्तान अथवा इस्राएलका मानिसहरूमाथि कृपा गर्नेछु र फेरि तिनीहरूको फलिफाप गराउनेछु। म आफ्नो पवित्र नामको रक्षा गर्नेछु। 26फेरि एक चोटि तिनीहरू आफ्नै देशमा सुरक्षासाथ बसोबास गर्नेछन् र सबैले तिनीहरूलाई भयभीत पार्नेछैनन्। त्यस दिन तिनीहरूले मसित धोकाबाजी गर्दा पाएको बेइज्जती भुल्नेछन्। 27म पवित्र छु भनी जाति-जातिलाई देखाउन मेरा प्रजालाई तिनीहरूका शत्रुका देशबाट फर्काई ल्याउनेछु। 28तब मेरा प्रजाले ‘म परमप्रभु तिनीहरूका परमेश्वर हुँ’ भनी जान्नेछन्। यो तिनीहरूले जान्नेछन् किनभने मैले नै तिनीहरूलाई कैदमा पठाएँ र अब म तिनीहरूका एक जना पनि नछोडी जम्मा गरेर तिनीहरूकै देशमा फर्काई ल्याउनेछु। 29म इस्राएल जातिमाथि आफ्नो आत्मा खन्याउनेछु र फेरि कहिल्यै पनि तिनीहरूबाट आफ्नो मुख लुकाउनेछैनँ। म सार्वभौम परमप्रभु बोलेको छु।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 39: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.