“सङ्कल्प गर र भरोसा राख। अश्शूरी महाराजा वा उनका अगुवाइमा आउने सेनाको डर नमान। उनीपट्टि भन्दा हामीपट्टि धेरै शक्ति छ। उनीसित मानवशक्ति छ तर हामीसित परमप्रभु, हाम्रा परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई मद्दत दिनुहुन्छ र हाम्रो लडाइँ लडिदिनुहुन्छ।” राजाका यी शब्दले मानिसहरूको हौसला बढ्यो। केही समयपछि सनहेरीब र तिनका सेना लाकीशमै हुँदा हिजकिया र तिनीसित यरूशलेममा भएका यहूदावासीहरूलाई सनहेरीबले यस्तो खबर पठाए: “म अश्शूरका महाराजा, सनहेरीब यो प्रश्न गर्दछु कि के कुराको भरोसामा तिमीहरू घेरामा परेका यरूशलेममा बस्न साहस गर्दछौ? परमप्रभु तिम्रा परमेश्वरले हाम्रा शक्तिबाट तिमीहरूलाई बचाउनेछन् भनी हिजकियाले भन्छन् होला; तर हिजकियाले तिमीहरूलाई छल्दै छन् र भोक र तिर्खाले मर्न लाउनेछन्। परमप्रभुको आराधना-स्थल र वेदीहरू नाश गर्ने अनि यहूदा र यरूशलेमका मानिसहरूलाई खालि एउटै वेदीमा मात्र आराधना गर्नू र धूप जलाउनू भन्ने उनी नै हुन्। म र मेरा पिता-पुर्खाले अरू जातिका मानिसहरूलाई के गरे, के त्यो तिमीहरू जान्दैनौ? के अरू कुनै जातिका देवताले ती मानिसहरूलाई अश्शूरका महाराजाका हातबाट बचाए? के ती सारा देशका कुनै देवताहरूले कहिल्यै हाम्रा हातबाट तिनीहरूका देश बचाएका थिए? तब तिम्रा परमेश्वरले तिमीहरूलाई बचाउनेछन् भनी कसरी सोच्दछौ? अब हिजकियाले तिमीहरूलाई त्यसरी धोका दिन र गलत बाटोमा लैजानदेखि आफैंलाई जोगाओ। उनका कुरामा पत्यार नगर! कुनै जातिका कुनै ईश्वरले कहिल्यै आफ्ना मानिसहरूलाई अश्शूरी महाराजाका हातबाट बचाउन सकेका छैनन्। त्यही प्रकारले तिम्रा परमेश्वरले पनि अवश्यै तिमीहरूलाई बचाउन सक्नेछैनन्!” अश्शूरी अधिकृतहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाबारे अझ नराम्रा कुराहरू भने। महाराजाले लेखेका चिट्ठीले परमप्रभु इस्राएलका परमेश्वरको अपमान भएको थियो। त्यसमा “जाति-जातिका देवताहरूले मेरो शक्तिबाट आफ्ना प्रजालाई बचाएका छैनन् न त हिजकियाका परमेश्वरले नै मबाट आफ्ना प्रजालाई बचाउन सक्नेछन्,” भनी लेखिएको थियो। सहरका पर्खालमा उभेका यरूशलेमका बासिन्दाहरूलाई तर्साउन र हताश गराउन ती अधिकृतहरूले यो कुरा हिब्रू भाषामा कराई-कराई सुनाए। त्यसरी तिनीहरूले यरूशलेम सजिलैसित कब्जा गर्न खोज्थे। यरूशलेमका परमेश्वरबारे पनि तिनीहरूले त्यसरी नै भने, जसरी अरू जातिहरूका देवताहरूबारे भन्थे। ती देवताहरू मानिसहरूका हातले बनाएका मूर्तिहरू मात्र थिए। तब हिजकिया राजा र आमोजको छोरो यशैया अगमवक्ताले परमेश्वरलाई प्रार्थना गरे र मद्दतको लागि उहाँलाई पुकारे। परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो र उनले अश्शूरी सेनाका सिपाही र अधिकृतहरूलाई मारे। बदनाम भएर राजा अश्शूर देशमा फर्किए। एक दिन आफ्नो देवताको मन्दिरमा राजा हुँदा उनकै केही छोराहरूले उनलाई तरवारले हानेर मारे। यस प्रकारले हिजकिया राजा र यरूशलेमका मानिसहरूलाई परमप्रभुले सनहेरीब, अश्शूरका महाराजाका शक्तिबाट र तिनीहरूका अरू शत्रुहरूबाट पनि बचाउनुभयो। उहाँले तिनीहरूलाई छिमेकीका सबै देशहरूसित शान्तिसँग बास गर्न दिनुभयो। धेरै मानिसहरू परमप्रभुलाई भेटी चढाउन र हिजकियालाई उपहार बोकेर यरूशलेममा आउँथे। त्यस बेलादेखि सबै जातिहरूले हिजकियालाई आदर गर्न थाले। त्यस बेलातिरै हिजकिया राजा बिरामी भए र झण्डै मरे। उनले प्रार्थना गरे र तँ निको हुनेछस् भनी परमप्रभुले तिनलाई एउटा चिन्ह दिनुभयो। तर हिजकिया अति घमण्डी भए। परमप्रभुले आफ्ना निम्ति जे-जति गर्नुभएको थियो, त्यसको निम्ति उनले परमेश्वरलाई धन्यवाद दिएनन्। त्यसकारण यहूदा र यरूशलेमले कष्ट भोग्नुपर्यो। तापनि अन्तमा हिजकिया र यरूशलेमका बासिन्दाहरू नम्र बने। यसकारण हिजकियाको मृत्यु नभएसम्म परमप्रभुले ती मानिसहरूलाई दण्ड दिनुभएन।
२ इतिहास 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 32:7-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू