YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:56-72

भजनसंग्रह 78:56-72 NNRV

तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे, र सर्वोच्‍चको विरुद्धमा बागी भए, र उहाँका कानूनहरू पालन गरेनन्‌। तिनीहरू आफ्‍ना पुर्खाहरूझैँ बेवफादार र विश्‍वासघाती बने, र भर पर्न नसकिने बिग्रेको धनुझैँ भए। तिनीहरूले डाँड़ाका थानहरूमा वेदी स्‍थापित गरी उहाँलाई क्रोधित तुल्‍याए, र तिनीहरूले आफ्‍ना मूर्तिहरूले उहाँलाई ईर्ष्‍यालु बनाए। जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ अत्‍यन्‍त क्रोधित हुनुभयो, र इस्राएलीहरूलाई पूर्ण रूपले इन्‍कार गर्नुभयो। उहाँले शीलोमा भएको पवित्र वासस्‍थान त्‍याग्‍नुभयो, त्‍यो पाल जो उहाँले मानिसहरूका बीचमा राख्‍नुभएको थियो। उहाँले आफ्‍नो शक्तिको सन्‍दूक शत्रुहरूका हातमा पठाइदिनुभयो, आफ्‍नो गौरव शत्रुहरूका हातमा जान दिनुभयो। उहाँले आफ्‍नो प्रजा तरवारलाई सुम्‍पनुभयो, र आफ्‍नो उत्तराधिकारका मानिसहरूसँग औधी रिसाउनुभयो। आगोले तिनीहरूका जवानहरू भस्‍म पारिए, र तिनीहरूका कन्‍याहरूका निम्‍ति विवाहको गीत भएन। तिनीहरूका पूजाहारीहरू तरवारले काटिए, र तिनीहरूका विधवाहरूले शोक मनाउन सकेनन्‌। तब परमप्रभु निद्राबाट बिउँझेझैँ बिउँझनुभयो, मद्यको उन्‍मादबाट बिउँझेको मानिसझैँ। उहाँले आफ्‍ना विरोधीहरूलाई तितरबितर पार्नुभयो, उहाँले उनीहरूलाई सदाको निम्‍ति शर्ममा पार्नुभयो। तब उहाँले योसेफका सन्‍तानलाई त्‍याग्‍नुभयो, उहाँले एफ्राइमको कुललाई छान्‍नुभएन। तर उहाँले यहूदाको कुललाई चुन्‍नुभयो, सियोन पर्वतलाई, जसलाई उहाँले प्रेम गर्नुभयो। उहाँले आफ्‍नो पवित्रस्‍थान उच्‍च स्‍वर्गझैँ बनाउनुभयो, र पृथ्‍वीजस्‍तै, जो उहाँले सदाको लागि स्‍थापित गर्नुभएको छ। उहाँले आफ्‍ना दास दाऊदलाई चुन्‍नुभयो, र तिनलाई भेड़ाहरूको गोठबाट लिनुभयो। भेड़ाहरूको रखवाली गर्ने कामबाट, उहाँले दाऊदलाई याकूबका सन्‍तान, र आफ्‍नो उत्तराधिकार इस्राएलको गोठालो हुनलाई ल्‍याउनुभयो। दाऊदले हृदयको ईमानदारीसाथ तिनीहरूलाई चराए, अनि निपुण हातले तिनीहरूको नेतृत्‍व गरे।