YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 105:12-22

भजनसंग्रह 105:12-22 NNRV

जब तिनीहरू गन्‍तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्‍यसमा पनि विदेशी थिए, तिनीहरू एक राष्‍ट्रबाट अर्को राष्‍ट्रमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भई हिँड्‌थे। उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्‍काउनुभयो, “मेरा अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।” उहाँले त्‍यस देशमा अनिकाल पठाउनुभयो, र अन्‍नका सारा आपूर्ति नै नष्‍ट गरिदिनुभयो। उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए। तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए, र तिनको गलामा फलामको जन्‍जीर लगाइदिए, जबसम्‍म तिनको वचन पूरा भएन, तथा परमप्रभुको वचनले तिनलाई सच्‍चा प्रमाणित गरेन। राजाले मानिस पठाएर तिनलाई छुटकारा गरिदिए, जनताका शासकले तिनलाई बन्‍धनबाट मुक्त गरे। राजाले तिनलाई आफ्‍नो राजभवनका प्रधान बनाए, र आफ्‍ना सबै सम्‍पत्तिका शासक तुल्‍याए, उनका राजकुमारहरूलाई तिनले चाहेजस्‍तो सिकाउनलाई, र उनका बुज्रुकहरूलाई ज्ञानका कुरा सिकाउनलाई।