त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो। यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो। भीड़ले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो। उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो।
त्यसपछि येशू डाँड़ामा उक्लनुभयो, र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो, र तिनीहरू उहाँकहाँ आए। आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो, र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो। ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात् गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो। अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, र थेदियस, सिमोन कनानी, र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।
त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन। जब येशूका परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्थे।
यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “त्यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ।”
तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ? कुनै राज्यको आपसमा फूट भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घरको पनि आपसमा फूट भयो भने त्यो घर टिक्न सक्नेछैन। यदि शैतानले शैतानकै विरुद्धमा खड़ा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त्य आइसकेको हुन्छ। कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्न सक्दैन जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिला बाँध्दैन। तब पो त्यसले उसको घर लुट्न सक्छ। साँच्चै, म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर-निन्दा क्षमा गरिनेछन्, तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ।’
उहाँले यो वचन भन्नुभयो, किनकि “उसमा अशुद्ध आत्मा छ” भनी तिनीहरूले भनेका थिए।