YouVersion लोगो
खोज आइकन

यशैया 61:1-8

यशैया 61:1-8 NNRV

परमप्रभु परमेश्‍वरका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न, कैदमा परेकाहरूलाई स्‍वतन्‍त्रता दिन र बन्‍धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ। परमप्रभुको प्रसन्‍नताको वर्ष, र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिन, र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्‍दरताको मुकुट, र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस्‌ भनेर परमप्रभुले नै रोप्‍नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्‌। तिनीहरूले पुराना भग्‍नावशेष पुनर्निर्माण गर्नेछन्‌। नष्‍ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्‍तौँदेखि भग्‍नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन्‌। परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्‌। अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्‍पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ। तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्‍ना उत्तराधिकारमा रमाउनेछन्‌। यसैकारण तिनीहरू आफ्‍नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्‍तको आनन्‍द तिनीहरूका निम्‍ति हुनेछ। “किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु।