YouVersion लोगो
खोज आइकन

यशैया 14:1-15

यशैया 14:1-15 NNRV

परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्‍नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्‍नै ठाउँमा बसाल्‍नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्‍नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्‍नेछन्‌। जाति-जातिहरूले तिनीहरूलाई लगेर तिनीहरूकै ठाउँमा पुर्‍याउनेछन्‌। इस्राएलका घरानाले परमप्रभुको देशमा उनीहरूलाई नोकर-नोकर्नीहरूको रूपमा अधिकार गर्नेछन्‌। तिनीहरूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैदी बनाउनेछन्‌। तिनीहरूलाई अत्‍याचार गर्नेहरूमाथि तिनीहरूले शासन गर्नेछन्‌। जब परमप्रभुले तिमीहरूको दु:ख, कष्‍ट र कठोर बन्‍धनबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ, तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: अत्‍याचारीको कसरी पतन भयो! त्‍यसको रीसको अन्‍त कसरी भयो! परमप्रभुले दुष्‍टहरूको लहुरो भाँचिदिनुभयो, शासन गर्नेहरूको राजदण्‍ड, जसले मानिसहरूलाई रीसमा लगातार हिर्काइरहन्‍थ्‍यो र रोक्‍न नसक्‍ने सतावटसाथ झोँकमा जाति-जातिहरूलाई दमन गर्थ्‍यो। सबै देशहरूले विश्राम र शान्‍ति पाएका छन्‌। तिनीहरू गाउन लागेका छन्‌। सल्‍लाका रूखहरू र लेबनानका देवदारुहरू तँलाई हेरी यसो भनेर रमाउँछन्, “तँ ढालिएकोदेखि यसो हामीलाई काट्‌न कोही रूख काट्‌ने आएको छैन।” तेरो आगमनमा तँलाई भेट्‌न चिहान पनि तेरो निम्‍ति चलमलाएको छ। त्‍यसले मरेर बिदा भइसकेका आत्‍माहरूलाई पनि तँलाई स्‍वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्‍यसले उनीहरूलाई आफ्‍ना सिंहासनबाट उठ्‌न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए। उनीहरू सबैले तँलाई जवाफ दिएर भन्‍नेछन्, “तँ पनि हामीजस्‍तै निर्बल भएको छस्‌। तँ हामीजस्‍तै भएको छस्‌।” तेरा सबै रवाफ त तेरा वीणाको गुञ्‍जनसँगै चिहानमा झारिएका छन्‌। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्‌ने भएका छन्‌। ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌। तैंले आफ्‍नो हृदयमा भनिस्, “म स्‍वर्गमा उक्‍लनेछु। परमेश्‍वरका ताराहरूभन्‍दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु। पवित्र पर्वतको सबैभन्‍दा उच्‍च टाकुरामा सभासद्‌को पर्वतमा म विराजमान हुनेछु। म बादलको टुप्‍पाभन्‍दा माथि उक्‍लनेछु, म आफूलाई सर्वोच्‍च परमेश्‍वर जत्तिकै बनाउनेछु।” तर तँ चिहानसम्‍म, खाड़लको तल्‍लो गहिराइसम्‍मै होच्‍याइस्‌।