अश्शूरका राजा र उनले ल्याएको यस ठूलो सेनाले तिमीहरूका हृदयमा त्रास नल्याऊन्, किनकि हामीसित उनीहरूभन्दा अझ बढ़ी एक सामर्थी हुनुहुन्छ। उनीहरूसित शारीरिक शक्ति मात्र छ, तर परमप्रभु हाम्रा परमेश्वर हामीलाई सहायता गर्न र हाम्रा निम्ति युद्ध गर्न हामीसित हुनुहुन्छ।” यहूदाका राजा हिजकियाको वचनले गर्दा मानिसहरूको हौसला बढ़्यो। त्यसपछि उनी र उनका सेनाले लाकीशको वरिपरि घेरा हालिरहेको बेलामा अश्शूरका राजा सनहेरीबले यहूदाका राजा हिजकिया र यरूशलेमका सबै यहूदीहरूलाई यो समाचार दिन भनी यरूशलेममा अधिकृतहरू पठाए: “अश्शूरका राजा सनहेरीब यो भन्दछन्: घेरा हालिएको यरूशलेममा बस्न तिमीहरूलाई कहाँबाट यस्तो साहस आयो? जब ‘परमप्रभु तिमीहरूका परमेश्वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल अथवा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई धोखामा पार्दैछन्। के हिजकिया आफैले यी नै ईश्वरका अल्गा-अल्गा ठाउँहरू र वेदीहरू भत्काएर ‘यहूदा र यरूशलेमका मानिसहरूलाई एउटै मात्र वेदीमा पूजा गर्नू र त्यहाँ मात्र बलिदान चढ़ाउनू’ भनी भनेका थिएनन् र? “म र मेरा पुर्खाहरूले अरू देश-देशका सबै मानिसहरूलाई के-कसो गर्यौं सो तिमीहरूलाई थाहै छैन? के यी जातिहरूका देवताहरूले मेरो हातबाट यिनीहरूका देशहरू बचाउन सके र? मेरा पुर्खाहरूले सत्यनाश गरेका जातिहरूका देवताहरूमध्ये कसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तब कसरी तिमीहरूका ईश्वरले तिमीहरूलाई बचाउन सक्छन्? तिमीहरूलाई यसरी धोका दिन र भ्रममा पार्न हिजकियालाई मौका नदेओ। तिमीहरू तिनीमाथि विश्वास नगर, किनकि कुनै देवताले आफ्ना मानिसहरूलाई मेरो अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन भने, तिमीहरूका ईश्वरले तिमीहरूलाई मेरो हातबाट कसरी बचाउन सक्छन् र?” सनहेरीबका अधिकृतहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै ज्यादा भने। राजा आफैले यसो भनेर परमप्रभु इस्राएलका परमेश्वरलाई तुच्छ ठानेर पत्रहरू लेखे: “जसरी अरू देशका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेनन्, त्यसरी नै हिजकियाका ईश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्नेछैनन्।” तब उनीहरूले सहर कब्जा गर्नलाई यरूशलेमको पर्खालमा उभिने मानिसहरूलाई हिब्रू भाषामा डर र त्रासले आतङ्क पार्न चर्को सोरमा नारा लाए। मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसहरूका देवताहरूलाई गरेझैँ उनीहरूले यरूशलेमका परमेश्वरलाई निन्दा गरे। यस अवस्थामा राजा हिजकिया र आमोजका छोरा यशैया अगमवक्ताले स्वर्गतिर कराएर प्रार्थना गरे। तब अश्शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्जती भएर आफ्नो देशमा फर्के। जब उनी आफ्नो देवताको मन्दिरमा पसे तब उनका छोरामध्येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे। यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीब र तिनीहरूका अरू सबै शत्रुहरूबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिर शान्ति दिनुभयो। धेरै मानिसहरूले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति दामी-दामी उपहारहरू ल्याए। त्यसपछि तिनले सबै जातिहरूद्वारा ठूलो सम्मान पाए। त्यसपछि हिजकिया सिकिस्त बिरामी भए, र तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो। तर हिजकिया अभिमानी भएका थिए, अनि परमप्रभुले तिनलाई दया देखाउनुभएकोमा तिनी कृतज्ञ भएनन्। यसैकारणले तिनीमाथि अनि यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्यो। आफ्नो अभिमानीको निम्ति हिजकिया र यरूशलेमका मानिसहरूले पश्चात्ताप गरे। त्यसले गर्दा हिजकियाको समयभरि नै परमप्रभुको क्रोध फेरि तिनीहरूमाथि परेन।
२ इतिहास 32 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 32:7-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू