YouVersion Logo
Search Icon

जकरिया 10

10
उद्धारको प्रतिज्ञा
1वर्षको पहिलो झरी आउने समयमा परमप्रभुसित वर्षा माग। वर्षा ल्‍याउने बादल र झरी पठाएर खेतबारी लहलह पार्नुहुने परमप्रभु नै हुनुहुन्‍छ। 2#मत्ती 9:36; मर्कूस 6:34मानिसहरूले मूर्तिहरू र ज्‍योतिषीबाट सल्‍लाह लिन्‍छन्; तर तिनीहरूका सल्‍लाह सबै झूट र निरर्थक हुन्‍छन्। कसैले सपनाको अर्थ लाउँछन् तर तिनीहरूले तिमीहरूलाई धोका दिन्‍छन्। व्‍यर्थका सान्‍त्‍वना दिन्‍छन्। यसकारण मानिसहरू हराएका भेडाझैँ बरालिरहन्‍छन्। अगुवा नभएको हुनाले तिनीहरूले दु:ख पाउँछन्।
3परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजामाथि शासन गर्ने विदेशीहरूसित म रिसाएको छु र म तिनीहरूलाई सजाय दिनेछु। यहूदाका बासिन्‍दाहरू मेरा प्रजा हुन् र म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको हेरचाह गर्नेछु। तिनीहरू मेरा बलिया जङ्गी घोडाहरू बन्‍नेछन्। 4तिनीहरूका बीचबाट मेरा प्रजालाई शासन गर्ने शासकहरू, अगुवाहरू र सेनापतिहरू आउनेछन्। 5यहूदाका मानिसहरू विजयी हुनेछन् र बाटोको हिलोमा आफ्‍ना शत्रुहरूलाई कुल्‍चने सेनाझैँ बन्‍नेछन्। तिनीहरूले लडाइँ गर्नेछन् किनभने परमप्रभु तिनीहरूसित हुनुहुन्‍छ र तिनीहरूले घोडचढी शत्रुहरूलाई पनि हराउनेछन्।
6“म यहूदाका मानिसहरूलाई बलियो पार्नेछु, म इस्राएलका मानिसहरूको उद्धार गर्नेछु। म तिनीहरूलाई दया गर्नेछु र सबैलाई घर फर्काएर ल्‍याउनेछु। मैले कहिल्‍यै नत्‍यागेका मानिसहरूझैँ तिनीहरू हुनेछन्, म तिनीहरूका परमप्रभु परमेश्‍वर हुँ, म तिनीहरूको प्रार्थनाको उत्तर दिनेछु। 7इस्राएलका मानिसहरू योद्धाझैँ बलिया हुनेछन्
र दाखमद्य पिएकाहरूझैँ हर्षित हुनेछन्।
तिनीहरूका सन्‍तानहरूले यो विजयको कुरो याद गर्नेछन्
र परमप्रभुको काम देखेर खुसी हुनेछन्।
8“म मेरो प्रजालाई बोलाएर भेला गर्नेछु,
तिनीहरूको उद्धार गरी अघिझैँ अनगन्‍ती बनाउनेछु।
9मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्‍ट पारे पनि
टाढा-टाढाका देशमा तिनीहरूले मेरो सम्‍झना गर्नेछन्।
आफ्‍ना छोरा-छोरीहरूसहित तिनीहरू बाँचिरहनेछन् र एकसाथ घर फर्कनेछन्।
10मिश्र र अश्‍शूर देशहरूबाट म तिनीहरूलाई घर फर्काई ल्‍याउनेछु
र तिनीहरूका आफ्‍नै देशमा बसाल्‍नेछु।
गिलाद र लेबनानमा पनि म तिनीहरूलाई बसाल्‍नेछु
र सारा देश मानिसहरूले भरिनेछ।
11तिनीहरू दु:खको सागरबाट भएर जाँदा
म परमप्रभुले समुद्रका छालहरूलाई हिर्काउनेछु
र गहिरो नील नदीको पानी सुकिजानेछ।
अश्‍शूरको अहङ्कार झर्नेछ
र महान् मिश्रको शक्ति हटिजानेछ।
12म मेरा प्रजालाई बलियो बनाउनेछु,
तिनीहरूले मलाई पुज्‍नेछन् र मेरा आज्ञा मान्‍नेछन्।”
परमप्रभुले बोल्‍नुभएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for जकरिया 10