मत्ती 12
12
विश्राम दिनको मालिक
(मर्कूस २:२३-२८; ३:१-६; लूका ६:१-११)
1 #
व्यवस्था 23:25
त्यस समयमा येशू विश्रामको दिन गहुँ-बारीको बाटो भएर जाँदै हुनुहुन्थ्यो। भोक लागेको हुनाले उहाँका चेलाहरूले गहुँको बाला चुँडाएर खान लागे। 2यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले चाहिँ पवित्र विश्रामको दिनमा व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि गरिरहेका छन्।”
3 #
१ शमूएल 21:1-6
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? तिमीहरूले पढेका छैनौ? 4#लेवी 24:9उनले परमेश्वरको भवनमा पसेर उहाँलाई चढाएको रोटी साथीहरूसँगै मिलेर खाए। व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। 5#गन्ती 28:9,10फेरि के तिमीहरूले व्यवस्थामा पढेका छैनौ कि मन्दिरमा पूजाहारीले विश्रामको दिनमा सधैँ काम गर्छन्। यसरी तिनीहरूले विश्राम दिनको नियमलाई भङ्ग गर्छन्! तैपनि तिनीहरू दोषी मानिंदैनन्। 6म तिमीहरूलाई भन्छु, मन्दिरभन्दा पनि ठूलो यहाँ कोही छ। 7#मत्ती 9:13; होशे 6:6‘म पशु बलि होइन, तिमीहरूले दया गरेको पो चाहन्छु’ भनेर परमेश्वरले भन्नुभएको कुरा बुझेका भएदेखि तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। 8म मानव पुत्र विश्राम दिनको पनि मालिक हुँ।”
9त्यहाँबाट येशू तिनीहरूको सभाघरमा जानुभयो। 10त्यहाँ एक जना हात सुकेको मानिस थियो। अनि येशूलाई दोष लगाउने विचारले फरिसीहरूले सोधे, “विश्रामको दिन बिरामीलाई निको पार्नुहुन्छ कि हुँदैन?” 11#लूका 14:5येशूले जवाफ दिनुभयो, “तिमीहरूमध्ये कसैको भेडा विश्रामको दिन खाडलमा पर्यो भने त्यसलाई झट्टै बाहिर निकाल्दैनौ र? 12भेडाभन्दा त मानिस धेरै मूल्यवान् हो। यसकारण व्यवस्थाअनुसार पनि विश्रामको दिनमा राम्रो काम गर्नु ठीक ठहरिन्छ।” 13त्यसपछि येशूले त्यस हात सुकेको मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” त्यस मानिसले हात तन्कायो र त्यो हात निको भइहाल्यो। 14तब फरिसीहरू सभाघरबाट निस्केर गए र येशूलाई कसरी मारौं भनी सल्लाह गर्न लागे।
परमेश्वरले चुन्नुभएका सेवक
(मर्कूस ३:७-१२; लूका ६:१७-१९)
15आफ्नो विरुद्धमा सल्लाह गरेको थाहा पाएर येशू त्यहाँबाट हिँड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याए र उहाँले तिनीहरूको बीचमा भएका सबै बिरामीलाई निको पार्नुभयो। 16तर उहाँले तिनीहरूलाई ‘यस विषयमा कसैलाई केही नभन्नू’ भन्ने आज्ञा दिनुभयो। 17यसरी परमेश्वरले यशैया अगमवक्ताद्वारा भन्नुभएको यो कुरा पूरा हुन आएको हो–
18 #
यशैया 42:1-4
हेर, मैले चुनेको मेरो प्यारो सेवक यिनी नै हुन्।
यिनीदेखि म धेरै खुसी छु,
यिनमा म आफ्नो आत्मा खन्याउँछु
अनि यिनले नै सबै जातिका मानिसहरूलाई न्यायको प्रचार गर्नेछन्।
19यिनले न झगडा गर्नेछन्, नता चिच्च्याएर हल्ला गर्नेछन्, न सडकहरूहुँदो कराउँदै हिँड्नेछन्।
20नुहेको निगालो पनि यिनले भाँच्नेछैनन्
र धिपधिप गरिरहेको बत्ती पनि निभाउनेछैनन्।
यिनले न्यायलाई जितमा पुर्याउनेछन्
21र सबै जातिका मानिसहरूले आफ्नो आशा यिनकै नाउँमा राख्नेछन्।
येशूमाथि फरिसीहरूले शङ्का गरेका
(मर्कूस ३:२०-३०; लूका ११:१४-२३)
22मानिसहरूले भूत लागेर अन्धो र लाटो भएको एक जना बिरामीलाई येशूकहाँ ल्याए। येशूले उसलाई निको पार्नुभएपछि ऊ देख्न र बोल्न सक्ने भयो। 23यो देखेर सबै मानिसहरू छक्क पर्दै यसरी कुरा गर्न लागे, “के यिनी नै दाऊदका सन्तान, मुक्ति दिनुहुने राजा हुन् कि?” 24#मत्ती 9:34; 10:25यो सुनेर फरिसीहरूले भने, “यसले त भूतकै राजा बालजिबुलको शक्तिले पो भूत निकाल्ने गर्छ।”
25तिनीहरूले यस्तो विचार गरेको बुझेर येशूले तिनीहरूलाई भन्नुभयो, “कुनै पनि देशमा फुट छ भने त्यो देश आफैं नाश हुन्छ। त्यसै गरी कुनै सहर वा घरानामा फुट भएर मारकाट चल्यो भने त्यो पनि नाश हुन्छ। 26यदि शैतानले आफैंलाई धपाएर आफ्नै विरोध गर्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ र? 27तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्छ भन्छौ। त्यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्छन् त? त्यसो भए तिमीहरूका आफ्ना चेलाहरूले नै तिमीहरूलाई दोषी ठहराउनेछन्। 28बालजिबुलको शक्तिले होइन, तर म परमेश्वरको आत्माले भूत निकाल्छु र यसैबाट परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ भन्ने कुरा तिमीहरूले थाहा पाउन सक्छौ। 29फेरि सुन, बलियो मानिसलाई पहिले नबाँधीकन कुनै मानिसले पनि उसको घरको चीज लैजान सक्दैन। उसलाई बाँधेपछि मात्र घर लुट्न सकिन्छ।
30 #
मर्कूस 9:40
“मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले मैले बटुलेको पनि छरपस्ट गरिदिन्छ। 31यसकारण म तिमीहरूलाई भन्छु, मानिसले गरेको सबै पाप र निन्दाहरू मेटिन सक्छ, तर पवित्र आत्माको निन्दा गर्ने पापचाहिँ मेटिनेछैन। 32#लूका 12:10म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ न यस युगमा न त अर्को युगमा, कहिल्यै पनि माफ गरिनेछैन।
रूखलाई त्यसको फलबाटै चिनिन्छ
(लूका ६:४३-४५)
33 #
मत्ती 7:20; लूका 6:44 “सप्रेको फल फल्न रूख पनि त सप्रेको हुनुपर्छ। रूख नै सप्रिएको छैन भने फल पनि सप्रिंदैन! रूख फलबाटै चिनिन्छ। 34#मत्ती 3:7; 23:33; लूका 3:7; मत्ती 15:18; लूका 6:45हे विषालु सर्पका सन्तानहरू हो! दुष्ट भएर तिमीहरू कसरी असल कुरा गर्न सक्छौ? जे मनमा छ, त्यही नै मानिसले बोल्दछ। 35असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ। 36म तिमीहरूलाई भन्छु, नचाहिँदो कुरा बोल्नेले न्यायको दिनमा त्यसको एक-एक लेखा दिनुपर्नेछ। 37तिमीहरूले बोलेका कुराले नै तिमीहरू न्यायको दिनमा दोषी वा निर्दोष ठहरिनेछौ।”
योनाको चिन्हको बारेमा
(मर्कूस ८:११-१२; लूका ११:२९-३२)
38 #
मत्ती 16:1; मर्कूस 8:11; लूका 11:16 केही धर्म-गुरु र फरिसीहरू मिलेर येशूलाई भने, “गुरु, एउटा चिन्ह देखाउनुहोस्, हामी हेर्न चाहन्छौं।” 39#मत्ती 16:4; मर्कूस 8:12येशूले भन्नुभयो, “अहो, हिजो-आजका मानिसहरू कति दुष्ट र व्यभिचारी छन्! यिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर अगमवक्ता योनाको चिन्हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन् 40#योना 1:17किनभने जसरी योनाले ठूलो माछाको पेटभित्रै तीन दिन र तीन रात बिताए, त्यसरी नै मानव पुत्रले पनि तीन दिन र तीन रात माटोमुनि बिताउनेछ। 41#योना 3:5न्यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्नो पापबाट पश्चात्ताप गरे। तर हेर, योनाभन्दा पनि ठूलो यहाँ कोही छ। 42#१ राजा 10:1-10; २ इतिहास 9:1-12न्यायको दिनमा दक्षिणको शेबा देशकी रानीले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछिन् किनभने सोलोमन राजाको ज्ञानको कुरा सुन्न तिनी धेरै टाढाबाट धाएर आइन्। तर हेर, सोलोमनभन्दा पनि ठूलो यहाँ कोही छ।
जब दुष्ट आत्मा फर्किन्छ
(लूका ११:२४-२६)
43“कुनै मानिसबाट भूत निकालेपछि त्यो भूत ओबानो पाखामा चारैतिर गएर आरामसँग बस्न सक्ने ठाउँ खोज्दै हिँड्छ। 44यस्तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा जानुपर्यो’ भनेर त्यो फर्किन्छ। त्यहाँ आइपुग्दा त्यसले अघिको घर खाली, सफा र सजिसजाउ भएको भेट्टाउँछ। 45यो देखी त्यसले गएर सातवटा आफूभन्दा अझ दुष्ट भूतहरूलाई डाकेर ल्याउँछ र ती सबै त्यसभित्र पसेर बसोबास गर्छन्। त्यो मानिसको पहिलेको भन्दा पछिल्लो दशा झन् नराम्रो हुन्छ। हिजो-आजका दुष्ट मानिसहरूको दशा पनि त्यस्तै हुनेछ।”
येशूका आमा र भाइहरू
(मर्कूस ३:३१-३५; लूका ८:१९-२१)
46येशूले मानिसहरूको झुण्डलाई यी कुराहरू भन्दाभन्दै उहाँका आमा र भाइहरू आइपुगे। उनीहरू ‘येशूसँग कुरा गर्नु छ’ भनेर बाहिरै पर्खेर बसे। 47एक जनाले येशूलाई भने, “गुरुज्यू, तपाईंका आमा र भाइहरू तपाईंसँग कुरा गर्नु छ भनेर बाहिर पर्खिरहेका छन्।” 48येशूले खबर ल्याउने मानिसलाई भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” 49त्यसपछि चेलाहरूलाई औंल्याएर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् 50किनभने स्वर्गमा हुनुहुने मेरा पिताको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।”
Currently Selected:
मत्ती 12: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.