YouVersion Logo
Search Icon

लूका 24

24
मृत्‍युबाट पुनर्जीवित हुनुभएको येशू
(मत्ती २८:१-१०; मर्कूस १६:१-११; यूहन्‍ना २०:१-१०)
1आइतबार बिहानै ती स्‍त्रीहरू आफूले तयार पारेको अत्तर र मलम लिएर येशूको चिहानमा गए। 2त्‍यहाँ आइपुग्‍दा तिनीहरूले चिहानको मुख छोप्‍ने ढुङ्गा पन्‍छाइएको भेट्टाए। 3चिहानभित्र पस्‍दा त तिनीहरूले प्रभु येशूको लाशलाई देखेनन्। 4अलमल्‍ल परेर उभिरहेको बेलामा अचानक चम्‍किने लुगा लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए। 5स्‍त्रीहरू डराएर घोप्‍टो परे। तब ती दुई जना मानिसले भने, “जिउँदो हुनुभएकोलाई मरेकाहरूको चिहानमा किन खोज्‍दै छौ? येशू यहाँ हुनुहुन्‍न। 6#मत्ती 16:21; 17:22,23; 20:18,19; मर्कूस 8:31; 9:31; 10:33,34; लूका 9:22; 18:31-33उहाँ मरेकोबाट बिउँतनुभएको छ! गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, थाहा छैन? 7‘म मानव पुत्र पापी मानिसको हातमापर्नेछु, क्रूसमा झुण्‍ड्याइनेछु र तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछु’ भन्‍नुभएको कुरालाई के तिमीहरूले सम्‍झेका छैनौ?” 8त्‍यतिखेर तिनीहरूले येशूले भन्‍नुभएको कुरा सम्‍झे।
9स्‍त्रीहरूले चिहानबाट फर्केर आफूले देखेका सबै कुरा एघार चेलाहरू र अरू सबै चेलाहरूलाई सुनाइदिए। 10ती स्‍त्रीहरूचाहिँ मरियम मग्‍दलिनी, याकूबकी आमा मरियम, योअन्‍ना र अरू केही स्‍त्रीहरू थिए। यिनीहरूले नै यो कुरा एघार प्रेरितहरूलाई सुनाएका थिए। 11तर “तिमीहरूले भनेका कुरा त व्‍यर्थका हुन्!” भन्‍दै प्रेरितहरूले स्‍त्रीहरूका कुरा पत्‍याएनन्। 12तर पत्रुसचाहिँ जुरुक्‍कै उठेर दगुर्दै चिहानतिर गए। त्‍यहाँ पुगेर भित्र निहुरिएर हेर्दा त उनले कात्रोबाहेक अरू केही देखेनन्। यो देखेर उनी अचम्‍म मान्‍दै घरतिर फर्के।
इम्‍माउसको बाटोमा येशू
(मर्कूस १६:१२-१३)
13त्‍यही दिन येशूका दुई चेलाहरू यरूशलेमबाट एघार किलोमिटर जति टाढामा पर्ने इम्‍माउस भन्‍ने गाउँतिर जाँदै थिए। 14तिनीहरूले हालै भएका घटनाको बारेमा कुरा गरिरहेका थिए। 15यसरी कुरा गर्दै हिँडिरहँदा येशू आएर तिनीहरूसँगै हिँड्‍न लाग्‍नुभयो। 16तर तिनीहरूले उहाँलाई चिन्‍न सकेनन्। 17येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू केको बारेमा कुरा गर्दै हिँडिरहेका छौ?” तिनीहरू टक्‍क अडिए। तिनीहरूको अनुहार उदासी देखिन्‍थ्‍यो। 18ती दुईमध्‍ये क्‍लेओपास भन्‍नेले उहाँलाई सोधे, “बाहिरबाट आउने परदेशीहरूमा तपाईंलाई मात्र यो कुरा थाहा रहेनछ। हिजोआज यरूशलेममा भएका कुरा के तपाईंले सुन्‍नुभएको छैन?” 19येशूले सोध्‍नुभयो, “कस्‍तो कुरा?” तिनीहरूले भने, “नासरतको येशूको बारेमा भएको कुरा। उहाँ परमेश्‍वर र मानिसका सामुन्‍ने शक्तिशाली काम गर्ने र गहकिलो शिक्षा दिने अगमवक्ता हुनुहुन्‍थ्‍यो। 20तर हाम्रा मुख्‍य पूजाहारी र नेताहरूले उहाँलाई मृत्‍युदण्‍ड दिएर क्रूसमा झुण्‍ड्याउन लगाए। 21उहाँले नै इस्राएलीहरूलाई छुट्‍कारा दिनुहुन्‍छ भनी हामीले आशा गरेका थियौं। तर उहाँलाई क्रूसमा झुण्‍ड्याइएको पनि आज तीन दिन भइसक्‍यो। 22फेरि हाम्रा कति जना दिदी-बहिनीहरूले भनेका कुरा सुनेर हामी त छक्‍कै पर्‍यौं। तिनीहरू बिहानै चिहानमा गए, 23तर त्‍यहाँ उनीहरूले प्रभुको लाश भेट्टाएनन् अनि तिनीहरूकहाँ स्‍वर्गदूत देखा परेर ‘येशू त जिउँदै हुनुहुन्‍छ’ भने रे। 24यो सुनेर हाम्रा कोही-कोही साथीहरू पनि चिहानमा हेर्न गए, उनीहरूले पनि ती स्‍त्रीहरूले भनेजस्‍तै पाए तर उहाँलाई चाहिँ देखेनन्।”
25येशूले भन्‍नुभयो, “तिमीहरू त कस्‍ता मानिसहरू रहेछौ। अगमवक्ताहरूले भनेका कुरामा विश्‍वास गर्नसमेत तिमीहरूलाई कस्‍तो गाह्रो भइरहेको छ। 26आदर र महिमा पाउनुभन्दा अघि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्दैनथ्‍यो र?” 27येशूले मोशादेखि लिएर सबै अगमवक्ताहरूले धर्मशास्‍त्रमा उहाँको बारेमा लेखेका कुरा तिनीहरूलाई बुझाइदिनुभयो।
28इम्‍माउस गाउँको नजिकै आइपुग्‍दा येशूचाहिँ अझै अघिअघि जान खोज्‍नुभयो। 29तर ती दुई चेलाले उहाँलाई भने, “रात पर्न लागिसक्‍यो, आज तपाईं हामीसँगै बस्‍नुहोस्।” तब येशू तिनीहरूसँगै बास बस्‍न जानुभयो। 30खान बस्‍नुहुँदा उहाँले रोटी लिएर धन्‍यवाद चढाउनुभयो अनि रोटी भाँचेर तिनीहरूलाई दिनुभयो। 31तब पो तिनीहरूका आँखा खुले र तिनीहरूले येशूलाई चिने। तर त्‍यति नै खेर उहाँ अदृश्‍य हुनुभयो अनि तिनीहरूले आपसमा यस्‍तो कुरा गरे, 32“उहाँ हामीसँग बाटोमा हिँडदै धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय आनन्‍दले गद्‌गद् भएको थिएन र!”
33त्‍यसपछि तिनीहरू तुरुन्‍तै उठेर यरूशलेमतिर लागे। त्‍यहाँ पुग्‍दा तिनीहरूले एघार चेलाहरू अनि उनीहरूसँग एकसाथ भेला भएका अरू मानिसहरूले 34यसो भन्‍दै गरेका भेटे, “साँच्‍चै प्रभु मरेकोबाट बिउँतनुभएको छ, उहाँ सिमोनकहाँ देखा पर्नुभएछ!” 35अनि ती दुई चेलाले बाटोमा घटेको घटना र येशूले रोटी भाँचेर दिनुहुँदा कसरी उहाँलाई चिनेको कुरा अरू चेलाहरूलाई सुनाए।
चेलाहरूलाई येशूको दर्शन
(मत्ती २८:१६-२०; मर्कूस १६:१४-१८; यूहन्‍ना २०:१९-२३; प्रेरित १:४-८)
36यी कुराहरूको चर्चा भइरहेको बेलामा येशू अचानक तिनीहरूको बीचमा उभिन्‍नुभयो र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्।” 37भूत देखेको हो भनी ठानेर तिनीहरू आत्तिए अनि डराए। 38तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यसरी किन डराउँछौ? किन मनमा यस्‍तो शङ्का गर्छौं? 39मेरो हात-खुट्टा हेर अनि तिमीहरूले मलाई राम्ररी चिन्‍नेछौ। आफ्‍नै हातले मलाई छामेर हेर, तिमीहरूले देखेका यो मेरो हाड र मासुको शरीर हो। तर भूतको त हाड र मासुको शरीर हुँदैन!” 40यसो भनेर उहाँले तिनीहरूलाई आफ्‍ना हात र खुट्टा देखाउनुभयो। 41तिनीहरू यति धेरै खुसी र आश्‍चर्यचकित भए कि तिनीहरूले पत्‍याउनै सकेनन्। त्‍यसो हुँदा येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित केही खानेकुरा छ कि?” 42तिनीहरूले उहाँलाई पकाएको माछा दिए। 43उहाँले त्‍यो माछा लिएर तिनीहरूकै सामु खाइदिनुभयो 44र भन्‍नुभयो, “मैले तिमीहरूसँग हुँदा भनेका कुराहरू अब पूरा हुन आएका छन्। ‘मेरो बारेमा मोशाको व्यवस्था, अगमवक्ताका पुस्‍तकहरू र भजनसंग्रहमा लेखिएका सबै कुरा पूरा हुनुपर्दछ’ भनेर मैले तिमीहरूलाई भनेको थिएँ!”
45त्‍यसपछि उहाँले तिनीहरूलाई धर्मशास्‍त्रमा लेखिएका कुराहरू बुझ्‍ने शक्ति दिनुभयो र भन्‍नुभयो, 46“धर्मशास्‍त्रमा यसरी लेखिएको छ– मुक्ति दिने ख्रीष्‍टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ। 47ख्रीष्‍टको नाममा आफ्‍नो पापलाई मानिलिएर पाप गर्न छोड्यो भने पापको क्षमा पाइन्‍छ भन्‍ने कुरा सबैतिर प्रचार गरिनुपर्छ। यो कुरा यरूशलेमबाट सुरु गरेर सबै जातिका मानिसहरूलाई सुनाउनुपर्छ। 48तिमीहरू नै यी सबै कुराका साक्षी हौ। 49#प्रेरित 1:4तर सुन, मेरा पिताले गर्नुभएको प्रतिज्ञा म तिमीहरूकहाँ पठाउनेछु। तर तिमीहरू माथिबाट आउने त्‍यो शक्तिले नभरिएसम्‍म यही सहरमा नै पर्खेर बसिरहो।”
येशू स्‍वर्ग जानुभएको
(मर्कूस १६:१९-२०; प्रेरित १:९-११)
50 # प्रेरित 1:9-11 त्‍यसपछि येशूले चेलाहरूलाई सहरबाट बेथानिया गाउँतिर लैजानुभयो, त्‍यहाँ पुगेर उहाँले आफ्‍ना हात उठाएर तिनीहरूलाई आशीर्वाद दिनुभयो। 51आशीर्वाद दिइरहँदा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्‍वर्गमा लगिनुभयो। 52तिनीहरूले उहाँलाई दण्‍डवत् गरे अनि अति खुसी हुँदै यरूशलेम सहरतिर फर्के। 53तिनीहरू सधैँ मन्‍दिरमा भेला हुन्‍थे र परमेश्‍वरलाई स्‍तुति चढाउँथे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy